त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल चलिरहेको थियो । दशरथ रंगशालाको मैदानमा उपाधिका लागि तत्कालीन नेपाली फुटबलको महारथी जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धा प्रतिस्पर्धारत थिए ।
नेपाली फुटबलका सबैजसो स्टार खेलाडीको साथ रहेको जनकपुर उपाधिको बलियो दाबेदार थियो । त्यसमाथि दशरथ रंगशालाको घरेलु मैदानमा दसौं हजार घरेलु समर्थकको साथले जनकपुरको उत्साह अझै थपिएको थियो ।
|
दक्षिण एसियामा नेपाली फुटबलको प्रतिष्ठा राम्रो थियो । त्यसमाथि जनकपुरको टिम घरेलु दर्शकका लागि ‘हाम्रो’ पनि थियो । किनकि नेपाली राष्ट्रिय टोलीका अधिकांश खेलाडी जनकपुरको जर्सीमा मैदान उत्रिएका थिए । त्यसैले त सुरुमै गोल खाए पनि दसौं हजार नेपाली दर्शकले गोल फर्काउने र अन्तमा खेल जित्ने आसमा रंगशाला छोड्न सकिरहेका थिएनन् ।
समर्थकहरू जनकपुरले उपाधि जितेर २०४४ साल फागुन २९ गतेको दिनलाई नेपाली फुटबलमा यादगार बनाउन चाहन्थे । यस्तो महत्वको दिन कि जसलाई वर्षौसम्म स्मरण गरिइरहोस् ।
घटनाक्रम फरक थियो । तर, भयो त्यस्तै । त्यो कालो दिनका रूपमा कहिल्यै बिर्सन नसकिने भयो । त्यही निर्दयी दिनले त हो, नेपाली फुटबलका सय हाराहारीका समर्थकको इहलिला समाप्त पारेको ।
फुटबल विश्लेषक सन्जिव मिश्र त्यो दिनलाई नेपाली खेलकुदको मात्र नभई देशकै लागि अत्यन्तै कालो दिनमध्ये एक मान्छन् । भन्छन्, ‘खेलकुद त्यसमा पनि फुटबल भनेको मानिसलाई खुसी दिने माध्यम हो । यसले पूरा समाज, देश र विश्वलाई नै खुसीको सञ्चार गराउनुपर्छ । तर त्यो दिन झन्डै सय नेपालीले ज्यान गुमाउनुपर्यो । सयौं घाइते भए । अनि यो सबको दोष फुटबलले लिनुपर्यो ।’
|
फुटबल हेर्न दशरथ रंगशाला आएकाहरू हुरीबतासबाट जोगिन भागदौड गर्ने क्रममा ठूलो दुर्घटना भएको थियो । घटनास्थलमै नेपाली फुटबलका ७३ समर्थक दुःखद ढंगमा धर्तीबाट बिदा भएका थिए भने दुई दर्जनभन्दा बढीले उपचारका क्रममा ज्यान गुमाए । घाइतेहरूको यकिन तथ्यांक त कसैसँग पनि छैन ।
उपाधिका लागि दुई टोलीबीच मैदानमा घमासान चलिरहँदा अचानक हुरीबतास चल्यो । हुरीबतासबाट जोगिन दर्शकमा भागदौड हुँदा साँघुरो गेटमा च्यापिएर नेपालको इतिहासकै सबैभन्दा दुःखद घटना भएको प्रत्यक्षदर्शीहरू सम्झन्छन् ।
दर्शकलाई ओहोरदोहोर गर्नका लागि रंगशालाको प्यारापिटमा आठ वटा ढोका बनाइएका थिए । तर घटना हुँदा एकमात्र ढोका खुला थियो । बेजोडले आएको हावाहुरी र असिनापानीबाट जोगिने उद्देश्यमा सबै दर्शकलाई बाहिर निस्कने हतारो थियो । त्यही हतारोमा हजारौं दर्शक एउटै ढोकातिर झुम्मिँदा च्यापिएर धेरैले ज्यान गुमाउनुपर्यो ।
|
फुटबलको निकै ठूलो क्रेज रहेको काठमाडौंमा भएको फाइनल हेर्न २० हजार हाराहारीमा दर्शक रंगशाला पुगेका थिए । टिकट नकाटेकाहरू रंगशाला छिर्लान् भनेर प्रशासनले एउटाबाहेक सबै ढोका बन्द गर्ने गर्थ्यो । सधैं बन्द गरिने भएकाले सिक्रीले बाँधिएका अरू ढोकाका लिकमा खिया लागिसकेको थियो । त्यही कारण हुल हुन थालेपछि खोल्न खोज्दा पनि अरू ढोका खुलेनन् ।
अहिलेजस्तो मौसम पूर्वानुमान गर्ने विश्वासिलो प्रविधि थिएन । आयोजकमा पनि ठूलो भीड व्यवस्थापनको अनुभव कमी थियो । ठूलो भीड जम्मा पारेपछि सबैका लागि सहज बर्हिगमनको बाटो बनाउनुपर्छ, अन्यथा ठूलो दुर्घटना हुनसक्छ भन्ने चेत पनि थिएन ।
त्यही कारण हो, सामान्य प्राकृतिक नियमितता दशरथ रंगशालामा ३४ वर्षअघि ठूलो ताण्डवमा परिणत भएको । नत्र, प्रकृतिले त बिहानैदेखि संकेत गरिसकेको थियो ।
‘फागुनको अन्तिममा भनेको चैते हुरी लाग्ने समय नै हो । प्रत्येक वर्ष फागुन–चैतमा मौसम बिग्रन्छ नै । त्यो दिन पनि बिहानैबाट आकाशमा बादल देखिएको थियो । पानी पर्न सक्छ भन्ने हामीलाई पनि लागेको थियो । तर त्यही सामान्य हावाहुरी र पानीले यति ठूलो बर्बादी गर्ला भनेर चाहिँ कसैले पनि सोचेका थिएनन् । त्यस्तो सोचेको भए मानिसहरू हतारिएर भाग्नुपर्ने थिएन । आखिर हतारिएर भाग्नेहरू नै त्यो दुर्घटनाको सिकार भए,’ भिआइपी प्यारापिटमा बसेर खेल हेरेका तत्कालीन मूलपानी गाविस निवासी दीपक फुयाल सम्झन्छन् ।
घटनापछि घाइतेको उद्दारको क्रममा देखिएका दृश्यले अहिलेसम्म पनि कहिलेकाँही झस्काउने गरेको फुयाल बताउँछन् । उनका अनुसार खेल सुरु भएको केहीबेरपछि हुरीबतास र सामान्य पानीसँगै ठूल्ठुला असिना बर्सिन थालेको थियो ।
|
‘भुमरी परेर आएको हुरीले धुलो उडाएर मानिसलाई आँखा हेर्न नसक्ने पारेको थियो । त्यसमाथि ठूला ठूला असिनाले चुट्दा त कसैले पनि त्यहाँ बसे ज्यान जोगिन्छ, भाग्न खोजे जे पनि हुनसक्छ भन्ने सोच्न भ्याएनन्,’ फुयाल गम्भीर भए, ‘एउटै ढोका खुला थियो । त्यो पनि एक पटकमा मुस्किलले एकजना निस्कन सक्ने थियो । तर एकैचोटि हुल आउँदा च्यापिएर धेरै लडे । अल्झिएर लडे । लडेकालाई उठाउने भन्दा पनि आफूचाहिँ नाघेर भए पनि भाग्ने सोच मानिसमा देखियो । त्यसले गर्दा उनीहरू पनि त्यहीं लडे । यसरी मानिसको चाङ लाग्यो, थिच्चिएरै धेरैको ज्यान गएको हो । आधा घण्टापछि हुरीबतास र असिना रोकिएसँगै हामीले लासको बीचबाट घाइतेलाई निकालेर अस्पताल पठाएका हौं ।’
फाइनल हेर्न पुगेका राष्ट्रिय टोलीका पूर्व खेलाडी विराटजंग शाही घटना स्मरण गर्दै भन्छन्, ‘खेल चलिरहँदा आर्मी हेडक्वाटरतिरबाट एक्कासि कालो मुस्लो आयो, त्यसपछि हुरीबतास चल्यो । साधारण प्यारापिटबाट हामी केही साथी भिआइपीतिर गयौं । त्यही भएर हामी जोगियौं । घटनापछि बाँचेका हामी युवाहरूले त्रिपुरेश्वरमा रात्रिबस रोकेर यात्रु ओराल्दै घाइतेलाई वीर अस्पताल पठाएका थियौं ।’
दुर्घटना भएको आइतबार ३४ वर्ष पुगिरहँदा शाही त्यो सम्झिएर भावुक हुन्छन्, ‘मान्छेहरू मरिरहेका छन्, यहाँ नआउनु भनेपछि आफू बसेकै ठाउँमा धैर्य गरेर बाँच्नेहरू थुप्रै थिए । म पनि तिनैमध्ये एक हुँ । त्योबेला अहिलेजस्तो मोबाइलको जमाना थिएन । घरमा नपुगेसम्म परिवारसँग सम्पर्क हुँदैनथ्यो । रंगशालामा भएको दुर्घटनाको खबर मभन्दा पहिला पुगिसकेको थियो । त्यसैले घरमा पुग्दा त म मर्यो भनेर खोज्न जान लागेका रहेछन् ।’
घटनामा धेरैको ज्यान गएपछि आक्रोशित दर्शकले समयमा ढोका नखोलेको भन्दै आन्दोलन गरे । त्यसक्रममा रंगशाला बाहिर राखिएका तीनवटा कार तोडफोड भए । हुन पनि त्यो घटना व्यवस्थापनकै कमजोरीका कारण भएको थियो ।
|
व्यवस्थापन टिकट काटेर दर्शक छिराउनेमा मात्र केन्द्रित थियो । भित्र छिरिसकेका दर्शकलाई कुनै विपत्ति परे कसरी सुरक्षित निकाल्ने भन्ने व्यवस्थापनको प्राथमिकतामा थिएन । पूरा रंगशाला काँडेतारले घेरिएको थियो । दर्शक निस्कनका लागि एउटा ढोकाबाहेक विकल्प थिएन । त्यही ढोकाको पनि मुखैमा बाहिरपट्टि खाल्डो थियो । पानी परेको बेला ढोकाबाट निस्कनेबित्तिकै मानिस त्यहीँ चिप्लिएर खाल्डोमा लड्थ्यो र एकमाथि अर्को गरेर चाङ लाग्थ्यो ।
‘हावाहुरी र असिना रोक्न नसके पनि समयमै सबै ढोका खोल्ने प्रवन्ध गरेको भए, २० हजार दर्शक ओहोरदोहोर गर्ने मूल ढोकाअगाडिको खाल्डा पुरेको भए यस्तो दुर्भाग्यपूर्ण अवस्था आउने थिएन,’ विश्लेषक मिश्र भन्छन्, ‘त्यो बेलाको अवस्था हेरिकन अहिले हाम्रो रंगशाला विभिन्न चरणमा भएका पुनर्निर्माणपछि धेरै सुरक्षित भएको छ । तर अझै पनि दर्शकको सुरक्षाका लागि गर्नुपर्ने काम धेरै छन् ।’
त्यो घटनाको नैतिक जिम्मेवारी लिँदै पाँच दिनपछि राखेप अध्यक्षसमेत रहेका तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्टले राजीनामा दिएका थिए । एन्फाका तत्कालीन अध्यक्ष कमल थापालगायतको कार्यसमितिले पनि नैतिकताकै आधारमा राजीनामा दिएको थियो ।