जितोस् त ‘अल्मुताइरी’ले नै

अहिले जे छ, अब्दुल्लाह अल्मुताइरीकै छ । यी फुटबल प्रशिक्षक हुन् कुवेती । फेरि उनलाई नेपाल पठाएको कतारले हो । तारतम्य कसरी मिलेको छ, हेरौं न । उनी आम नेपालीका घर-घरमा पनि पुगेका छन्, सामाजिक सञ्जालको माध्यमबाट । 

अहिले नेपालतिर सामाजिक सञ्जालमा ‘सबैभन्दा लोकप्रिय कोही छ’ भनेर सूची बनाउने हो भने पक्का छ, अल्मुताइरी अगाडि अगाडि हुनेछन्, अरू पछाडि पछाडि । हाम्रा सामान्य फुटबलप्रेमी त कतिसम्म भइसके भने उनीविरुद्ध केही पनि सुन्न चाहँदैनन् । 

काठमाडौंमै मात्र होइन, माल्दिभ्समै पनि उनी केही न केही गरेर छाइरहेका छन् । साफ च्याम्पियनसिप २०२१ का लागि उनी माल्दिभ्समा छन्, माल्दिभ्सको पनि बान्डोस टापुमा । मालेबाट धेरै टाढा छैन यो । खाली १० किलोमिटर मात्रै टाढा । तर, उनको हरदम नजर मालेको राष्ट्रिय रंगशालातिर छ, जहाँ साफ च्याम्पियनसिप चलिरहेको छ । प्रतियोगिता आफै रोमाञ्चक मोडमा छ । अनि अल्मुताइरी पनि के कम ? यही रोमाञ्चमा पौडी खेलिरहेका छन् । 

काठमाडौं, माले र बान्डोस टापु । तीनै स्थानतिर अल्मुताइरीबारे उडन्ते गफ सुन्न पाइन्छ । यो कति साँचो हो, कति झुट हो, भन्नै गाह्रो । जस्तो, एउटा गफ । कुनै समय यी अल्मुताइरी क्रिकेट पनि खेल्थे रे । तर राम्रा खेलाडी भने थिएनन् । कुवेतबाट जतिले क्रिकेट खेले आप्रवासीले खेले । टिम बनाउन त कुवेतकै एकाध खेलाडीको आवश्यकता हुन्थ्यो । यस्तोमा अग्ला हृष्टपुष्ट अल्मुताइरी पनि कुवेती टिममा परे । अझ उनीसम्मिलित टिमले नेपालविरुद्ध पनि कुनै समय खेलेको थियो । 

यस्तै यस्तै भन्छन् उनी । जेहोस् मज्जा छ यी कुरामा । त्यसपछि त उनी फुटबलका किरो भएहाले । एएफसीको प्रो लाइसेन्स कोर्स गर्न पनि भ्याए । एक वर्षदेखि उनी नेपालमा छन् भनौं न । उनी नेपाल आएका थिए, पुरुषको राष्ट्रिय टिम सम्हाल्न । खुरुखुरु यही काममात्र गरिरहे त सायद उनी अल्मुताइरी नै हुन्न थिए । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को एक समूहसँग भिडे पनि । यो भिडाइ सामाजिक सञ्चालमै थियो । त्यसबाट बाहिर मैदानमै पनि थियो । 

राजीनामा दिने घोषणा पनि गरे । तर घोषणा गरेजस्तो ठ्याक्कै चाँही गरेनन् । राजीनामा गरेर कुवेत फर्केको भए अहिलेको साफ च्याम्पियनसिप पक्कै त्यस्तो हुँदैनथ्यो । जस्तो अहिले छ । उनले राजीनामा त गरेनन्, उल्टै आफ्ना विरोधीलाई चुपचाप लगाइदिएका छन् । कम्तीमा तत्कालका लागि । 

अनि नेपाली राष्ट्रिय टिममा त उनी पूर्णतः छाएकै छन् । मानौं अब त लाग्छ, राष्ट्रिय टिम भनेकै अल्मुताइरी हुन्, अल्मुताइरी भनेकै राष्ट्रिय टिम । 

अल इन वान ‘अल्मुताइरी’ भइरहेका छन्, हाम्रा यी प्रशिक्षक । कोही खेलाडीले गोल ग¥यो र राम्रो खेल्यो भने जस जति खाने अल्मुताइरी भइरहेका छन् । एक प्रकारले भन्दा कम्तीमा राष्ट्रिय टिम उनको बलियो पकडमा छ । उनी जे चाहन्छन्, जस्तो चाहन्छन्, त्यहीमात्र हुन्छ । राष्ट्रिय टिममा आबद्ध अरू भने अल्मुताइरी रिसाउलान् कि भनेर डराइ-डराइ हिँडछन् । उनलाई रिझाउनमै बाँकीको पूरा समय बित्ने गर्छ । त्यसमाथि नेपालले यसपल्टको साफ च्याम्पियनसिपका सुरुआती दुई खेल जितेर धूम मच्चाइरहेको छ । 

गोलमाथि गोल निस्किरहेको छ । अल्मुताइरीले ‘आक्रमण’ भन्नुपर्छ, उनका ‘खेलाडी सेना’ विपक्षीतिर धावा बोलिहाल्छन् । हो न हो नेपाल प्रतियोगिताको फाइनल पुगे जस्तो लाग्छ । तर अल्मुताइरीको भनाइकै आशय बुझ्दा फेरि लाग्छ, दिल्ली अझै टाढा छ । वा भनौं, फाइनल अझै टाढा छ । अबका साता दिनपछि सबथोक निर्णय हुनेछ । अल्मुताइरी को हुन्, के हुन् भनेर । यस्तोमा अबको साता दिन नेपाली फुटबलका लागि मात्र होइन, अल्मुताइरीकै लागि निकै निर्णायक साबित हुनसक्ने छ । 

हुनसक्छ, उनी नेपाली फुटबलकै सबैभन्दा सफल व्यक्ति हुनेछन् । भएनन् भने चुपचाप मालेबाट कुवेत लाग्नेछन् । फेरि उही कथा दोहोरिने छ, साफ च्याम्पियनसिपमा नेपालले राम्रो त खेल्यो तर, केही जित्न सकेन । जुन हामीले सुन्दै आएका छौं । भोग्दै आएका छौं । हायलकायल छौं । बेखुसी छौं । लाज पनि छ । हामी चाहन्छौं, यस्तो हुँदै नहोस्, कदापि पनि नहोस् । नेपालले साफ च्याम्पिनसिप जितोस् र हामी सबैले भन्न पाऔं, अल्मुताइरी त क्या हो क्या ? फेरि पनि जितोस् त ‘अल्मुताइरी’ ले नै ।