आश्विन ३, २०८१ बिहीबार | ०६:३९:२६
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने
शनिबारको दिन पल्सर स्पोटर्स अवार्ड

खेलकुदको बलियो खम्बा ‘पल्सर स्पोर्ट्स अवार्ड’

विश्व खेलकुदको नक्सामा नेपाललाई खोज्न निकै कठिन छ । किनकि यसले ओगट्ने भाग निकै सानो छ । अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको कमजोर उपस्थिति कसरी प्रभावकारी र गौरव गर्न लायक बनाउने ? भन्ने प्रश्नको उत्तर खोज्न नघोत्लिने खेल प्रशासक सायदै होलान् ।

दुई पटक कार्यकारी प्रमुख सदस्यसचिवको पदमा रहेर राष्ट्रिय खेलकुद परिषदलाई नेतृत्व गरिसकेको र महासचिव तथा अध्यक्षको हैसियतमा पछिल्लो चार कार्यकालदेखि नेपाल ओलम्पिक कमिटीको नेतृत्वमा रहिरहँदा यही प्रश्नले मलाई पनि पछ्याइरहेको छ । नेपाली खेलकुदमा केही पनि नभएकै हो त ? पक्कै होइन । समयक्रमसँगै तुलनात्मक रूपमा विगतभन्दा नेपाली खेलक्षेत्र विकास हुँदै गएको छ । जुन गतिमा अगाडि जानुपर्ने हो, त्यसअनुसार नभएको भने पक्कै पनि हो ।

स्पोर्ट्स लिडर्स समिटको तयारीमा व्यस्त भइरहँदा नेपाल खेलकुद पत्रकार मञ्चले बर्सेनि गर्ने पल्सर स्पोर्ट्स अवार्डबारे लेख्न अनुरोध आएपछि फेरि समग्र नेपाली खेलकुदको अवस्थाबारे त्यो प्रश्नले घच्घच्यायो । जीवनको अधिकांश उर्जावान समय खर्चिएको खेलकुदलाई निकै गुण लगाएको अवार्डबारे लेख्न अनुरोध गरिनु मात्र पनि मेरा लागि एउटा सम्मान थियो । नेपाली खेलकुदमा मैले केही योगदान गरेको छु भन्ने सोचेर खेलाडी डटकमले मलाई यस्तो सम्मान गरेको थियो होला । यही कारण राजनीति र नेपाली खेलकुदको सिपाही भए पनि मैले आफ्ना भावना लिपिबद्ध गर्ने आँट गरेको हुँ ।

खासमा खेलकुद वा अरू कुनै पनि क्षेत्रको अवस्था, इतिहास र भविष्यको विश्लेषण त्यसलाई छुट्टै राखेर गर्न खोजियो भने सही निष्कर्षमा नपुग्ने सम्भावना बलियो रहन्छ । नेपाली खेलकुदको हकमा पनि यसलाई आइसोलेसनमा राखेर चर्चा गर्नु सही हुँदैन । खेलकुदको विकासक्रमलाई समग्रतामा देशसँग जोडेर हेरियो भने मात्र त्यसले सही दृश्य देखाउँछ र स्पष्ट मार्गनिर्देशन पनि गर्छ ।

नेपालमा खेलकुदको इतिहास लामो भए पनि यसले अपेक्षाकृत ढंगबाट विकासको उचाइ हासिल गर्न सकेको अवस्था छैन । देशको राजनीतिमा धेरै खालका उतारचढाव हुँदै आए । राजनीति सधैं अस्थिर भइरह्यो । जसको प्रभाव प्रत्यक्ष रूपमा खेलकुदमा पनि भयो । विकासका लागि बेलाबेलामा प्रयासहरू भए पनि स्थिर ढंगले त्यसको निरन्तरता हुन पाएन । राजनीति र देशको समग्र अवस्थाका कारण आफैं पनि उतारचढावका साथ अगाडि बढ्नुपर्दा खेलकुदमा भएका विकासका त्यस्ता प्रयासहरूले अपेक्षित नतिजा दिन सकेनन् ।

समग्रमा खेलकुद भनेपछि यसको मुख्य पात्र खेलाडी नै हुन् । र, हामी चुक्दै आएको क्षेत्र पनि यिनै खेलाडीलाई निर्धक्कसँग खेलकुदमा लाग्ने वातावरण दिन नसकेकोमा हो । अझभन्दा खेलकुदमा लाग्न हानाथाप सिर्जना गर्न सक्नुपर्थ्यो, जुन हामीले सकिरहेका छैनौं । खेलाडीलाई खेलकुदमा प्रवेश गराउने र टिकाइराख्ने कुरा निकै महत्त्वपूर्ण हुन्छ । हाम्रो देशको अनुभवले प्रवेश गराउने पक्षमा व्यापकता जस्तो देखिए पनि टिकाइराख्ने कुरा निकै चुनौतीपूर्ण बनेको छ । पछिल्लो समय त यो चुनौती झनै बढ्ने क्रममा छ ।

एउटा स्तरसम्म पुगेका खेलाडीहरू खेल क्षेत्रमात्र होइन, देशै छोडेर पलायन हुने क्रम बढिरहेको छ । यसको मुख्य कारण भनेको नेपाली खेलकुदको आकर्षणले खेलाडीलाई बाँधिरहन नसक्नु नै हो । खेलकुदमा लागेपछि खेलाडीले केही अपेक्षा गरेको हुन्छ । खेलकुदमा लागेवापत व्यक्तिगत सन्तुष्टि खेलाडीको पहिलो चाहनाको विषय हो । त्यसपछि उसले सामाजिक पहिचान र उज्ज्वल भविष्य पनि अपेक्षा गरेको हुन्छ । तर समग्रतामा खेलाडीको उज्ज्वल भविष्यको ग्यारेन्टी, खेलाडीलाई उत्साहित बनाउने, सन्तुष्टि दिने र सामाजिक पहिचान दिने खालका विषयमा नीतिगत तथा कार्य क्रमिक रूपमा केही गर्न सकेको अवस्था छैन ।

स्वयं राज्य र सम्बन्धित खेल प्रशासनले उपयुक्त वातावरण सिर्जना गर्न नसकिरहेका बेला नेपाल खेलकुद पत्रकार मञ्चले गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डले खेलाडी, खेलकर्मी र समग्र नेपाली खेलकुदलाई प्रेरणा प्रदान गर्दै आफ्नो विशिष्ट स्थान बनाएको छ । माथिको भूमिका नेपाली खेलकुदमा स्पोर्ट्स अवार्डको महत्व बुझ्न सजिलो होस् भनेर उल्लेख गरिएको हो । कम्तीमा मैले चाहिँ स्पोर्ट्स अवार्डलाई यसैगरी बुझेको छु ।

अवार्डले खेलाडी र खेलकर्मीलाई आशा जगाउने, उत्साहित बनाउने, प्रेरित गर्ने काम निरन्तर रूपमा गरिरहेको छ भन्ने मेरो अनुभव हो । यो अवार्ड प्राप्त गर्ने खेलाडीलाई समाजे सेलिब्रेटीको रूपमा हेर्ने र चिन्ने काम भइरहेको छ । खेलजीवनमा प्रवेश गरेर आफूलाई समाजमा चिनाउन सक्ने आधार खेलाडी र खेलकर्मीले यो अवार्डमार्फत प्राप्त गरेका छन् । समग्रमा यो नेपाली खेलकुदको एउटा प्रेरणा स्रोत बनेको छ । सबै क्षेत्रमा खेलाडीलाई उत्साहित बनाउन भूमिका खेल्नुपर्ने सन्देश निरन्तर प्रवाह गरिरहेको छ ।

यसबाटै प्रेरित भएर अरू पनि थुप्रै अवार्ड स्थापित भइरहेका छन् । तर सबै अवार्डको बीचमा पल्सर स्पोर्ट्स अवार्डको छुट्टै पहिचान र स्थान छ । यही कारण मैले आफू राखेपको सदस्यसचिव हुँदा अवार्डलाई सरकारको तर्फबाट गर्ने सहयोग रकम वृद्धिका लागि प्रस्ताव गरेको थिएँ । खेलाडीलाई उत्प्रेरणा दिने काम गर्नुका साथै खेलजगतलाई नै चिनाउने र खेलको महत्व बढाउने काम गरेकाले अवार्डलाई अझै प्रमोट गर्नुपर्छ भन्ने उद्देश्यबाट सहयोग बढाउन निर्णय गरेको थिएँ । अहिले नेपाल ओलम्पिक कमिटीको नेतृत्वमा हुँदा पनि स्रोतको सीमितताका कारण आर्थिक रूपमा धेरै गर्न सकेका छैनौं । तर, सोलिडारिटी कायम छ ।

नेपाल खेलकुद पत्रकार मञ्च र यसले गर्ने स्पोर्ट्स अवार्ड भनेपछि झट्ट दिमागमा आउने अर्को सकारात्मक पक्ष नेपालमा ओलम्पिक अभियानको प्रवद्र्धनमा मिलेको सहयोग हो । ओलम्पिक अभियानको प्रवर्धन र सञ्चालनमा एनएसजेएफ र यो अवार्डको ठूलो योगदान छ । मञ्च अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपिएस)को सदस्य हो । एआइपिएस आइओसीसँग आबद्ध छ । त्यसैले एआइपिएस र मञ्चले ओलम्पिक अभियान प्रमोसनको निरन्तर काम गरिरहेका छन् ।

अवार्डले खेलकुदको महत्व बढाउने, खेल क्षेत्रसँग आबद्धताका लागि प्रेरित गर्नेजस्ता काम गरिरहेको छ । यो सबै ओलम्पिक अभियानकै उद्देश्य हो । किनभने सबै मानिसलाई गतिशील बनाउने, खेलकुदमा संलग्न हुुनुपर्छ भन्ने सन्देश प्रवाह गरेर समाजलाई लाभान्वित बनाउने काम ओलम्पिक अभियानका उद्देश्य हुन् । लैंगिक समानता, मानवअधिकार, एकता, भाइचारा, विकास जस्ता सन्देश खेलकुदको माध्यमबाट दिने भन्ने ओलम्पिक अभियानको उद्देश्यलाई अवार्डले प्रत्यक्ष रूपमा अगाडि बढाइरहेको छ ।

पल्सर स्पोर्टस अवार्डको सुन्दरता भनेकै यो लैंगिक रूपमा समान छ । कुनै विभेद छैन । फरक क्षमता भएकाको पनि यहाँ सम्मान हुन्छ । पाका खेलकर्मीदेखि युवासम्मलाई यसले समेटेको छ । नेपाली खेलकुद र खेल पत्रकारिताको प्रवर्धनमा योगदान गर्ने विदेशी पत्रकारलाई समेत सम्मान गर्दा अवार्डले  देशमा मात्र सीमित नभई विश्वव्यापी हुन अग्रसर बनेको छ । नेपाली खेलकुदलाई अन्तर्राष्ट्रियकरण गर्न योगदान गरिरहेको छ । समग्रमा नेपालमा मात्र सीमित नभएर अन्तर्राष्ट्रिय स्तमा ओलम्पिक अभियान प्रवर्धन गरिरहेको छ । यसले नेपाली खेलकुदको सन्देश विश्वव्यापी रूपमा फराकिलो बन्दै छ ।

विभिन्न राजनीतिक, आर्थिक, सामाजिक र भौतिक सीमितता र समस्याका कारण खेलकुद स्वाभाविक रूपमा अगाडि बढ्न नसकिरहेको अवस्थामा यो अवार्डले समग्रमा नेपाली खेलकुदलाई ब्रान्डिङ गर्ने काम पनि गरिरहेको छ । अवार्डलाई अवार्डको रूपमा मात्र हेरिनुहुन्न । खेलकुदको महत्वलाई जति उजागर गरियो त्यति नै व्यावसायिक प्रतिष्ठानहरू आकर्षित हुने हो । खेलाडीलाई उसको प्रदर्शनका आधारमा सम्मानित गरिरहँदा अवार्डले सँगसँगै खेलकुदलाई प्रवर्धन गरिरहेको हुन्छ । समग्रमा ओलम्पिक अभियान अगाडि बढाइरहेको हुन्छ ।

देशको राजनीतिक कारणले खेलकुदमा देखिएका अस्थिरताका र उतारचढावका बीच पनि स्थापनाकालदेखि नै खेलाडीलाई उत्साहित बनाउने, खेलजगतलाई नै प्रवर्धन गर्ने उद्देश्यले निरन्तर आयोजना भइरहनु निकै सकारात्मक कुरा हो । कोभिड-१९ को विश्वव्यापी महामारीको समयमा सबथोक रोकिँदा पनि पल्सर स्पोर्ट्स अवार्डले निरन्तरता पायो । यो निकै प्रशंसनीय पक्ष हो । खेलजगतका लागि यो एकदमै सुखद पक्ष हो । यसले जस्तोसुकै उतारचढावबीचमा पनि आफ्नो कर्म गर्दै गयो भने त्यसले उचाइ प्राप्त गर्छ । त्यसले एउटा सबैलाई सन्देश दिने र सफल हुने कुरा निश्चित हुन्छ भन्ने प्रमाणित गरेको छ ।

अन्तमा, यो अवार्ड प्रत्येक वर्ष निखारिँदै आएको छ । यो क्रमले आगामी दिनमा पनि निरन्तरता पाओस् । अझ आधुनिक र प्रविधिमैत्री हुँदै जाओस् । नेपाली खेलकुद विकासक्रमको एउटा बलियो खम्बाका रूपमा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड स्थापित होस् ।

(नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ पूर्व पर्यटनमन्त्री तथा राखेपका सदस्यसचिव पनि हुन्)