मंसिर ६, २०८१ बिहीबार | १५:३८:००
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन आहा रारा गोल्डकप

फैलिँदै सहाराको सान

२०७२ सालमा गएको विनाशकारी भूकम्पले प्रत्यक्ष रूपमा १६ जिल्लामा ताण्डव मच्चायो । तर परोक्ष रूपमा यसले पूरा देशलाई प्रताडित गरेको थियो । देशको अर्थतन्त्र थिलथिलो भएको थियो । भुइँचालोमा लडेको नेपाल उठ्ने प्रयास गरिरहेका बेला छिमेकीको नाकाबन्दीले झन ठूलो ठेस लाग्यो ।

केही महिनापछि नाकाबन्दी अन्त्य भए पनि अर्थतन्त्र ब्युँतेर पुरानो अवस्थामा अझै आउन सकेको छैन । स्वयं अखिल नेपाल फुटबल संघ (एन्फा) का गतिविधिहरू भूकम्प र नाकाबन्दीले लामो समय प्रभावित भए । मोफसलका धेरै फुटबल प्रतियोगिता हुन सकेनन् । यस्तो अवस्थामा आहा–रारा गोल्डकप पनि नहोला भन्ने स्वाभाविक चिन्ता थियो । तर सहाराले हरेस खाएन । २०५८ सालमा क्याराभान गोल्डकपका नाममा सुरु भएयता कहिल्यै नरोकिएको आहा-राराको परम्पराले भुइँचालोको कठिन समयमा निरन्तरता पायो ।

त्यसअघि एक दशकसम्म देश माओवादी सशस्त्र द्वन्द्वको चपेटामा पर्यो । जनजीवन असामान्य भयो । सुरक्षाको चिन्ताले पूरा दशक देशलाई पिरोल्यो । थुप्रै उद्योगधन्दा बन्द भए । स्कुल कलेजहरूसमेत सामान्य रूपमा चल्न सकेनन् । खेलकुदको ‘लक्जरी’ले निरन्तरता पाउने विषय कल्पनाबाहिर थियो ।

तर, सहारा क्लबले द्वन्द्वको त्यही समयमा सुरु गरेको आहा-रारा गोल्डकपले कहिल्यै विश्राम लिएन । निरन्तर रूपमा पोखरा रंगशालाबाट नेपाली फुटबलको बीउ जोगाउने अभियान चलिरह्यो ।

नेपाली फुटबललाई दुःखको समयमा निरन्तरताको गुन लगाएको आहा–रारा अहिले फेरि अर्को कठिन परीक्षामा उत्रिइरहेको छ । नेपाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता तीन वर्षदेखि सम्पूर्ण मानवजातिका लागि अभिशाप बनेर आएको कोभिड-१९ महामारीसँग जुधिरहेको छ । सशस्त्र द्वन्द्व, भुइँचालो र नाकाबन्दीले रोक्न नसकेको आहा–रारालाई कोभिड महामारीले पनि रोक्न सकेन । दुई दशकदेखिको फुटबल अभियानलाई निरन्तरता दिने संकल्पसहित प्रतियोगिताको २० औं संस्करण पोखरा रंगशालामा विनादर्शक बिहीबार सुरु भइसकेको छ । यसले फुटबलप्रतिको सहाराको समर्पण प्रमाणित गर्छ ।

यही कारण हो, मोफसलमा फुटबल भनेपछि जो-कोहीले सबैभन्दा पहिला सम्झने नाम सहारा र आहा-रारा गोल्डकप बनेको । तर, सहाराको योगदानलाई फुटबलमै मात्र सीमित गरियो भने विश्वव्यापी भइसकेका सहाराकर्मीको भावनाप्रति अन्याय हुनसक्छ । जसरी फुटबलले मैदानभित्र एउटा भकुन्डोमार्फत २२ खेलाडीले जित–हारका लागि गर्ने प्रतिस्पर्धाभन्दा धेरैमाथिको भावना बोकेको छ । यसैगरी सहारा क्लबले पनि आफ्नो भूमिकालाई उत्तिकै फराकिलो पारिरहेको छ ।

अनाथ, असहाय र आर्थिक रूपले विपन्न बालबालिकाका लागि खोलेको सहारा एकेडेमीले समाज रूपान्तरणका लागि उदाहरणीय काम गरेको छ । दुई दशकअघि पोखरा बसपार्क नजिकका केही युवाहरूले बसपार्कमा एउटा शौचालय बनाउने बहानामा सुरु गरेको सहारा अभियानको आजको आयतन ‘गरे जे पनि सम्भव छ’ भन्ने प्रमाण हो ।

फुटबलका लागि भौतिक पूर्वाधार सबैजसो जिल्लामा छन् । तर, सहारा क्लबले आफैं जग्गा किनेर दोबिल्लामा बनाएको मैदान र एकेडेमी भवनमा जस्तो व्यवस्थित र सुन्दरता राज्यको अर्बौं लगानी भएका फुटबल पूर्वाधारमा पाउन सकिन्न ।

एन्फा विभिन्न कार्यक्रमका लागि पूरा वर्षभर ‘अस्तव्यस्त’ अवस्थामा छ । यो वर्ष भएका प्रतियोगिताले १२ महिनापछि निरन्तरता पाउने पक्का छैन । घरेलु फुटबलको सबैभन्दा ठूलो मानिने प्रतियोगिता लिगसमेत हरेक वर्ष एकै पद्दतिमा हुँदैन । तर, सहाराको आहा-राराले देश सशस्त्र द्वन्द्वको अवस्थामा हुँदादेखि नाकाबन्दीसम्म पनि यसलाई निरन्तरता दिइरहेको छ । अविरल रूपमा पोखरेली दर्शकलाई फुटबलको मज्जा चखाइरहेको छ । फुटबलमार्फत पोखराको पर्यटन व्यवसायमा योगदान गरिरहेकै छ । हरेक वर्ष गर्ने प्रतियोगिताबाट नेपाली फुटबलका लागि नयाँ प्रतिभा दिने प्रयासलाई निरन्तरता दिएकै छ ।

समग्रमा भन्दा सहारा र आहा-राराले फुटबलको वास्तविक भावना फैलाइरहेको छ । हो, सहाराको बहुआयामिक क्रियाकलाप र प्रतिवद्धताले त्यही भन्छ । फुटबलका दार्शनिकहरू भन्ने गर्छन्, फुटबल एउटा खेलसँगै अरू धेरैथोक पनि हो । खासमा फुटबल त एउटा खेलभन्दा धेरै बढी हो । फुटबल शिक्षा हो । फुटबल मनोरञ्जन हो । फुटबल समाज परिवर्तनको माध्यम हो । फुटबल भाइचारा र मित्रताको कसी हो । आफैंमा यो एउटा ठूलो उद्योग हो र अरू धेरै उद्योगको सहयोगी पनि हो ।

सहारा क्लबको अभियान नजिकबाट हेर्दा फुटबलका यी सबै आयाम प्रस्टसँग देखिन्छ । पोखरा रंगशालामा बर्सेनि गर्ने आहा-रारा गोल्डकप, दोबिल्लामा चलाइरहेको सहारा एकेडेमी, बसपार्कमा बनाएको सार्वजनिक शौचालय र नजिकै सञ्चालन गरेको विद्यालयलगायतका गतिविधिले त्यही त भनिरहेको छ ।

आहा-राराले दुई दशकदेखि लगातार पोखरामा फुटबल संस्कार स्थापना गरिरहेको छ । त्यसैले त कुनै पनि घरेलु वा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नुपरे एन्फाले काठमाडौंको विकल्पमा आँखा चिम्लिएर पोखरा सोच्न थालेको हो । नेपाली फुटबलको महारथी मनाङ मस्र्याङदी क्लबले पोखरा रंगशालालाई घरेलु रंगशालाका रूपमा प्रयोग गर्ने सम्झौता गरेको छ । लगातार दुई दशक लामो संघर्षबाट स्थापित भएको सबैभन्दा ठूलो उपलब्धि सायद त्यही हो । (तस्बिरहरु : सुदर्शन रञ्जित/पोखरा)