काठमाडौं । वर्ष २०७९ लाई फर्केर हेर्दा नेपाली खेलकुदले बिर्सनै नसक्ने बृहत इभेन्ट नवौं राष्ट्रिय खेलकुद थियो । सरकारले नै विशेष महत्वका साथ आयोजना गर्ने गरेको यो नेपाली घरेलु खेलकुदको सबैभन्दा ठूलो र बृहत इभेन्ट हो । यस अर्थमा राष्ट्रिय खेलकुद नामजस्तै भव्य, व्यवस्थित र बृहत हुनुपर्थ्यो ।
तर, बृहत राष्ट्रिय खेलकुदको ओरालो लाग्नेक्रमले बितेको वर्ष गण्डकी प्रदेशमा पनि निरन्तरता पायो । स्थापनाकालमा प्रत्येक दुई वर्षमा गर्ने उद्देश्य राखिए पनि घोषित मितिमा नहुनु राष्ट्रिय खेलकुदको ठूलो समस्या थियो । नवौं राष्ट्रिय खेलकुदमा पनि त्यो समस्या यथावत रह्यो ।
समयमै भएको भए २०७७ सालमा सम्पन्न हुनुपर्ने खेलमेला ४ वर्षको अन्तरालपछि गण्डकी प्रदेशले गर्यो । आठौं राष्ट्रिय खेलकुद २०७५ सालमा लुम्बिनी प्रदेशमा भएको थियो । यसपालि राष्ट्रिय खेलकुद समयमा नहुनुको पछाडि कोभिड-१९ को विश्वव्यापी महामारी पनि कारणको रूपमा रह्यो । साथमा आयोजनास्थल तयार भइनसकेका कारण पनि राष्ट्रिय खेलकुद पटक-पटक स्थगित भयो ।
असोज २८ देखि कात्तिक ३ सम्म पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा भएको खेल महोत्सवमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब लगातार तेस्रो पटक टिम च्याम्पियन बन्यो । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण, १ सय ९ रजत र ८९ कांस्यसहित कुल ३ सय ७० पदक जितेको थियो । लगातार तेस्रो पटक च्याम्पियन भएपछि आर्मीले राष्ट्रिय खेलकुदका लागि पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफी प्राप्त गर्यो ।
६४ स्वर्ण, ७३ रजत र ८१ कांस्य गरी कुल २ सय १८ पदकसहित सशस्त्र प्रहरी बलको एपिएफ क्लब दोस्रो तथा ६१ स्वर्ण, ६१ रजत र ७३ कांस्य गरी कुल १ सय ९५ पदक सहित नेपाल पुलिस क्लब तेस्रो स्थानमा रहे ।
घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश समग्रमा चौथो तथा प्रदेशमध्ये पहिलो हुन सफल भयो । वाग्मती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कांस्य सहित कुल १ सय २० पदक जितेको थियो ।
वाग्मतीले २४ स्वर्ण, ४७ रजत र ७४ कांस्य गरी कुल १ सय ४५ पदक जितेर पाँचौं स्थानमा चित्त बुझायो । कोशी प्रदेश (तत्कालीन प्रदेश १) १० स्वर्ण, २३ रजत र ५० कांस्यसहित छैटौं स्थानमा रह्यो भने १० स्वर्ण, १० रजत, ४३ कांस्य जितेको सुदूरपश्चिम प्रदेश सातौं, एनआरएनए १० स्वर्ण, ९ रजत र ७ कांस्यसहित आठौं तथा ६ स्वर्ण, २२ रजत र ४० कांस्य पदकसहित लुम्बिनी प्रदेश नवौं स्थानमा रह्यो ।
मधेश प्रदेश दसौं स्थान र कर्णाली प्रदेश एघारौैं स्थानमा सीमित भए । मधेशले ५ स्वर्ण, ८ रजत र २६ कांस्य जित्दा कर्णालीले २ स्वर्ण, ४ रजत र १२ कांस्य जितेको थियो ।
सुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिस्पर्धा हुने घोषणा गरिए पनि प्याराग्लाइडिङ, पौडी र आर्चरीमा २-२ स्वर्ण तथा स्क्वास र सफ्ट टेनिसमा १-१ स्वर्ण पदकका लागि खेल स्थगित भएको थियो ।
गण्डकी प्रदेश आयोजक भनिए पनि प्रदेशका आठ जिल्लासँगै काठमाडौं र ललितपुरमा पनि प्रतियोगिताहरू भए । राष्ट्रिय खेलकुद सुरु हुनुपूर्व नै त्यसअन्तर्गत पुरुष क्रिकेट काठमाडौंमा गरिसकिएको थियो भने पूर्वाधार नभएका कारण सुटिङको प्रतिस्पर्धा ललितपुर सातदोबाटोस्थित सुटिङ रेञ्जमा गरियो ।
थुप्रै विवादबीच सम्पन्न नवौं राष्ट्रिय खेलकुद निकै अस्तव्यस्त थियो । २१ औं शताब्दीमा आयोजना भएको खेलकुद प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रमले जुन भव्यता पाउनुपर्ने हो, त्यसको कुनै रौनक देखिएन । तथापि आयोजक राष्ट्रिय खेलकुद परिषदले खेल मेला भव्य रूपमा सम्पन्न भएको दाबी गर्यो । तर, नवौं राष्ट्रिय खेलकुद त्यसको भव्यताका लागि स्मरण गरिने छैन । न त आर्मीले लगातार तेस्रो पटक च्याम्पियन ट्रफी जितेको विषय नै यसको स्मरणमा रहनेछ ।
खासमा नवौं राष्ट्रिय खेलकुदलाई एउटा अत्यन्तै दुःखद घटनाका लागि नेपाली खेलकुदले सधैं सम्झिइरहने छ । प्याराग्लाइडिङ प्रतियोगिताका क्रममै नेपाली सेनाका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको निधनले प्रतियोगिता खल्लो बनाएको थियो । सराङकोटको डाडाँबाट उडान भर्नेबित्तिकै उनले दुर्घटनामा परेर ज्यान गुमाएका थिए ।
यसैगरी पौडीतर्फ एकपछि अर्को राष्ट्रिय कीर्तिमान बने पनि तिनले मान्यता पाएनन् । राष्ट्रिय खेलकुद गराइएको एउटा स्कुलको पौडीपोखरी अन्तर्राष्ट्रिय मापदण्डअनुरुप नरहेका कारण ती कीर्तिमानहरूले मान्यता नपाउने भएका हुन् ।
यद्यपि पहिलोपल्ट राष्ट्रिय खेलकुदको ट्रफी टुर गरियो । पहिलोपल्ट बनाइएको ट्रफीलाई प्रतियोगितामा सहभागी हुने सातै प्रदेश, विभागीय टिमका हेडक्वाटरका साथै परम्परा र सांस्कृतिक महत्व बोकेका स्थानहरूमा पुर्याएर राष्ट्रिय खेलकुदको प्रचारप्रसार गरिएको थियो । यो राष्ट्रिय खेलकुदको सकारात्मक पक्ष हो ।
अब राष्ट्रिय खेलकुदको दसौं संस्करण २०८१ सालमा कर्णाली प्रदेशमा हुनेछ ।