सिड्नी । अचेल इङ्ल्यान्डमा ठूला टिमहरूले ‘ब्याक थ्री’ (रक्षापंक्तिमा तीन सेन्ट्रल डिफेन्डर) खासै प्रयोग गर्दैनन् । इङ्लिस प्रिमियर लिगमा गत आइतबार दुई ठूला टिम टोटनहम हर्टस्पर र म्यानचेस्टर युनाइटेडले आ–आफ्ना खेलमा तीन सेन्ट्रल डिफेन्डर खेलाए । तर दुवै टिमले हार भोगे । यी खेलको नतिजाको संकेत यही हुनसक्छ, ‘ब्याक थ्री अभियान’सँग अन्य ठूला टिम जोडिने सम्भावना तत्काल छैन ।
यसपालि प्रिमियर लिगमा टोटनहम र युनाइटेडको लय गतिलो छैन । यी टोली आफूभन्दा साना टिमसँग सजिलै हार्दै आएका छन् । यो साता पनि यी दुवैले आ–आफ्ना विपक्षीसँग खराब खेलेका छन् । विशेषगरी रक्षात्मक पक्ष त असाध्यै कमजोर थियो ।
प्रिमियर लिगमा साना मनिने केही टिमले ब्याक थ्रीको प्रयोग मज्जाले गरिरहेका छन् । ती टिम हुन् क्रिस्टल प्यालेस, वेस्ट ह्याम युनाइटेड र इप्सिविच टाउन ।
ब्याक थ्री प्रयोगको मुख्य उद्देश्य यही हो, आफ्नो क्षेत्रमा विपक्षीलाई सहजै पस्न नदिने । तर टोटनहमविरुद्ध एभरटन र युनाइटेडविरुद्ध ब्राइटनले यसरी आक्रमण गरे कि ब्याक थ्री खेलाउनुको उद्देश्य अलिकति पनि पूरा हुन पाएन । एभरटन र ब्राइटनका खेलाडीले टोटनहम र युनाइटेडको ‘डिफेन्सिभ लाइन’भित्र सहजै छिरेर र बाहिरबाट पनि हरेक खाले आक्रमण बुने ।
सामान्यतयाः फुटबलमा हुनुपर्ने यही हो, खेलाडीले प्रशिक्षकको रणनीतिअनुसार खेल्ने । रक्षापंक्तिका सदस्यले प्रशिक्षकको आदेशअनुसार आ-आफ्नो क्षेत्रको सुरक्षा गर्ने । तर, टोटनहम र युनाइटेडको हकमा रक्षापंक्तिका खेलाडीहरूले त्यसो गर्न सकेनन्, बरू उनीहरू विपक्षीको मुभ हेरेर प्रतिक्रिया दिन थाले । उनीहरू अलमलमा देखिन्थे, विपक्षीलाई कसरी रोक्ने ? उनीहरूलाई पछ्याएर आक्रमण बुन्न नदिने कि ? यसरी प्रेस गर्न जाँदा आफूलाई ‘कभर’ कसले गर्छ ? यो अलमलमा टोटनहम र युनाइटेडका खेलाडी थिए । अलमलको कारण थियो, ब्याक थ्रीको प्रयोग ।
खेलाडीले चाल्ने प्रतिक्रियात्मक कदमलाई ब्याक थ्रीको नकारात्मक पक्ष मानिन्छ । खासमा मैदानभित्र ‘स्पेस’ को रक्षा गर्न अन्य संरचनाले भन्दा बढी मद्दत गर्ने कारण प्रशिक्षकले तीन सेन्ट्रल डिफेन्डर खेलाउन खोज्छन् । विशेषगरी डिफेन्सिभ लाइनमा र काउन्टर अट्याकको सामना गर्ने बेला यो झनै प्रभावकारी मानिन्छ । यसकारण ब्याक थ्री अवधारणाको औचित्य सकिएको छैन ।
प्रिमियर लिगमा साना मनिने केही टिमले ब्याक थ्रीको प्रयोग मज्जाले गरिरहेका छन् । ती टिम हुन् क्रिस्टल प्यालेस, वेस्ट ह्याम युनाइटेड र इप्सिविच टाउन । ब्रेन्टफोर्ड र नटिङ्घम फरेस्ट पनि यदाकदा यो संरचनामा खेल्छन् । यसले यी कुनै पनि टिमलाई घाटा पुर्याएको छैन ।
आन्ज पोस्टेकोग्लुले टोटनहममा यसपालि ब्याक थ्रीको प्रयोग गर्नुको कारण हो, उनको टिममा देखा परिरहेको चोटको समस्या । उनका मुख्य रक्षकहरू घाइते छन् । यस्तोमा उनले आफ्नो पहिलो रोजाइको रक्षात्मक एकाइ प्रयोग गर्न पाइरहेका छैनन् । एभरटनविरुद्ध उनले पेड्रो पोरो, आर्ची ग्रे, राडु ड्रागुसिन, बेन डेभिस र जेड स्पेन्सलाई रक्षापंक्तिको जिम्मा दिएका थिए ।
सामान्यतयः ब्याक थ्रि खेलाउने प्रशिक्षकको मनसाय बल पोसेसन आफ्नो पक्षमा पारिरहने हुँदैन । किनभने रक्षापंक्तिको बीच भागमै तीन खेलाडीलाई तैनाथ गरेपछि मैदानको माथिल्लो भागमा खेलाडीको अभाव हुन्छ । तर, युनाइटेडका प्रशिक्षक रुबेन एमोरिमले भने ब्राइटनसँगको खेलमा बढीभन्दा बढी समय बल आफ्नो पक्षमा राख्ने मनसायका देखाए ।
ब्याक थ्री खेलाउँदा बल पोससनमा बढी ध्यान दिने कि नदिने ?
यो प्रश्न महत्त्वपूर्ण छ । किनभने पछिल्लो समय ठूला टिमहरू मैदानको मध्यभागबाट विपक्षीविरुद्ध धावा बोल्न सफल भइरहेका छन् । विपक्षीको क्षेत्रमा जसरी खेलाडीहरू चलाखीपूर्वक खाली स्थान खोज्छन् (पोजिसनिङ) र एक आपसमा ठाउँ साट्छन् (रोटेसन) यसले अर्को टिमका रक्षकहरूमाथि असाध्यै दबाब सिर्जना गर्छ । यो दबाबलाई परास्त गर्न बढीभन्दा बढी खेलाडी संयुक्त रूपमा डिफेन्सिभ लाइनको रक्षामा अडिग रहन आवश्यक हुन्छ ।
माथिल्लो स्तरको फुटबलमा ब्याक थ्रीको प्रयोगमा कमी आइरहेको छ । गएको दशकमा च्याम्पियन्स लिगमा ब्याक थ्रीको प्रयोग गर्ने ठूला टिम जम्मा तीन वटा थिए युभेन्टस, चेल्सी र इन्टर मिलान । यी तीनमध्ये च्याम्पियन्स लिगको उपाधि चेल्सीले मात्र जित्यो । प्रिमियर लिगमा ‘बिग सिक्स’ टिमले ब्याक थ्रीको प्रयोग पटक पटक गरेका छन् । तर, अचेल यो संरचनामा युनाइटेड मात्र खेलिरहेको छ ।
प्रिमियर लिगमा ब्याक थ्री खेलाएर सफलता हात पार्ने प्रशिक्षक दुई जनामात्र हुन् । र, संयोगवश दुवै प्रशिक्षकले सफलता चेल्सीमा पाएका थिए । एन्टोनियो कोन्टेले सन् २०१६-१७ मा चेल्सीलाई लिग च्याम्पियन बनाएका थिए भने थोमस टचेलले चार वर्षपछि सोही टिमलाई च्याम्पियन्स लिग विजेता बनाउन सके ।
ब्याक थ्रीसँग आउने समस्याको हल हुँदै नभएको होइन । हल हो, आक्रामक भएर डिफेन्ड गर्ने । ‘प्यासिभ’ होइन ‘प्रोएक्टिभ’ भएर विपक्षीको आक्रमणमा अवरोध सिर्जना गर्ने ।
यी दुई उदाहरण एकैछिन छेउमा सार्ने हो भने प्रिमियर लिगका ठूला टिममा ब्याक थ्री लगभग असफल अवधारणा हो । किनभने ठूला टिमका खेलाडीले आफूसँग बल नहुँदा विपक्षीको मुभलाई लिएर कसरी प्रतिक्रिया जनाउने भनेर ठम्याउनै सकेनन् । यसको कारण हो, प्रशिक्षकले ब्याक थ्रीको अवधारणा र प्रेसिङको रणनीतिबीच सन्तुलन खोज्न नसक्नु ।
जुन टिमहरू बल पोसेसनमाथि कब्जाको रणनीतिका साथ मैदान ओर्लिन्छन्, उनीहरू विपक्षीलाई उसैको क्षेत्रमा झार्न वा सीमित पार्न खोज्छन् । विपक्षी खेलाडीहरू आफ्नो क्षेत्रमा सीमित भएपछि मैदानको बीचमा उनीहरूले छाडेको स्थान कब्जा गर्ने र त्यहाँबाट आक्रमण बुन्ने योजना हुन्छ । यसमा ‘हाफ स्पेस’, विङ्ग र मैदानको बीच भाग हरेक स्थान महत्त्वपूर्ण हुन्छ ।
तर, यस्तो योजना सफल बनाउन त्यतिबेला कठिन हुन्छ जतिबेला विपक्षी ब्याक थ्रीको संरचनामा खेलिरहेको हुन्छ । किनभने पारम्परिक ब्याक फोरभन्दा ब्याक थ्रीको प्रयोग गर्ने विपक्षीको रक्षापंक्तिको मध्यभागमा थप एक खेलाडीको उपस्थिति हुन्छ ।
एभरटनसँगको खेलमा टोटनहमका प्रशिक्षक पोस्टेकोग्लु आफ्ना खेलाडीलाई रक्षात्मक अवस्थामा ब्याक थ्रीको संरचनामा रहन निर्देशन दिइरहेका थिए । तर, बल आफ्नो नियन्त्रणमा आउँदा टोटनहम फरक संरचनामा देखा पथ्र्यो, रक्षापंक्तिका आर्ची ग्रे मिडफिल्डरमा रूपान्तिरत हुन्थे ।
बल आफूसँग हुँदा सजिलो, नहुँदा अप्ठ्यारो, ब्याक थ्रीमा खेल्दा हुने यही हो । ब्याक थ्रीले थप एक खेलाडीलाई रक्षापंक्तिमा अल्झाएपछि मिडफिल्डमा प्रेस गर्न खेलाडीको अभाव हुने गर्छ । कुल ५ खेलाडी (तीन सेन्ट्रल डिफेन्डर र दुई विंगब्याक) डिफेन्सिभ लाइनमा हुने भएपछि विङ्ग, हाफ स्पेस र सेन्ट्रर कभर गर्न पाँच खेलाडी मात्र बाँकी रहन्छन् । यस्तोमा एक वा दुई वा तीन खेलाडी विपक्षीको भागमा पुगेर प्रेस गर्न थाले मिडफिल्डमा रिक्तता आउँछ, जसकारण विपक्षीले चलाखीपूर्वक एक वा दुई पास खेले त्यो रिक्तताको फाइदा उठाउँदै आक्रमण बुन्न सक्छन् ।
यस्तोमा उपलब्ध विकल्प यी दुई हुन्ः रक्षापंक्तिका पाँच खेलाडीले आ-आफ्नो स्थान कभर गर्ने र विपक्षीलाई पर्खने वा मिडफिल्ड र फरवार्डमा खेलाडी कम हुन दिएर खेल्ने ।
आधुनिक फुटबल प्रशिक्षणमा प्रयोग हुने शब्द छ, अटोमेटिजम । यसको सामान्य अर्थ हो, ‘ट्रेनिङ सेसन’मा जसरी पास खेलिन्छ, ठ्याक्कै त्यही पास खेलमा पनि खेल्ने ।
ब्याक थ्रीसँग आउने समस्याको हल हुँदै नभएको होइन । हल हो, आक्रामक भएर डिफेन्ड गर्ने । ‘प्यासिभ’ होइन ‘प्रोएक्टिभ’ भएर विपक्षीको आक्रमणमा अवरोध सिर्जना गर्ने । यही रणनीतिका कारण सिमोन इन्जाघीले इन्टर मिलान, जाभी अलोन्सोले बायर लेभरकुसन र जियान गास्पेरिनीले एटलान्टामा सफलता पाएका हुन् । यी कुनै पनि टिमको डिफेन्ड गर्ने शैली ‘प्यासिभ’ छैन ।
इन्टर, लेभरकुसन र एटलान्टा ‘म्यान टु म्यान’ प्रेस गरेर खेल्छन् । यसो गर्दा विपक्षीलाई मैदानको मध्यभागमा भत्काउन सकिन्छ । यो तरिका सजिलो छैन । एक वा दुई दिन होइन, टिमको सिजनभर अभ्यास नै यसै वरपर परिक्रमा गरिरहे मात्र सफलता हात पर्ने हो ।
कोन्टे छँदा चेल्सी ब्याक थ्रीका कारण बलियो थियो । सामान्यतयाः चेल्सीको आक्रमण रक्षापंक्तिबाट सुरु हुने गथ्र्यो । विपक्षीले प्रेस गरे चेल्सीका रक्षकहरू बल विङ्सब्याकलाई दिन्थे । त्यसपछि विङ्गब्याक बललाई स्ट्राइकरका लागि ‘फ्लिक’ गरिदिन्थे ।
आधुनिक फुटबल प्रशिक्षणमा प्रयोग हुने शब्द छ, अटोमेटिजम । यसको सामान्य अर्थ हो, ‘ट्रेनिङ सेसन’मा जसरी पास खेलिन्छ, ठ्याक्कै त्यही पास खेलमा पनि खेल्ने । त्यो पनि हरेक खेलमा । उही प्रकारको पास र मुभ । विशेषगरि आक्रमण कसरी बुन्ने भनेर योजना बनाउँदा अटोमेटिजम सहयोगी सिद्ध हुने गर्छ । कोन्टेको पालामा चेल्सीमा अटोमेटिजमको प्रयोग खुबै भयो ।
यसो गर्दा हरेक खेलाडीलाई अब हामी यसरी मुभ बनाउँदै छौं भन्ने पहिल्यै थाहा हुन्छ । जब रक्षापंक्तिबाट अघि बढेर रक्षकले प्रेस गर्छन्, त्यो टिमका अरू खेलाडी कुन कुन स्थानमा पुग्ने हो भन्ने पहिल्यै निर्क्योल गरिएको हुन्छ । यो अवधारणाको प्रयोगमा टोटनहम र युनाइटेड केही कमजोर देखिन्छन् ।
तर, इन्टर र एटलान्टाका खेलाडी भने यसमा पोख्त छन् । हरेक दिन ट्रेनिङ सेसनमा जस्तो मुभ अभ्यास गरिन्छ, ठ्याक्कै त्यही मुभ मैदानमा जस्ताको त्यस्तै दोहो¥याउन उनीहरू सफल भइरहेका हुन्छन् । च्याम्पियन्स लिगको खेलमा गत सेप्टेम्बरमा सिटीसँग खेल्दा इन्टरका ५ रक्षक र मिडफिल्डरले जसरी आआफ्नो स्थान साट्दै खेले, त्यो हेर्नलायक थियो ।
सिटीको मैदानमा इन्टरका खेलाडीले छोटा छोटा पास खेल्ने, आआफ्नो ठाउँ तुरुन्तै साट्ने, फुलब्याक अघि बढ्दा उसको पोजिसन सेन्ट्रल हाफले ओगट्ने लगायतका कार्य सही तरिकाले गर्न सके । ब्याक थ्री प्रयोग गरेको इन्टर बल पोसेसनमा पछाडि थियो, तर सिटीको आक्रमण सजिलै झेल्न सक्यो ।
जसरी इन्जाघी, अलोन्सो र गास्पेरिनीले ब्याक थ्रीको अवधारणा अपनाएर आ–आफ्नो रणनीति बनाउँछन्, ती रणनीति अरू प्रशिक्षकका लागि ब्लू प्रिन्ट बन्न सक्छन् । तर यहाँनेर बुझ्न के आवश्यक छ भने ब्याक थ्री अवधारणा हेर्दा सरल देखिए पनि खासमा जटिल छ । खेलाडीले आफ्नो भूमिकाबारे बुझ्न सकेनन् र भूमिकाअनुसार जिम्मेवारी निर्वाह गर्न सकेनन् भने टिम खतरामा पर्छ । सायद आफ्ना खेलाडीले भूमिका र जिम्मेवारी बुझ्न नसकिरहेको भान एमोरिम र पोस्टेकोग्लुमा यतिबेला परिरहेको छ ।
(बेलायती अखबार दी टाइम्सको सहयोगमा)