मंसिर ६, २०८१ बिहीबार | १५:१९:४५
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन पारा तेक्वान्दो

यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

काठमाडौं । ग्रीष्मकालीन पारा ओलम्पिकको सुरुआत सन् १९६० बाट भएको इतिहास छ । इटालीमा भएको पहिलो संस्करणमा ८ खेलका ५७ विधा समावेश गरिएको थियो । २३ राष्ट्रका सहभागी पहिलो पारा ओलम्पिकमा आर्चरी, एथलेटिक्स, डार्टचरी, स्नुकर, पौडी, टेबलटेनिस, ह्विलचेयर बास्केटबल र ह्विलचेयर फेन्सिङ खेलको प्रतिस्पर्धा भएको पाइन्छ ।

विभिन्न आरोहअवरोह पार गर्दै ग्रीष्मकालीन पारा ओलम्पिकको १६औं संस्करणमा आइपुग्दा खेल संख्या बढेर २२ पुगिसकेको छ अनि सहभागी टोलीको संख्या १७० । पेरिसमा सम्पन्न पारा ओलम्पिकमा २२ खेलका ५४९ स्पर्धामा ४ हजार ४ सय ६३ खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

यस पटक नेपालबाट तीन खेलाडीले सहभागिता जनाएका थिए । तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता तथा पौडीका भीमबहादुर कुमालले नेपालको प्रतिनिधित्व गरेका थिए । नेपालले सन् २००४ मा ग्रिसको एथेन्स पारा ओलम्पिकबाट सहभागिता जनाउन थालेको हो । ६ संस्करणमा नेपालबाट ९ पारा खेलाडीले नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

पारा ओलम्पिकमा नेपाली खेलाडी

सन् २००४, एथेन्स (ग्रिस)सन् २००४ को एथेन्स पारा ओलम्पिकमा नेपालबाट एकमात्र खेलाडीको सहभागिता थियो । निर्मला ज्ञावलीले एथलेटिक्समा एफ-१२ विधा अन्तर्गत महिला सटपुटमा प्रतिस्पर्धा गरेकी थिइन् । तर, उनको प्रदर्शन सहभागितामै सीमित बनेको थियो । सन् २००८, बेइजिङ (चीन)

सन् २००८ को बेइजिङ पारा ओलम्पिकमा पनि नेपालबाट एकमात्र खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जितबहादुर खड्काले एथलेटिक्समा टी-४६ विधाअन्तर्गत पुरुष १०० मिटर दौडमा भाग लिएका थिए । १४.२३ सेकेन्डको समय निकालेका जितबहादुर आफ्नो हिटको छैटौं स्थानमा रहेका थिए । २०७२ सालको भूकम्पमा परेर उनको निधन भएको थियो ।

सन् २०१२, लन्डन (बेलायत)

बेलायतमा भएका सन् २०१२ को लन्डन पारा ओलम्पिकमा नेपालका दुई खेलाडीले सहभागिता जनाएका थिए । विक्रमबहादुर रानाले एथलेटिक्समा टी- ११ विधाअन्तर्गत पुरुष १०० र २०० मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए । तर, उनी दुवै स्पर्धामा चौथो स्थानमा रहँदै हिट चरणमै रोकिएका थिए । विक्रमले १०० मिटर दौडमा १२.८१ सेकेन्ड र २०० मिटरमा २६.९४ सेकेन्डको समय निकालेका थिए ।

मैंया विशुंखेले एथलेटिक्समै टी-४६ विधाअन्तर्गत महिला १०० र २०० मिटर दौडमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी पनि दुवै स्पर्धामा छैटौं स्थानमा रहँदै हिट चरणभन्दा अगाडि बढ्न सकिनन् । मैंयाले १०० मिटर दौडमा १६.४८ र २०० मिटरमा ३६.३२ सेकेन्डको समय निकालेकी थिइन् ।

सन् २०१६, रियो दी जेनेरियो (ब्राजिल)

रियो पारा ओलम्पिकमा सहभागी विक्रमबहादुर राना र लक्ष्मी कुँवर । 

रियो दी जेनेरियो पारा ओलम्पिक २०१६ मा दुई नेपाली खेलाडी सहभागिता जनाएका थिए । लगातार दोस्रो पटक ओलम्पिकमा सहभागिता जनाएका विक्रमबहादुर रानाले एथलेटिक्समा टी-११ विधाअन्तर्गत पुरुष १०० मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए । उनले १३.०२ सेकेन्डको समयसहित आफ्नो हिटमा चौथो स्थानमा रहँदै यात्रा टुंग्याएका थिए । 

पौडीवाज लक्ष्मी कुँवरले पौडीको एस-६ विधाअन्तर्गत महिला १०० मिटर फ्रिस्टायलमा भाग लिएकी थिइन् । ३ मिनेट ११.७६ सेकेन्डबाट उनले १७ औं स्थानमा रहेर हिट चरणबाटै यात्रा टुग्याएकी थिइन् ।  

सन् २०२०, टोकियो (जापान)कोरोना महामारीका कारण एक वर्षपछि टोकियोमा सम्पन्न पारा ओलम्पिकमा नेपालबाट एकमात्र खेलाडीको सहभागिता थियो । तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले के-४४ विधाअन्तर्गत महिला ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।

पहिलो खेलमा बेलायती खेलाडी बेथ मुनरोसँग २१-८ ले पराजित भए पनि पलेशाले रिपिचेजमा दुई खेल जितेकी थिइन् । अमेरिकी ब्रायना सालिनारोलाई १०-० र सर्बियाकी मारिजा मिचेभलाई २३-१५ ले पराजित गर्दै उनी कांस्य पदक नजिक पुगेकी थिइन् 

 कांस्य पदक भिडन्तमा भने पलेशा चिनियाँ खेलाडी ली युजीसँग १२-० ले पराजित भइन् । कांस्य जित्न नसके पनि पलेशा ओलम्पिकमा दुई बाउट जित्ने पहिलो खेलाडी बनेकी थिइन् ।

सन् २०२४, पेरिस (फ्रान्स)

पेरिस पारा ओलम्पिक नेपालका लागि विशेष रह्यो । किनकि यसपटक नेपालका खेलाडीले सहभागितामा मात्र सीमित राखेनन् पदक तालिकामा आफ्नो नाम लेखाएर फर्केका छन् । नेपालका लागि तेक्वान्दोकी पलेशा गोवर्धनले के-४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा नेपाललाई पहिलो कांस्य पदक दिलाइन् । 

पेरिसस्थित ग्रान्ड प्यालेसमा भएको रिपिचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५-८ ले पराजित गरी नेपाललाई ऐतिहासिक सफलता दिलाएकी थिइन् ।

कांस्य पदकका साथ पलेशा गोवर्धन, तस्विरः प्रशिक्षक कविराज लामा नेगीको फेसबुकबाट । 

रिपिचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २-१ ले हराएकी थिइन् । रिपिचेजअघि पहिलो चरणमा भेनुजुएलाकी भलेरिया मोराल्सलाई एकपक्षीय खेलमा ३१-० ले पराजित गर्दै क्वाटरफाइनल पुगेकी पलेशा शीर्ष वरीयताकी ब्राजिली खेलाडी सिल्भाना फर्नान्डेजसँग ८-१० ले हारेपछि रिपिचेजमा पुगेकी थिइन् ।

तेक्वादोका भरतसिंह महता र पौडीका भीमबहादुर कुमालले भने पहिलो खेलको अनुभवमात्र बटुल्न पाए । के-४४ विधाअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समूहमा भरत जापानी खेलाडी मित्सुया तानाकासँग १९-३ ले पराजित भएर पेरिस यात्रा टुंग्याए । 

यता पौडीको एस ९ विधाअन्तर्गत पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गरेका भीमले ३५.०८ सेकेन्डको समय निकाले । हिट चरणमा उनी १९औं स्थानमा रहेका थिए ।