मंसिर ६, २०८१ बिहीबार | १५:१५:५१
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन

र्‍याफ्टिङको रफ्तार

काठमाडौं, (खेलाडी)- त्रिशूली नदीले धेरैको ज्यान लियो होला, तर कतिको जीवनलाई स्वर्णिम पनि बनाइदिएको छ ।

निमा गुरुङ त्रिशूली नदीकै पानीमा खेलेर हुर्केबढे । फिस्लिङको नदी किनारामै घर भएका कारण निमाका लागि पौडी खेल्नु नौलो थिएन । विद्यालय जाने बहाना घरबाट निस्कन्थे । अनि उनी घण्टौं त्रिशूली नदीमा पौडी खेलर बिताउँथे । त्रिशूली नदीमा विदेशी पर्यटकले र्‍याफ्टिङ गरेको देख्दा उनलाई पनि र्‍याफ्टिङ सिक्ने तीव्र इच्छा जाग्यो । त्यसपछि उनले र्‍याफ्टिङतर्फ आफ्नो ध्यान मोडे । सिक्ने त भने तर त्यसका लागि आवश्यक सामग्रीको कहाँबाट जोहो गर्ने उनलाई केही ज्ञान भएन ।

‘त्रिशूलीमा पौडी खेल्न जान्छु भन्दा आमाबुबाले खोलाले मान्छे खान्छ, त्यहाँ तर्साउँछ भनेर गाली गर्नुहुन्थ्यो,’ अहिले राष्ट्रिय टोलीका प्रशिक्षक भइसकेका ४६ वर्षीय निमा सम्झन्छन्, ‘पौडी खेल्दा नै गाली खाने भएकाले कसरी र्‍याफ्टिङ र कायकिङ सिक्छु भनेर भन्नु ।’ त्यसमाथि र्‍याफ्टिङ खेलका लागि आवश्यक बोट, हेल्मेट, लाइफ ज्याकेट, प्याडललगायतका सामग्री किन्न उनका लागि सम्भव थिएन । 

र्‍याफ्टिङ रमाइलोका लागि मात्र खेलिन्छ र सिकियो भने विदेशमा मनग्य पैसा कमाइन्छ भन्ने सुनेको थिएँ । तर पछि मलाई थाहा भयो, यो त प्रतिस्पर्धात्मक खेल हो भनेर 

त्यसपछि साथीभाइ मिलेर विदेशी पर्यटकले खोला किनारामा फ्याँकेका सामग्री बटुलेर र्‍याफ्टिङमा लागेको तीतो यथार्थता उनले सुनाए । उनले भने, ‘मलाई र्‍याफ्टिङ रमाइलोका लागि मात्र खेलिन्छ र सिकियो भने विदेशमा मनग्य पैसा कमाइन्छ भन्ने सुनेको थिएँ । तर पछि मलाई थाहा भयो, यो त प्रतिस्पर्धात्मक खेल हो र विभिन्न प्रतियोगिता खेल्न पाइन्छ भनेर ।’

त्यसपछि त्रिशूली नदीका छाललाई नै आफ्नो सपना बनाउने निधो गरेको निमाले सुनाए । 
फिस्लिङमा हुने केही राष्ट्रिय प्रतियोगिताहरूमा उनले लगातार उत्कृष्ट प्रदर्शन गरे ।

त्यसपछि निमाको विदेश यात्राको ढोका खुल्यो । नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका तत्कालीन अध्यक्ष आरपी पन्तको सहयोगमा सन् १९९८ मा फ्रान्समा भएको प्रतियोगितामा निमाले राष्ट्रको प्रतिनिधित्व गर्ने अवसर पाए । १६ पटकका राष्ट्रिय च्याम्पियन पन्तले सन् २०१४ पछि भने व्यावसायिक खेल जीवन ट्ंग्याउँदै प्रशिक्षण यात्रा सुरु गरेका थिए । हाल उनी राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन्छन् ।

‘हामीले खेल्दा न प्रशिक्षक हुन्थे, न त प्रायोजक अनि आवश्यक खेल सामग्री पाउनु त टाढाको कुरा हुन्थ्यो,’ निमाले भने, ‘मैले यस खेलमा लाग्दा घरमा धेरै झुटो बोल्नुपरेको थियो । तर अहिले अवस्था फरक छ । त्रिशूलीका नदी किनाराका अधिकांश युवाका लागि र्‍याफ्टिङ खेलकुदका साथै एउटा राम्रो व्यवसाय बनेको छ । युवाहरू साहसिक खेलका रूपमा रहेको र्‍याफ्टिङमा जाने गर्दछन् । यसबाट राम्रो आम्दानी गर्न सकिन्छ ।’ 

तर सरकारले सम्भावना बोकेको भए पनि यस खेललाई खासै प्राथमिकतामा नराखेकामा भने निमाको गुनासो छ ।

उनले फ्रान्स, जर्मनी, दक्षिण कोरियालगायत विभिन्न राष्ट्रमा खेलेका छन् । ती राष्ट्रमा मानव निर्मित नदीहरूमा प्रतियोगिता खेलाइन्छ । तर नेपालमा त धेरै खोलानालाहरू छन्, जसले र्‍याफ्टिङ खेलका लागि आन्तरिक र बाह्य पर्यटकलाई सहजै आकर्षित गर्न सकिन्छ । तर सरकारले यस्ता साहसिक खेलप्रति चासो देखाएको पाइँदैन । नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघले आफ्नै पहलमा गर्ने सीमित प्रतियोगिताहरू मात्र आयोजना हुन्छन् । धेरैभन्दा धेरै प्रतियोगिता हुने र उचित प्राथमिकता दिइने हो भने नेपालले यो खेलले धेरै उचाइ छुनसक्छ ।

सुरज गुरुङ पनि फिस्लिङस्थित त्रिशूली नदी किनारामै हुर्किए । उनका लागि पनि नदीमा पौडनु कुनै नौलो थिएन । उनलाई पनि र्‍याफ्टिङमा लाग्न कठिन भएन । आफ्ना दाइ र मामाहरू यो खेलमा लागेका कारण सुरजलाई र्‍याफ्टिङमा लाग्छु भन्दा परिवारले सहमति नदिने कुरै भएन ।

‘हाम्रोमा युवाहरू र्‍याफ्टिङ सिक्ने र यही व्यवसायका लागि विदेश जाने चलन चल्न थालिसकेको थियो, त्यसैले पनि यसमा धेरै युवाको आकर्षण रह्यो,’ सुरजले भने, ‘मैले पनि खेलकुदका साथै यसलाई व्यवसाय बनाउछु भनेर लागें ।’

उनले सन् २०११ बाट र्‍याफ्टिङ प्रशिक्षण लिन थाले । मैले सन् २०१३ देखि २०१५ सम्म भारतमा पनि र्‍याफ्टिङमै काम गरे । नेपालमा हुने राष्ट्रिय प्रतियोगिताका क्रममा भने आफूले नेपाल फर्केर सहभागिता जनाउन थालेको बताए । सन् २०१६ पछि भने उनले ३ वर्ष आयरल्यान्डमा बिताए । र्‍याफ्टिङ ट्रेनिङको रूपमा काम गर्न थाले । त्यसबाट राम्रो आम्दानी गर्न सकिने उनले बुझेका थिए । 

सन् २०१९ मा भएको राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपाल र्‍याफ्ट एन्ड कायक क्लब च्याम्पियनको हैसियतमा सन् २०१९ मै अस्ट्रेलियामा भएको विश्वकपमा सहभागिता जनाउन गएको थियो । जसको कप्तानी सुरजले गरेका थिए ।

‘नेपालमा साहसिक खेलको धेरै सम्भावना छ, र्‍याफ्टिङ पनि साहसिक खेलकुदभित्रै पर्छ,’ सुरजले भने, ‘यो खेलबाट खेलाडीले सहजै जीविकोपार्जन गर्न सक्छन् । खेलसँगै यो एउटा व्यवसाय पनि हो । त्यसैले सरकारले यस खेलप्रति चासो देखाउन आवश्यक छ ।’

सरकारले उच्च प्राथमिकतामा राख्ने हो भने र्‍याफ्टिङ साहसिक खेलको प्रवर्धनमा सारथि बन्न सक्छ

नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका कार्यवाहक अध्यक्ष राजीव श्रेष्ठ पनि सरकारले यस खेललाई प्राथमिकतामा राखेमा धेरै सफलता हात पार्ने सम्भावना रहेको बताउँछन् ।

‘हामीले सरकारसँग यस खेलको विकासका लागि प्राथमिकता दिन आग्रह गर्दै आएका छौं । संघले पनि विभिन्न समयमा र प्रतियोगिताहरू आयोजाना गर्दै आएको छ,’ श्रेष्ठले भने, ‘र्‍याफ्टिङमा युवाको आकर्षण बढ्दो छ । सरकारले उच्च प्राथमिकतामा राख्ने हो भने र्‍याफ्टिङ साहसिक खेलको प्रवर्धनमा सारथि बन्न सक्छ ।’