फाल्गुन २, २०८२ शनिबार | ११:१५:२१
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन साफ च्याम्पियनसिप

आजबाट साफ च्याम्पियनसिप, उपाधिका लागि आठ टोलीको प्रतिस्पर्धा

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १४ औं संस्करण बुधबारबाट भारतको बेङलुरुमा सुरु हुँदैछ ।

प्रतियोगिताको इतिहासमा पहिलो पटक दक्षिण एसिया बाहिरका दुई टोली लेबनान र कुवेतलाई आमन्त्रण गरिएको छ । यसकारण यसपाली साफ च्याम्पियनसिपको उपाधिका लागि दक्षिण एसिया बाहिरको पनि दाबेदारी रहनेछ । जसले यो क्षेत्रका ६ टोलीको चुनौतीलाई थप पेचिलो बनाएको छ । अर्को तरिकाले बुझ्ने हो भने साफ च्याम्पियनसिपको स्तर विगतको तुलनामा बढेको पनि मान्न सकिन्छ । फिफाको प्रतिबन्धमा परेका कारण दक्षिण एसियाकै टोली श्रीलंका यसपाली साफ च्याम्पियनसिपमा सहभागी हुने छैन ।

क्षेत्रीय फुटबल प्रतियोगिताहरुमा अन्य क्षेत्रका टोलीलाई बोलाउने चलन विश्व फुटबलले अंगाल्न थालेको धेरै भइसक्यो । यसअर्थमा साफ च्याम्पियनसिपले यसपाली कुवेत र लेबनानलाई निमन्त्रणा गर्नु र उनीहरुले त्यो स्वीकार्दै बेङलुरुको भ्रमण गर्नुलाई सकारात्मक मान्न सकिन्छ ।

तर यी दुई टोलीको आगमनबाट उपाधिमाथिको दाबेदारी थप जटिल बनेकोमा दक्षिण एसियाका सबै टोली जानकार छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बु यसपाली उपाधिमाथिको दाबेदारी थप चुनौतीपूर्ण बनेको बताउँछन् ।

राष्ट्रिय टोलीका अधिकांश खेलाडी विदेसिँदा नयाँ युवाहरुमा भर पर्नुपरेको अवस्थामा व्यस्त लिगबाट खेलाडी थाक्नु तथा साफ च्याम्पियनसिपकै लागि भनेर विशेष तयारी समेत गर्न नपाउँदा यसपाली नेपालको सम्भावना उसै पातलिइसकेको थियो । त्यसमाथि कुवेत र लेबनानजस्ता बलिया टोलीको आगमनका कारण चुनौती थपिएको किरणले बताएका छन् ।

‘तैपनि हामी उपाधिकै लक्ष्य बनाएर मैदान उत्रिनेछौं । मैदानमा हामी कसैलाई पनि धेरै बलियो र धेरै कमजोर सोच्दैनौं । आफूमाथि विश्वास राखेर आफ्नो तर्फबाट सतप्रतिसत दिने प्रयास गर्नेछौं,’ किरण भन्छन्, ‘तर यसपाली चुनौती पक्कै पनि थपिएको छ । प्रतियोगिताले नयाँ उचाई लिएको छ ।’

प्रतियोगिताको सबभन्दा सफल दक्षिण एसियाली महारथी भारतका कप्तान सुनील क्षेत्री पनि यसपालीबाट साफ च्याम्पियनसिपको स्तर माथि उठेको मान्छन् । भन्छन्, ‘यसपाली मध्यपूर्वका दुई बलिया टोलीको आगमनले साफ च्याम्पियनसिपको प्रतिस्पर्धा विगतको भन्दा रोचक हुनेछ । उपाधिमाथिको प्रतिस्पर्धा अझ रोचक हुनेछ । लेबनान र कुवेत आउने भएपछि अन्तर्राष्ट्रिय फुटबलमा साफ च्याम्पियनसिपको परिचय बेग्लै हुनेमा हामी आशावादी छौं ।’

१९९३ मा पाकिस्तानको लाहोरबाट सुरु भएको प्रतियोगिता भारतमा हुन लागेको यो चौथो पटक हो । यसअघि भारतले १९९९ मा गोवा, २०११ मा नयाँ दिल्ली तथा २०१५ मा केरेलामा साफ च्याम्पियनसिप आयोजना गरेको थियो ।

पहिलो संस्करणको आयोजक पाकिस्तानले त्यसपछि २००५ मा कराँचीमा छैटौं साफ च्याम्पियनसिप आयोजना गरेको थियो । श्रीलंकाले १९९५ र २००८ मा गरि दुई पटक प्रतियोगिता आयोजना गर्यो । २००८ को सातौं संस्करण श्रीलंकाको कोलम्बो र माल्दिभ्सको मालेले संयुक्त रुपमा आयोजना गरेका थिए । २००८ को सह आयोजक माल्दिभ्सले २०२१ मा सम्पन्न पछिल्लो संस्करण मालेमा एक्लै आयोजना गरेको थियो ।

यसैगरी बंगलादेशले २००३, २००९ र २०१८ मा गरि तीन पटक प्रतियोगिता ढाकामा आयोजना गरेको इतिहास छ भने नेपालले १९९७ र २०१३ मा गरि दुई पटक काठमाडौंमा साफ च्याम्पियनसिप गरेको थियो ।

दक्षिण एसियाली फुटबलमा सबभन्दा सफल टोली भारतले अहिलेसम्म सबभन्दा धेरै आठ पटक प्रतियोगिताको उपाधि जितेको छ । माल्दिभ्स प्रतियोगिताको दोस्रो सफल टोली हो । माल्दिभ्सले दुई पटक उपाधि जितेको इतिहास छ । बंगलादेश, श्रीलंका र अफगानिस्तानले एक/एक पटक साफ च्याम्पियनसिप जितेका छन् ।

अफगानिस्तानले २००३ देखि २०१५ सम्म खेलकुदमा दक्षिण एसियालाई प्रतिनिधित्व गर्ने मौका प्राप्त गर्दा साफ च्याम्पियनसिपका सात संस्करणमा सहभागिता जनाएको थियो । तालिबानी शासनको अन्त्यसँगै खेलकुदमाथिको प्रतिबन्ध हटेपछि २००३ मा दक्षिण एसियाले खेलकुदमा अफगानिस्तानलाई समावेश गरेको थियो । तर, २०१५ पछि भने अफगानिस्तानले माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ दक्षिण एसिया छोडेर मध्य एसियाबाट खेल्न थालेको छ ।

प्रतियोगितामा सधै उपाधिको मुख्य दाबेदारका रुपमा जाने गरे पनि नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । दुई वर्षअघि माल्दिभ्सको मालेमा फाइनल पुग्नु नै नेपालको साफ च्याम्पियनसिपमा अहिलेसम्मको सबभन्दा ठूलो उपलब्धि हो । त्यतिबेला नेपाल फाइनलमा भारतसँग ३-० को नतिजामा पराजित भएको थियो ।

साफ च्याम्पियनसिपको इतिहासमा कुल ४३ खेल खेलेको नेपालले १३ खेलमा जित हासिल गरेको छ । सात खेलमा बराबरी नतिजा निकालेको नेपाल २३ खेलमा पराजित भएको थियो । यसक्रममा नेपालले साफ च्याम्पियनसिपको इतिहासमा कुल ४९ गोल गर्दा ६३ गोल खाएको छ ।

नेपालले प्रतियोगितामा सबभन्दा धेरै भारत, माल्दिभ्स र बंगलादेशसँग समान ८ खेल खेलेको छ । त्यसमध्ये भारतसँग नेपालको नतिजा सबभन्दा कमजोर छ । भारतसँग खेलेका ८ मध्ये ७ खेलमा नेपालले हार भोगेको छ भने एउटा खेलमा जित हासिल गरेको छ । माल्दिभ्ससँग ८ खेलमा १ जित, २ बराबर र ५ हारको नतिजा निकालेको नेपालले बंगलादेशसँग ८ खेलमा ३ जित, १ बराबर र ४ हारको नतिजन निकालेको छ ।

यसैगरी पाकिस्तानसँग ७ खेल खेलेकोमा २ जित, २ हार र ३ बराबरी नतिजा निस्किँदा श्रीलंकासँग ६ खेलमा २ जित, १ बराबर र ३ हारको नतिजा निकालेको छ । भुटानसँग ३ खेलमा सतप्रतिसत जित हासिल गरेको नेपालले अफगानिस्तानसँग साफ च्याम्पियनसिपिमा ३ खेल खेल्दा एक जित तथा दुई हार भोगेको छ ।

अधिकांश मुख्य खेलाडीहरु विदेसिएको बेला कमजोर तयारीका भरमा बेङलुरुको भ्रमणमा निस्केको नेपालले बुधबार आगन्तुक टोली कुवेतसँग प्रतिस्पर्धा गर्दै साफ च्याम्पियनसिपको सुरुआत गर्नेछ ।