जेष्ठ ५, २०८२ आइतबार | १३:३७:४४
एन्जल डी मारियाले छाडे बेन्फिका रोस्टन चेज वेस्ट इन्डिज टेस्ट टोलीको कप्तान टुंगियो हाउन्ड्सको विजयी यात्रा लिगको अन्तिम खेलमा पिएसजीको पुनरागमन जित थोमस मुलरको सुखद बिदाइ प्लेअफ दौडबाट बाहिरियो कोलकाता सिटीलाई हराउँदै क्रिष्टल प्यालेस पहिलो पटक च्याम्पियन लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङविरुद्ध अविश्वासको प्रस्ताब पारित युएईमा रेखा पौडेल नगदसहित सम्मानित पहिलो दिन नेपाललाई अग्रता एन्जल डी मारियाले छाडे बेन्फिका रोस्टन चेज वेस्ट इन्डिज टेस्ट टोलीको कप्तान टुंगियो हाउन्ड्सको विजयी यात्रा लिगको अन्तिम खेलमा पिएसजीको पुनरागमन जित थोमस मुलरको सुखद बिदाइ प्लेअफ दौडबाट बाहिरियो कोलकाता सिटीलाई हराउँदै क्रिष्टल प्यालेस पहिलो पटक च्याम्पियन लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङविरुद्ध अविश्वासको प्रस्ताब पारित युएईमा रेखा पौडेल नगदसहित सम्मानित पहिलो दिन नेपाललाई अग्रता
शनिबारको दिन राजुकाजी शाक्य

राजुकाजी, ‘फुटबलका महात्मा’

नेपाली खेलकुदमा ‘प्यासन’ भन्ने अंग्रेजी शब्द निकै चर्चामा छ । खेलकुदमा लागेकाहरू आफूसँग सम्बन्धित खेलको ‘प्यासनेट’ भन्न निकै रुचाउँछन् । तर, साँचो अर्थमा लगाव के हो भन्ने बुझ्न चाहनेका लागि राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्य जति उपयुक्त उदाहरण अरू नहोला ।

एउटा प्रसंग, दसैंको घटस्थापना दिन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो । कार्यक्रममा दुई पटकका साग स्वर्णधारी खेलाडी तथा प्रशिक्षकको हैसियतमा पनि एकपल्ट स्वर्ण जितिसकेका शाक्यलाई निम्तो नहुने कुरै भएन ।

एकाबिहानै राखिएको कार्यक्रममा नेपाली खेलकुदका प्रिय राजु दाइ निकै हतारोमा आइपुगे । एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ भए ठाउँ गए । शुभकामना दिए र जान हतारिए । अध्यक्ष श्रेष्ठले एकछिन बसेर जान अनुरोध गर्दा बडो विनम्रतापूर्वक तिहारपछि हुने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगलाई एनआरटीले अभ्यास सुरु गर्न लागेको र त्यसका लागि जान हतार भइसकेको भन्दै बिदा भए ।

‘तिमीहरूले बोलाएपछि नआउन सकिनँ । तर एनआरटीले भोलिदेखि ट्रेनिङ सुरु गर्ने भनेको छ । मैदानमा घाँस काट्नुपर्छ । आज पोस्ट गाड्ने भनेको छ, ढिलो भयो । कोही छैन, हामी आफैले गर्ने हो । त्यही भएर म गएँ,’ शाक्यले यसै भनेर बिदा मागेका थिए ।

लामो समय राष्ट्रिय टोलीबाट खेल्नुका साथै कप्तानी गरेका शाक्य नेपाली फुटबलका भलाद्मी व्यक्तित्वमध्ये एक हुन् । उनले कडा शब्द र चर्को स्वरमा कसैसँग कुरा गरेको नेपाली खेलकुदमा सायदै कसैले सुनेका होलान् । उमेरले ६२ छोइसक्दा पनि खेल्दाको बेलाजस्तै लामो कपाल, छरितो शरीर र फुर्तिलो चाल भएका उनी त्यसैले वर्तमान फुटबलमा ‘राजु दाइ’ को नामले सम्मानित छन् । धेरैले उनलाई बोलाउने नाम हो ‘राजु दाइ’ ।

फुटबलसँग बेजोडको प्रेममा रहेका शाक्य र यो सुन्दर खेलबीचको सम्बन्धबारे चर्चा गर्न शब्द पर्याप्त हुँदैन । यो त उनको भावनाको कुरा हो । साँचो अर्थमा लगाव हो । जीवन रहेसम्म नटुटने प्रेम हो । यसलाई बुझ्न पनि शब्दको सहारा लिनु सम्भव हुँदैन । भावनाले नै बुझ्नुपर्छ । त्यो बुझ्न खेलाडीमन हुनुपर्छ ।

शाक्य आफैं पनि फुटबलसँगको सम्बन्ध बयान गर्न खोज्दा अलमल्लिइरहन्छन् । भन्छन्, ‘मैले खेलें । अहिले प्रशिक्षकका रूपमा काम गरिरहेको छु । फुटबलमा काम गर्न मज्जा लाग्छ । फुटबल नभए बाँकी सबथोक खल्लो लाग्छ । जिन्दगीमा मैले जानेको भनेकै यही एउटा फुटबल हो । अरू केही सिकिएन पनि । मलाई बोल्न पनि मिलाएर आउँदैन । जे मनमा लाग्यो त्यही ठाडो शब्दमा बोलिदिन्छु ।’

शाक्यका सहकर्मीहरूको भनाइमा उनी अत्यन्तै सोझा र सरल व्यक्ति हुन् । ‘फुटबल मैदान र पोस्टको आकार पनि थाहा नपाउनेहरूले यही खेलको नाम भजाएर विशिष्ट पद हत्याएका छन् । तर, आफूभन्दा बढी फुटबलको माया गर्ने राजु दाइलाई खेल्न र खेलाउन पाए अरू केही चाहिँदैन,’ शाक्यसँगै राष्ट्रिय टोलीबाट खेलेका अखिल नेपाल फुटबल संघका पूर्वकोषाध्यक्ष विराटजंग शाही भन्छन्, ‘राजु दाइले चाहनु भएमात्र पनि एन्फामा चाहेको पदमा पुग्न सक्नुहुन्थ्यो ।’

शाहीको भनाइ मान्ने हो भने शाक्यको फुटबल प्रेम पद, पैसा र ग्ल्यामरभन्दा पनि मैदानको फुटबल हो । जहाँ उनलाई खेल्न र खेलाउन पाए पुग्छ । मैदानमा गएर बल खेलाउँदै बिताएका समय उनका लागि जीवनकै सबैभन्दा प्रिय समय हो । त्यसैले त फुटबल खेल्न र खेलाउन उनी जस्तोसुकै कामका लागि पनि तयार हुन्छन् ।

नेपाली फुटबलमा ‘लेजेन्ड’को दर्जामाथि साँचो हक राख्ने शाक्य आफै पोस्ट बोकेर गाड्नेदेखि मैदानको घाँस काट्नेसम्मको काम गर्न अघि सर्छन् । क्लब व्यवस्थापनले गर्नुपर्ने काम भनेर पन्छिँदैनन् ।

‘फुटबलमा काम गर्न केको लाज ? मलाई अप्ठेरो पनि लाग्दैन । काम गर्दा त झन मज्जा पो आउँछ त । व्यायाम पनि हुने, काम पनि चाँडो हुन्छ । अरूले गर्दा कसरी गर्लान, आफैंले गर्यो भने त काम पनि राम्रो भयो नि,’ पूर्वकप्तान शाक्य भन्छन्, ‘फेरि फुटबलको काम भनेको आफ्नै काम हो, गर्नैपर्यो नि ।’

शाक्यलाई नजिकबाट चिन्नेहरू भन्छन् । ‘उहाँ बनावटी कुरा गरेर आफूलाई महान बनाउन सक्नुहुन्न । खालि काममै रमाउनुहुन्छ । यही कारण हो फुटबल बुझ्ने फुटबलकर्मी र समर्थकबीचमा उहाँको छवि महान व्यक्तित्वको जस्तो छ,’ फुटबल विज्ञ सञ्जीव मिश्र भन्छन् ।

‘एउटा राम्रो खेलाडी, प्रतिबद्ध कप्तान, मिहिनेती र अनुशासित प्रशिक्षक, भलादमी र सरल व्यक्तित्व’ शाक्यसँगै फुटबल परिवारका प्रत्येक सदस्यले सँगै सम्झने कुरा हुन् । तर, शाक्यको पहिचान यतिमै सीमित छैन । मिश्रको भनाइ मान्ने हो भने उनी नेपाली फुटबलका महात्मा हुन् । मैदान उनको तपोभूमि, अनि फुटबल उनको तपस्या ।

एउटा सन्तोषी फुटबलकर्मीका रूपमा पनि उनलाई चिनिन्छ । किनकि उनले कुनै पनि विषयमा गुनासो गरेको विरलै सुनिन्छ । ‘राजु दाइको मुखबाट मैले यो पाइनँ, त्यो पाइनँ । मलाई यस्तो अन्याय भयो, उस्तो भयो जस्ता कुरा सुन्न पाइँदैन । फुटबल भएन भने चाहिँमात्र उहाँको गुनासो हुन्छ । त्यो पनि खेल होस भनेरमात्र,’ राष्ट्रिय टोलीमा सँगै खेलेका उनका सिनियर सहकर्मी एवं एन्फाका पूर्वमहासचिव धिरेन्द्र प्रधान सम्झन्छन् ।

तीन वर्षअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले लामो समयदेखि प्रशिक्षकका रूपमा नियमित काम गर्दै आएका शाक्यलाई निर्वाचनमा अर्को पक्षलाई सहयोग गरेकै कारण बर्खास्त गरेको थियो । नमिल्दो बहाना गरेर एन्फाले शाक्यलाई बर्खास्त गर्दा त्यसको चौतर्फी आलोचना भयो । तर शाक्यले भने त्यसमा खासै आक्रामक प्रतिक्रिया दिएनन् । फुटबल र एन्फा नेतृत्वलाई उल्टो शुभकामना दिए । एउटा ‘लेजेन्ड’बाट भलादमीपनको योभन्दा राम्रो उदाहरण अरू के हुन सक्ला र ?