सहिद स्मारक लिग

‘निर्विवाद’ रेफ्री लव

फुटबलमा रेफ्रीको भूमिकालाई ‘थ्याङ्क्स लेस जब’ भनिन्छ । अर्थात रेफ्रीको भूमिकामा रहँदा धन्यवाद कसैगरी पाइन्न । तर, दिवंगत लव खत्री यसको अपवादका रूपमा रहे । मैदानमा रातो कार्ड खल्तीबाट निकाल्दा पनि अनुहारमा झल्किने मीठो मुस्कानका कारण उनको निर्णयप्रति विवाद सिर्जना गर्न खोज्ने नगन्य भए ।

रेफ्री लव अहिले हामीमाझ छैनन् । असोज १८ गते सोमबार उनको ५० वर्षको अल्पायुमै निधन भयो । बिहान नुधाइधुवाइ सकेपछि आफ्नो कोठामा लडेको अवस्थामा पाइएका उनलाई तत्काल मेडिसिटी अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले नेपाली फुटबलका अनमोल रत्नको जीवनयात्रा लम्ब्याउन सकेनन् । 

फुटबल र लवबीचको ‘लभ स्टोरी’ सानैदेखि सुरु भयो । २०४६ सालबाट व्यावसायिक फुटबलमा छिरेका उनले खेलाडीको रूपमा भने खासै चर्चा पाएनन् । न त राष्ट्रिय टोलीबाट खेल्ने उनको सपना नै पूरा हुन सक्यो ।

जावलाखेल, थ्री स्टार तथा देशबन्धु क्लबबाट व्यावसायिक फुटबल खेलेका लवले ०५५ सालमा फुटबलबाट बिदा लिए । तर उनले फुटबललाई बिर्सन भने सकेनन् ।

फुटबलबाट बिदा भएको दुई वर्षपछि लव फेरि मैदान फर्किए । पहिलेभन्दा फरक तरिका अर्थात रेफ्रीको भूमिकामा मैदानमा देखिए ।

लव ०५७ सालमा रेफ्रीको रूपमा पुनः मैदान प्रवेश गरे । उनले सुरुमा ‘सी’ डिभिजन लिग खेलाए । त्यसपछि उनको करियरले फरक पहिचानको बाटो लियो । खेलाडीमा औसत रहेका लवको रेफ्री करियर भने निकै उचाइमा रह्यो ।

पहिले बल लिएर दौडने लव अब बलको पछि दौडन लागे । यसले उनलाई कहिल्यै हतास बनाएन । न त उनको निर्णयका कारण कुनै खेलाडी निराश बन्नुपर्यो ।

खेलाडी र रेफ्रीको रूपमा लगभग तीन दशक मैदानमा दौडिएका लवले निरन्तर १८ वर्ष रेफ्रीको भूमिका निर्वाह गरे । यसक्रममा देखाएका पहेँलो र रातो कार्डको गन्ती छैन ।

राष्ट्रिय रेफ्रीका रूपमा मैदान दौडिएको सात वर्षपछि ०६५ सालमा उनी फिफा रेफ्री बने ।

फिफा रेफ्री भएपछि लवले पहिलो पटक पोखरामा आहा-रारा गोल्डकपको उद्घाटन खेल खेलाए । रोचक संयोग त के भने फिफा रेफ्री भएपछि पहिलो उद्घाटन खेल खेलाएका उनले करियरको अन्तिम खेलका रूपमा फाल्गुनन्द गोल्डकपको फाइनल खेलाए ।

२०७४ साल पुस १६ गते पाँचथरमा भएको नवौँ फाल्गुनन्द गोल्डकपको फाइनलबाट ह्विसिल, घडी तथा कार्ड र कलम बिसाए ।

लवको रेफ्री करियरमा कहिल्यै विवाद भएन । लवले खेलाएका खेलमा सय प्रतिशत निर्णय नै विवादरहित त नहोला तर ९५ प्रतिशत खेल निर्विवाद रह्यो ।

निर्विवादको अर्थ उनले खेलाडीलाई देखाएका कार्डले रेफ्री र खेलाडीबीच द्वन्द्व सिर्जना गरेन । स्पष्ट भन्नुपर्दा उनमा सधैं सही समयमा सही निर्णय लिनसक्ने गजबको खुबी थियो । उनले गरेका निर्णयप्रति खेलाडीहरू बिरलै विवादमा उत्रन्थे ।

निकै हक्की स्वभावका थिए लव । हक्की स्वभावको भए पनि उनले दुश्मनी भने कमाएनन् । रमाइलो पारामा पनि गहकिलो कुरा राख्न सक्ने निकै अचम्मको खुबी थियो उनमा । लवले रेफ्री करियरमा कुनै पनि क्लब तथा खेलाडीले नराम्रो हुने वातावरण बन्न दिएनन् ।

लवको रेफ्री करियर विवादरहित बने पनि संन्यास भने करियरजस्तो सहज बन्न सकेन । ४६ वर्षको उमेरमा नै एन्फाले उनको रेफ्री म्याद नवीकरण गरेन । तर यसलाई पनि सकारात्मक रूपमा लिँदै लवले त्यसबेला ‘नयाँ पुस्तालाई मौका दिनुपर्ने’ बताएका थिए ।

लवसँगै ललितपुरमा एकसाथ हुर्किएका मेघराज केसी रेफ्रीजस्तो विवादित पेसामा यतिको सम्मान र सफलता पाउने अर्को कोही नदेखेको बताउँछन् ।

‘ऊ मेरो बाल्यकालदेखिको साथी हो । हामीले एकसाथ २०५१ सालतिर ललितपुर जिल्लाको टिमबाट फुटबल पनि खेल्यौं । जावलाखेल युथ क्लबबाट एक/दुई वर्ष सँगै ‘ए’ डिभिजन लिग खेल्यौं । त्यसपछि लवले थ्री स्टारबाट केही वर्ष खेल्यो । पछि हाम्रो बाटो मोडियो,’ नेपाली फुटबलमा प्रभावशाली प्रशिक्षकको छवि बनाएका केसीले भने, ‘लव रेफ्रीतिर लाग्यो, म प्रशिक्षणतिर लागें । खेलाडी जीवनमा लव एक मध्यम खेलाडी भए पनि रेफ्रीमा आएपछि उसले आफ्नो अलग पहिचान बनाए । नेपाली रेफ्रीजगतमा लवले निकै फरक र सम्मानित स्थान बनाएका थिए ।’

प्रशिक्षक केसीको विचारमा नेपाली फुटबलमा रेफ्री पनि एक पेसा हो र यसबाट पनि सम्मानित हुन सकिन्छ भन्ने वातावरण सिर्जना गर्ने सम्पूर्ण श्रेय लवलाई नै जान्छ । त्यसअघिसम्म रेफ्रीलाई एउटा पक्षको भनेर निकै विवादमा तानिने गरेकामा लवले यो पेसालाई नै नयाँ उचाइ दिएको उनी सुनाउँछन् ।

‘लवबाहेक कोही मान्छेले रेफ्रीजस्तो विवादित पेसामा यतिको सम्मान र सफलता पाएको, देखेको र सुनेको छैन,’ केसीले थपे ।

केसीका अनुसार लवले खेलाडीहरूको शैक्षिक स्तर उकास्न विभिन्न स्कुल, कलेजहरूमा छात्रवृद्धिको समेत व्यवस्था गरिदिएका थिए ।

भन्छन्, ‘लवले नेपाली खेलाडीहरूको शैक्षिक स्तर उकास्न धेरै खेलाडीहरूलाई विभिन्न स्कुल, कलेजमा छात्रवृद्धिको व्यवस्था गरिदिएको थियो । नेपाली फुटबल खेलकुद क्षेत्रका निकै कम मात्रै यसबारे जानकार छन् । लवको असामयिक निधनले नेपाली खेलक्षेत्रले निकै राम्रो व्यक्तित्व गुमायो । तर उसले रेफ्री क्षेत्रमा बनाएको एक विवादरहित छवि जो थियो त्यो सदा स्मरणमा रहनेछ ।’

रेफ्रीको करियरबाट संन्यास लिइसके पनि लवको उपस्थितिले नेपाली फुटबललाई अहिले पनि सकारात्मक प्रेरणा दिनसक्ने अवस्था असोज १८ को त्यो निर्दयी दिनले खोसेको केसी बताउँछन् ।

‘लव भइदिएको भए केही सकारात्मक प्रभाव पथ्र्यो कि भन्ने हो । त्यसमा पनि उसले अझै रेफ्री गरिरहेको भए लिगमा अहिले रेफ्रीको निर्णयलाई लिएर जति प्रश्नहरू उठिरहेको छ, त्यस्तो हुँदैनथ्यो वा निकै कम हुन्थ्यो कि जस्तो लाग्छ,’ केसीले थपे ।

हाल ‘ए’ डिभिजन लिगमा रेफ्रीको भूमिका निर्वाह गरिरहेका फिफा रेफ्री प्रकाशनाथ श्रेष्ठ आफ्नो प्रेरणास्रोत लव खत्री नै भएको बताउँछन् ।

‘उहाँ मेरो एकदमै मिल्ने दाइ हुनुहुन्थ्यो । आज म फिफा रेफ्री छु, त्यो लव दाइकै कारण हो । तिमी रेफ्री बन्नुपर्छ भनेर मलाई मोटिभेट गर्ने नै लव दाइ हो,’ प्रकाशनाथ भावुक भए, ‘उहाँ र मैले एकसाथ सन् २००० बाट रेफ्री गर्न सुरु गरे पनि मैले २०१७ मा मात्रै फिफा रेफ्रीको ब्याच पाएँ । नेपाली रेफ्री क्षेत्रका सबैभन्दा प्रिय र आदरणीय व्यक्तित्व आज हामीमाझ हुनुहुन्न भन्ने सत्य पत्याउन मन लागिरहेको छैन ।’

‘लव दाइ अहिलेसम्म हामीमाझ रहनुभएको भए यो लिगमा रेफ्री एसेसरको रूपमा रहनुहुन्थ्यो सायद । उहाँको उपस्थितिले हामीलाई सधैं प्रेरित र दीक्षित गरिरहन्थ्यो । हामीले एउटा जिम्मेवार अभिभावक गुमाएका छौं,’ प्रकाशनाथले भने ।