भौतिक पूर्वाधारको दृष्टिले दयनीय अवस्था थियो । खेलकुदको संस्कार नै थिएन । खेलकुदमा लाग्ने युवाहरू बिग्रन्छन्, खेल्नु भनेको जिम्मेवारीबाट टाढिनु, बिग्रनु हो भन्ने मान्यता थियो । खेल्नका लागि समाज र परिवारसँग विद्रोह गर्नुपथ्र्यो । त्यसरी विद्रोह गरेर खेलकुदमा होमिएका खेलाडीले पनि नियमित प्रतिस्पर्धाको अवसर पाउँदैनथे । खेल्ने ठाउँ नै थिएनन् । आवश्यक खेल पोसाक, खेल सामाग्री र खेलअनुसार पौष्टिक आहार त कल्पनाबाहिरको कुरा थियो ।
|
यो अवस्था चार दशकअघिको नेपालको हो । त्यसैले राष्ट्रिय खेलकुद परिषद (राखेप)को तत्कालिन नेतृत्वले एउटा दूरदर्शी योजना अघि सार्यो, बृहत राष्ट्रिय खेलकुदको नाममा । दक्षिण एसियाली खेलकुदका समेत परिकल्पनाकार राखेपका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले २०३८ सालमा राष्ट्रिय खेलकुद सुरु गर्दा केही खास उद्देश्य राखेका थिए । जसले दीर्घकालसम्म नेपाली खेलकुदलाई सबै पक्षबाट बलियो बनाउँदै अघि बढाउने उनको विश्वास थियो ।
प्रत्येक दुई वर्षमा देशको तत्कालीन राजनीतिक व्यवस्थाअनुसार फरक अञ्चलमा राष्ट्रिय खेलकुद आयोजना गर्दा यसकै बहानामा भौतिक पूर्वाधार बनाउने उनको पहिलो उद्देश्य थियो । जसले केही संस्करणपछि पूरै देश भौतिक पूर्वाधारको दृष्टिले समृद्ध हुने थियो ।
राष्ट्रिय खेलकुदका लागि जिल्लाबाटै छनोट प्रतियोगिता नियमित रूपमा गर्ने हुँदा देशभरि नै खेलकुदको राम्रो माहोल स्थापित हुन्थ्यो । गाउँका सामान्य खेलाडीले राष्ट्रियस्तरका खेलाडीसँग नियमित रूपमा दुई/दुई वर्षमा प्रतिस्पर्धाको अवसर पाउँथे । विजेताहरूलाई पुरस्कृत गर्ने परम्पराले खेलकुदप्रतिको गलत दृष्टिकोण परिवर्तन हुन्थ्यो ।
कुनै पनि खेलको विकास गर्न खेल्ने ठाउँ, सुविधा र आर्थिक लाभले मात्र पुग्दैन । त्योभन्दा बढी खेलकुदको संस्कार स्थापना गर्नुपर्छ भन्ने कुरा चार दशकअघिकै खेल नेतृत्वले राम्ररी बुझेको थियो । त्यही भएर भव्य रूपमा चहलपहलका साथ राष्ट्रिय खेलकुदलाई महोत्सवका रूपमा गरिन्थ्यो । जसले गर्दा पूरा देशको ध्यान खेलकुदमा तानिन्थ्यो ।
स्कुले बालबालिकादेखि तिनका अभिभावकलाई समेत कुनै न कुनै भूमिकामा सहभागी गराइन्थ्यो । देशभर राष्ट्रिय खेलकुद हुनुभन्दा महिनौं अघिदेखि हल्लाखल्ला गरिन्थ्यो । तत्कालीन राजा र राजपरिवारसँगै राज्यको माथिल्लो निकायका उच्च अधिकारीहरूले महत्वका साथ राष्ट्रिय खेलकुदमा सक्रियता जनाउँथे । जुन, देशव्यापी रूपमा खेलकुदप्रति सकारात्मक उर्जा उत्पन्न गर्न र खेल संस्कार स्थापना गर्न फलदायी हुन्थ्यो ।
चार दशकअघि राखिएका यी उद्देश्यमा नेपाली खेलकुद केही समयसम्म सफल रह्यो । केही वर्ष अघिसम्म पनि सम्पूर्ण नेपाली खेलकुद त्यही समय शरदचन्द्र शाहको नेतृत्वमा बनेका पूर्वाधारले थेगेका थिए । तर २०३८ पछि २०४० मा दोस्रो र २०४२ मा तेस्रो संस्करणसम्म मात्र राष्ट्रिय खेलकुद आफ्नो उद्देश्यको बाटोमा नडगमगाई अघि बढ्यो । त्यसपछि राष्ट्रिय खेलकुद कहिल्यै पनि नियमित हुन सकेन । यसको प्रस्ट प्रमाण भनेको राष्ट्रिय खेलकुद सुरू भएको ४१ वर्षपछि २०७९ सालमा पोखराले आयोजना गर्न लागेको नवौं संस्करण हो । स्थापना गर्दाको उद्देश्यमा च्युत नभएको भए अहिले राष्ट्रिय खेलकुदको २०औं संस्करण सम्पन्न भइसकेको हुन्थ्यो ।
पक्कै पनि नेपाली खेलकुदको सर्वोच्च कार्यकारी निकाय राखेपले राष्ट्रिय खेलकुद सुरु गर्दा राखेका उद्देश्य समयानुकूल थिए । तर, अहिले अवस्था परिवर्तन भइसकेको छ । २०३८ सालबाट २०७९ सालमा आइपुग्दा नेपाली समाज, पूर्वाधारको अवस्था, खेलकुदलाई हेर्ने दृष्टिकोण र विश्व खेलकुदमा ठूलो परिवर्तन आइसकेको छ ।
अहिले आवश्यकता र अवस्था चार दशकअघि कल्पनै गर्न नसकिने गरि फेरिइसकेको छ । तर घरेलु ओलम्पिकका रूपमा लिइने नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सव भने समयअनुसार विकसित हुँदै जानुपर्नेमा झन टीठलाग्दो पारामा स्खलित हुँदै छ ।
|
नियमितताको अनुशासनमा मात्र राष्ट्रिय खेलकुद चुकेको छैन । पछिल्लो समय त राष्ट्रिय खेलकुद आयोजना गर्दा सम्बन्धित क्षेत्रमा बनाइने गरेको भौतिक पूर्वाधार निर्माणलाई पनि बेवास्था गर्न थालिएको छ । खेल र खेलाडी महत्वमा छैनन् । जिल्लादेखि हुने छनोट प्रतियोगिताहरू झारो टार्ने पारामा गरिन्छ । राष्ट्रिय खेलकुदका मुख्य प्रतिस्पर्धा पनि कर्मकाण्डी हुँदै गएका छन् ।
समग्रमा भन्नुपर्दा बजेट बाँडफाँटभन्दा बढी राज्यले नै यसलाई महत्व दिएको छैन । राखेपले नै महत्व दिएको छैन । अनि २०३८ सालमा तत्कालीन नेतृत्वले सोचेजस्तो खेल संस्कार कसरी स्थापित होला ? खेलकुदको डाडुपन्यु चलाउनेले नै महत्व नदिएको राष्ट्रिय खेलकुदलाई आम जनमानसले किन महत्व दिनु ? पोखराले दोस्रो पटक राष्ट्रिय खेलुकद आयोजना गर्न खोज्दै गर्दा रंगशालाबाहिर यसको कुनै चहलपहल नदेखिनुको कारण पनि यही हो ।
२०४० सालमा पोखराले दोस्रो राष्ट्रिय खेलकुद आयोजना गर्दा महिनौं अगाडिदेखि पूरा गण्डकी अञ्चल खेलकुदको चहलपहलले तातेको त्यतिबेलाका खेलाडीहरू सम्झन्छन् । अनि भन्छन्, ‘खोइ यसपालि त राष्ट्रिय खेलकुद हुन लागेको हो कि होइन भन्ने पनि थाहा छैन ।’
सुरु गर्दा अञ्चलका टिमलाई सहभागी गराइने राष्ट्रिय खेलकुद समयक्रममा विकास क्षेत्र र विभागका टिमले प्रतिस्पर्धा गर्ने थलो बन्यो । अहिले नयाँ संविधान कार्यान्वयनमा आएपछि भने ५ विकास क्षेत्रको ठाउँमा ७ प्रदेशले सहभागिता जनाउँछन् । राष्ट्रिय खेलकुदमा समयअनुसार भएको परिवर्तन यत्तिमात्र हो ।
के नेपाली खेलकुदको आवश्यकतामा समयअनुसार आएको परिवर्तन यहीमात्र हो त ? अनि राष्ट्रिय खेलकुद आयोजना केका लागि गर्ने ? भन्ने प्रश्न यसको स्खलनसँगै पेचिलो बन्दै गएको छ । खेल नेतृत्वले यसको जवाफ खोज्नैपर्छ । जसरी तत्कालीन नेतृत्व राष्ट्रिय खेलकुद सुरु गर्दा उद्देश्यहरूमा प्रस्ट थियो, त्यसैगरी वर्तमान नेतृत्वले पनि प्रस्ट उद्देश्य सार्वजनिक गर्न सक्नुपर्छ ।
|
चार दशकअघि एउटा राजनीतिक व्यवस्था हुँदा, फरक आवश्यकता र परिस्थिति हुँदा गरिएकै कामलाई सही ढंगले निरन्तरता समेत दिन नसक्दा नेतृत्व झनै बढी प्रश्नले घेरिनु स्वाभाविक हो । किनकि पञ्चायतपछि राजनीतिक रूपमा देश बहुदल हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ । राजनीतिक भाषामा भन्दा देशले ठूलो छलाङ मारिसकेको छ । तर गणतन्त्रसम्मको यात्राका अग्रगामी सारथिहरूले नेतृत्व गर्दा खेलुकद चाँहि पञ्चायतको भन्दा पश्चगामी बनाउन पाइँदैन ।
पञ्चायतको पालामा जत्तिको इमानदारी पनि नराखी दिनप्रतिदिन स्खलित गराउँदै राज्यको ढुकुटी दोहन गर्ने कर्मकाण्डी इभेन्टको रूपमा मात्र अब राष्ट्रिय खेलकुद आयोजनाको अर्थ रहन्न । खेलकुदमा अहिलेका आवश्यकता र परिस्थिति धेरै फेरिइसकेका छन् । त्यहीअनुसार नयाँ योजना बनाइनुपर्छ । राष्ट्रिय खेलकुद परिमार्जन गरिनुपर्छ । राष्ट्रिय खेलकुद आयोजनाको तरिका सम्पूर्ण रूपमा नयाँ हुनुपर्छ । अब बहस सुरु गर्ने बेला भएन र ?