मंसिर ६, २०८१ बिहीबार | १५:३६:५३
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन

ह्याट्रिक नायक नवयुग

नेपाली फुटबलमा परिचय आवश्यक नपर्ने थोरै खेलाडीमध्ये नवयुग श्रेष्ठ एक हुन् । पाँच वर्षअघि दुई महिनाको बीचमा तीन अन्तर्राष्ट्रियस्तरका ह्याट्रिक गरेका नवयुगलाई नेपाली फुटबल समर्थकले सम्झने खास कारण अझ विशेष छ ।

नेपालका लागि क्षेत्रीय खेलकुदको सबैभन्दा ठूलो मेला दक्षिण एसियाली खेलकुद (साग) ओलम्पिक जत्तिकै महत्वपूर्ण मानिन्छ । नेपालले प्रतिस्पर्धा गर्नेमध्ये स्वर्ण पदक जित्ने व्यावहारिक सम्भावना रहेको एकमात्र बृहत अन्तर्राष्ट्रिय खेल मेला भएकाले नै हो, नेपाली खेलकुदमा सागको अर्थ विशेष रहने गरेको छ ।

त्यही विशेष प्रतियोगितामा नेपाललाई फुटबलको स्वर्ण पदक जिताउन नवयुगले लाखौं समर्थकको मनबाट कहिल्यै नमेटिने छाप छोड्न सफल दर्शनीय गोल गरेका थिए । हो, ३१ वर्षे नवयुगको करियरमा त्यो उत्कर्षको समय थियो ।

त्यसैले त आफूभन्दा निकै अग्ला विपक्षीको टाउकोभन्दा माथि आएको बललाई नवयुगले सानदार भलीमार्फत नेपालका लागि विजयी गोल ठोकेका थिए । सात गोल गरेर प्रतियोगिताकै उच्च गोलकर्ता बनेका नवयुगको त्यो गोल विशेष थियो । त्यसैले त फुटबलप्रेमीहरू अहिले पनि त्यो गोल सम्झेर रोमाञ्चित हुने गर्छन् ।

ओलम्पिक र एसियाली खेलकुदमा जस्तै सागमा पनि सबैभन्दा बढी चर्चा बटुल्ने फुटबलकै स्वर्ण पदकले हो । अझ नेपालको हकमा त्यो स्वर्ण पदक भारतलाई हराएर प्राप्त भयो भने झनै अर्थपूर्ण रहने गर्छ ।

जित सधैं मीठो हुन्छ । स्वर्ण पदकको मूल्य सधैं एउटै हुन्छ । तर कहिलेकाहीं कुनै कुनै गोल र त्यसबाट प्राप्त जित अदभूत बन्न पुग्छ । सन् २०१६ मा भारतको गुवाहाटीमा सम्पन्न १२ औं साग फुटबलका दृष्टिले नेपालका लागि त्यस्तै अदभूत बन्यो र स्मरणीय बन्यो । र, नायकका रूपमा स्थापित भए नवयुग ।

फाइनलमा भारत प्रतिद्वन्द्वी, तीन सय ९८ खेलाडीको जम्बो नेपाली टोली दुई स्वर्ण पदकमा मात्र सीमित भइरहेको अवस्था, फुटबलकै फाइनलमा पनि सुरुमै गोल खाएर तेस्रो स्वर्ण पदक जित्ने सम्भावना कमजोर बन्दै गइरहेको अवस्थामा प्राप्त जितको महत्व कति होला ?

नवयुगले ७०औं मिनेटमा एउटा असाधारण गोल गरेर नेपाललाई त्यही जितको स्वाद दिलाएका थिए । जुन नेपालले साग फुटबलमा २३ वर्षपछि जितेको दोस्रो र समग्रमा तेस्रो स्वर्ण पदक थियो । नेपालले सन् १९८४ मा काठमाडौंमा आफैले आयोजना गरेको पहिलो दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा फुटबलको स्वर्ण पदक जितेको थियो । त्यसपछि १९९३ को ढाका सागमा जितेको स्वर्णयता कहिल्यै यो सफलताको स्वाद चाख्न पाएको थिएन । त्यही कारण हो नवयुगले नेपाली समर्थकको मन मस्तिष्कमा राज गर्न सफल भएको ।

३० मिनेटमै दुर्भाग्यपूर्ण पेनाल्टीमा गोल खाएपछि दुई दशकभन्दा लामो फुटबलमा स्वर्ण जित्ने सम्भावना कमजोर बनिसकेको थियो । तर, ६५औं मिनेटमा प्रकाश बुढाथोकीले फ्रिकिकलाई गोलमा परिणत गरेर खेल बराबरीमा ल्याए ।

भारतसँग उसकै मैदानमा खेल्दा स्वभाविक रूपमा नेपाल दबाबमा थियो । जित्ने चाहना उत्कण्ट थियो, आशा र विश्वास त्यति बलियो थिएन । तर, ७०औं मिनेटमा एउटा जादुमय क्षण नेपालको पक्षमा आयो, जहाँ नवयुगले जादुगरको भूमिका निर्वाह गरे ।

‘त्यो मेरो करियरको सबैभन्दा उत्कृष्ट क्षण थियो । कसैले मलाई तेरो जीवनकै सबैभन्दा राम्रो क्षण कुन हो भनेर सोध्यो भने त्यही गोल गर्दाको समय भन्छु,’ गुवाहाटीको इन्दिरा गान्धी एथलेटिक्स रंगशालामा गरेको गोल सम्झँदा नवयुग अहिले पनि रोमाञ्चित हुन्छन् ।

प्रकाशले बायाँ विंग्सबाट क्रसगर्दा नवयुग विपक्षी पेनाल्टी बक्समा आफूभन्दा अग्ला भारतीय रक्षक सन्देश झिंगनको कडा निगरानीमा थिए । तथापि प्रकाशले विंग्समा बल ड्रिब्लिङ गरिरहँदा यता पेनाल्टीबक्सको बीचमा नवयुगले पनि पोजिसन फेर्दै स्पेस खोजिरहेका थिए । प्रकाशले दुई÷तीन पटक ड्रिब्लिङ गरेर दायाँ खुट्टाले क्रस गरे । झिंगनले हेडबाट क्लियर गर्न खोज्दा सकेनन् । झिंगनको पछाडि बसेर मौका खोजिरहेका नवयुगले विपक्षी खेलाडीको टाउको माथिबाट आएको बललाई भलीबाट गोल गरे । नेपालले २३ वर्षदेखि पर्खिरहेको त्यो क्षणसँग समर्थकलाई साक्षात्कार गराए ।

‘एउटा स्ट्राइकर भएपछि मलाई आफू सही पोजिसनमा हुनुपर्छ भन्ने सधैं लागिरहन्छ । म पनि प्रकाशले क्रस गर्न खोज्दा पेनाल्टी बक्समा सही पोजिसन लिन खोज्दै थिएँ । मलाई म्यान टु म्यान मार्किङ गरिरहेका सन्देश झिंगन अगाडि थियो । म पछाडि थिएँ,’ प्रतियोगितामा सर्वाधिक सात गोल गर्दै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको पुरस्कारमा कव्जा जमाएका नवयुगले सम्झिए, ‘प्रकाशले राम्रो क्रस गर्यो । झिंगनले हेडबाट क्लियर गर्न सकेन । तर मसँग निर्णय गर्नका लागि समय थिएन । स्ट्राइकरहरूले त्यस्तो बेला सोच्ने धेरै समय पाउँदैनन् पनि । मैले तत्काल भली हान्ने निर्णय गरें । बल राम्ररी कन्ट्याक्ट पनि भयो । त्यही गोलले हामी भारतलाई हराउँदै स्वर्ण पदक जित्न सफल भयौं । मेरा लागि योभन्दा ठूलो अरू कुनै कुरा थिएन ।’

अनिल गुरुङ र जुमनु राई ढल्कँदो उमेरमा पुगिसकेका थिए । नेपाली राष्ट्रिय टोलीमा भरत खवास, विमल घर्तीमगरहरूलाई स्ट्राइकिङ पार्टनरको खाँचो थियो । इलाम मंगलबारेका स्थायी बासिन्दा नवयुगले २०१६ को सुरुआती दुई महिनामा आफूलाई प्रमाणित गर्दै अनिल र जुमनुको युगबाट नेपाली फुटबलको आक्रमणपंक्तिलाई नयाँ युगमा पुर्याए ।

५ फिट ६ इन्चका नवयुगले सन् २०१५ को अगस्टमा भारतविरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए । त्रिभुवन आर्मी क्लबका स्ट्राइकर नवयुगले नेपाली फुटबलमा राज गर्न त्यसपछि धेरै समय लगाएनन् । दुई महिनाको बीचमा अन्तर्राष्ट्रिय फुटबलमा तीन ह्याट्रिकसहित ११ गोल गर्दा उनले दुई फरक प्रतियोगितामा उपाधिसँगै सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीको ताज पनि पहिरिए ।

साँच्चै नेपाली फुटबल नयाँ युगमा प्रवेश गर्दै थियो । अनि नेपाली फुटबललाई नयाँ युगमा प्रवेश गराउने सारथि बन्दै थिए नवयुग । नेपालको जर्सी लगाएको पाँच महिनामै बंगलादेशको ढाकामा बंगबन्धु गोल्डकप हुँदै थियो । नेपाली राष्ट्रिय टोलीले सहभागिताको निम्तो पायो । राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर बालगोपाल महर्जन मुख्य प्रशिक्षकको भूमिकामा थिए ।

सन् २०१६ को जनवरीमा भएको बंगबन्धु गोल्डकपलाई नेपालले अर्को महिना भारतको गुवाहाटीमा हुने १२औं सागको तयारीका रूपमा पनि लिएको थियो । त्यसैले महर्जनले ढाका भ्रमणको टिम छान्दा घरेलु फुटबलमा प्रभाव देखाइसकेका नवयुग नअट्ने कुरै थिएन ।

नवयुगलाई पहिलो पटक ठूलो प्रतियोगितामा मौका दिने महर्जनको निर्णय ढाकाको बंगबन्धु रंगशालामा प्रत्येक खेलमा उनले सही साबित गरे । सेमिफाइनलमा दक्षिण एसियाको महारथी माल्दिभ्समाथि ४–१ को विजयी नतिजा निकाल्दा नवयुगले ह्याट्रिक गरेका थिए । फाइनलमा बहराइनको २३ वर्षमुनिको टोलीलाई ३–० को नतिजामा हराउँदा पनि नेपालको तर्फबाट पहिलो गोल गरेका नवयुग प्रतियोगितामा चार गोलका साथ उच्च गोलकर्ता भए । साथमा प्रत्येक खेलमा गरेको प्रभावशाली प्रदर्शनका कारण उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।

नवयुगको गतिले लगत्तै अर्को महिना गुवाहाटीमा झन तीव्रता लियो । एक महिनाबीचमा तीन ह्याट्रिक गर्नेक्रममा उनले सागमा दुई खेलमा तीन÷तीन गोल गरे । समूह चरणमा भुटानलाई ५–० को नतिजामा हराउँदा ह्याट्रिक गरेका नवयुगले सेमिफाइनलमा माल्दिभ्समाथि ४–३ को जित हासिल गर्दा पनि तीन गोल नै गरे । माल्दिभ्समाथि एक महिनाको बीचमा लगातार दोस्रो प्रतियोगिताको सेमिफाइनलमा नवयुगले गरेको यो अर्को हयाट्रिक थियो ।

दुई ह्याट्रिकमा फाइनलमा भारतविरुद्धको त्यो यादगार गोल थपिएपछि सात गोलका साथ १२औं सागको फुटबलमा नवयु्ग सर्वाधिक गोलकर्ता भए । पूरा प्रतियोगितामा गरेको उच्च प्रदर्शनले यसअघि नै उनलाई उत्कृष्ट खेलाडीको एक्लो हकदारका रूपमा स्थापित गरिसकेको थियो ।

नेपाली फुटबल र नवयुगका लागि वर्ष २०१६ उपलब्धिको वर्ष थियो । त्यही वर्ष तेस्रो उपाधिका रूपमा नेपालले मलेसियामा भएको पहिलो एएफसी सोलिडारिटी कप उचाल्यो । सोलिडारिटी कप जित्दाका महत्वपूर्ण खेलाडी नवयुगले ब्रुनाईविरुद्ध ३–० को जित हासिल गर्दा नेपालको तर्फबाट पहिलो गोल गरेका थिए ।

नवयुगले भर्खरै माल्दिभ्सको मालेमा सम्पन्न १३औं साफ च्याम्पियनसिपमा भने गोल गर्न सकेनन् । तथापि प्रशिक्षकको रणनीतिअनुसार विपक्षी रक्षकलाई दबाबमा राख्दै टिमका अन्य सहयात्रीका लागि गोल अवसर जुराउन सकेका कारण उनी खुसी छन् ।

‘एउटा स्ट्राइकर भएपछि गोल गर्नैपर्छ । मैले पनि साफ च्याम्पियनसिपमा गोल गर्न सक्नुपथ्र्यो । तर, मलाई प्रशिक्षकले विपक्षी टिममाथि दबाब कायम गर्ने जिम्मेवारी दिनुभएको थियो । आफूले गोल गर्न नसके पनि साथीहरूका लागि स्पेस क्रिएट गराऊ भन्नुभएको थियो,’ खेलाडीसँगको कुराकानीमा नवयुगले सुनाए, ‘मलाई प्रशिक्षकले जिम्मेवारी पूरा गर्यौं भन्नुभएको छ । उहाँ मेरो समग्र प्रदर्शनबाट खुसी हुनुहुन्छ । हामीलाई आफ्नो गोलभन्दा पनि टिमको सफलता प्यारो लाग्ने गर्छ । म पनि आफूले पाएको जिम्मेवारी पूरा गर्न सकेकामा खुसी छु ।’

तीन वर्षअघि साफ च्याम्पियनसिपमा बंगलादेशमाथि २–० को जित हासिल गरेको खेलमा एक गोल गरेका नवयुगले एएफसी एसियन कपमा यमनसँग २–१ ले पराजित हुँदा पनि स्कोरसिटमा नाम लेखाएका थिए । यसैगरी विश्वकप छनोटअन्तर्गत गत जुनमा चाइनिज ताइपेइलाई २–० ले हराउँदा पनि उनको नाममा एक गोल थियो ।

‘डेब्यु’ गरेयताको ६ वर्षमा ४० अन्तर्राष्ट्रिय खेल खेल्दै सात गोल गरेका नवयुग राष्ट्रिय टिममा सिनियर खेलाडीमध्ये एक हुन् । उनकै भनाइअनुसार नवयुगले राष्ट्रिय टिमको यात्रामा ७५ देखि ८० प्रतिशत बाटो काटिसकेका छन् ।

‘राष्ट्रिय टिमबाट अब मैले २० देखि २५ प्रतिशत बाटो हिँड्न बाँकी छ जस्तो लाग्छ । टिममा एकदमै राम्रा जुनियर भाइहरू आइरहेका छन् । म त राष्ट्रिय टिमको सिनियर खेलाडी भैसकें नि,’ नवयुग हाँस्दै भन्छन् ।

नेपाली फुटबलमा १८ नम्बर जर्सीमा सजिएर मैदान उत्रिने नवयुगले भर्खर साफ च्याम्पियनसिपमा राष्ट्रप्रतिको जिम्मेवारी पूरा गरेर फर्किएका छन् । अब पालो आएको छ, साढे तीन महिना चल्ने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबप्रति जिम्मेवारी पूरा गर्ने ।

२०६५ सालमै आर्मीमा भर्ना भए पनि त्यसको दुई वर्षपछि मात्र आर्मी क्लबको टोलीबाट सिनियर फुटबलमा ‘डेब्यु’ गरेका नवयुगले शीर्ष डिभिजनको लिगमा ७४ खेल खेल्दै १४ गोल गरेका छन् ।

आर्मीको टिमबाट देशभित्र हुने सबै नकआउट प्रतियोगिता खेल्दै प्रभाव स्थापित गरेका नवयुगको लिगमा भने राम्रो तथ्यांक छैन । जसलाई यसपालिको लिगबाट सुधार्ने मौका उनीसँग छ ।

‘मैले खेल्न थालेदेखि कहिले भुँइचालो, कहिले कोभिड भनेर धेरै वर्ष लिग नै भएन । त्यसैले पनि लिगमा चाहिँ मैले क्लबका लागि धेरै गोल गर्न सकेको छैन । तर यसपालि क्लबलाई पहिलो पटक लिग च्याम्पियन बनाउनका लागि योगदान गर्नेछु,’ उनको अठोट छ ।