पुस १८, २०८२ शनिबार | ०१:४७:३७
खेलकुदमा समर्पित जीवनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ चेल्सी र मारेस्का छुट्टिनुको अर्थ समर्थकको खिन्नताबीच उपाधि भिड्न्तमा हेल्प नेपाल र आर्मी राष्ट्रिय लिगलाई खेलाडी पाउनै सकस अपेक्षित उपाधि भिडन्तमा न्यु डायमण्ड र नेपाल पुलिस एनभिए च्याम्पियनसिपः रुकुमविरुद्ध रोमाञ्चक जित हासिल गर्दै आर्मी फाइनलमा अञ्जिलाको सेथुको तेस्रो जित पुलिसलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा एन्फाविरुद्ध राखेपमा पूर्व अध्यक्ष थापाले ज्ञापनपत्र बुझाउने एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा खेलकुदमा समर्पित जीवनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ चेल्सी र मारेस्का छुट्टिनुको अर्थ समर्थकको खिन्नताबीच उपाधि भिड्न्तमा हेल्प नेपाल र आर्मी राष्ट्रिय लिगलाई खेलाडी पाउनै सकस अपेक्षित उपाधि भिडन्तमा न्यु डायमण्ड र नेपाल पुलिस एनभिए च्याम्पियनसिपः रुकुमविरुद्ध रोमाञ्चक जित हासिल गर्दै आर्मी फाइनलमा अञ्जिलाको सेथुको तेस्रो जित पुलिसलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा एन्फाविरुद्ध राखेपमा पूर्व अध्यक्ष थापाले ज्ञापनपत्र बुझाउने एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा
शनिबारको दिन

राष्ट्रिय लिगलाई खेलाडी पाउनै सकस

काठमाडौं । करिब तीन वर्षपछि नेपालमा घरेलु फुटबल फर्किँदैछ । पुस २५ गते हुने भनिएको एन्फा राष्ट्रिय लिग आउन अब मात्र ६ दिनको समय बाँकी छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग होम एण्ड अवे स्वरुपमा गर्ने, एउटै मैदानमा गर्ने र राष्ट्रिय लिग गर्ने जस्ता विभिन्न विकल्पमाथि पटकपटक विवादास्पद छलफल तथा आन्दोलनहरुपछि एन्फाले दुई महिनाअघि क्लबहरुको सहमतिमा पुस अन्तिम साता राष्ट्रिय लिग गर्ने निर्णय गरेको थियो ।

शीर्ष डिभिजन लिगको ‘प्रि–सिजन’का रुपमा हेरिएको राष्ट्रिय लिग दुई महिनापछि हुने भएपछि सहभागी क्लबहरु तुरुन्तै आवश्यक तयारीमा जुटिहाल्ने अनुमान गरिएको थियो । तर, त्यस्तो भएन ।

राष्ट्रिय लिगमा जिल्ला र प्रदेश च्याम्पियन हुँदै आएका टिमबीचको प्रतिस्पर्धा एन्फा प्रेसिडेन्ट्स लिगका शीर्ष ४ तथा अघिल्लो शीर्ष डिभिजन लिगका शीर्ष ६ टोली गरि १० टिमले मात्र खेल्न पाउने प्रावधान थियो ।

तर, खेलाडीहरुले खेल्न पाउनुपर्छ भन्ने मागलाई सम्बोधन गरियो । त्यसपछि एन्फा र क्लबहरुको सहमतीपछि राष्ट्रिय लिगका लागि छनोट नै नभएका बाँकी ‘ए’ डिभिजन लिगका टिमले पनि खेल्न पाउने भए । एन्फाले टिम दर्ता फारम खुला गर्यो । हिमालयन शेर्पाबाहेक सबैले टिम दर्ता गरे । जसअनुरुप प्रेसिडेन्ट लिगका शीर्ष चारगरि १७ टिमको सहभागितामा राष्ट्रिय लिग आयोजना हुँदैछ ।

शीर्ष डिभिजन लिग नभएको ९ सय दिनभन्दा बढी भइसक्दा, राष्ट्रिय लिगले घरेलु फुटबलमा रौनक ल्याउने अनुमान गरिएको थियो । प्रतियोगिता नजिकिँदै गर्दा फुटबल फर्किन लागेको चर्चा चुलिने विश्वास गरिएको थियो । तर, प्रतियोगिता सुरु हुन एक हप्ताभन्दा कम समय बाँकी रहँदा यसको कुनै सुरसार देखिएको छैन ।

बिहीबारसम्म प्रतियोगिता तोकिएकै मितिमा हुने कुरामा ठूलो शंका थियो । तर, एन्फाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रतियोगिता आउन अब ८ दिन समय बाँकी रहेको तस्वीर पोष्ट गर्यो । जसले गर्दा फुटबलका सरोकारवालाहरुमा राष्ट्रिय लिग साँचिक्कै सुरु हुने विश्वास जगाइदिएको छ ।

यद्यपि क्लबहरुले तोकिएकै समयमा तयारी खर्च पनि पाएका थिए । एन्फाले क्लबहरुलाई तयारीस्वरुप १३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइसकेको छ । यसले राष्ट्रिय लिग हुनेमा थप बल दिएको छ ।

एन्फा राष्ट्रिय लिग आयोजनाका लागि तयार छ । तर, अधिकांश क्लबहरु नयाँ मिति गुहारिरहेका छन् । उनीहरु चाहन्छन्, लिग कम्तिमा एक हप्ता पर ढकेलियोस् !

क्लबहरुलाई अहिले टिम तयार पार्न गाह्रो भइरहेको छ । भरपर्दा खेलाडी भित्र्याउन सकस भइरहेको छ । खास भन्ने हो भने नेपालमा राष्ट्रिय लिग खेल्ने स्तरको खेलाडी नै छैनन् ।

पछिल्लो तीन महिना मात्र शीर्ष स्तरका करिब एक दर्जनभन्दा बढी खेलाडी सुनौलो भविष्यको खोजीमा विदेश पलायन भए ।

गत वर्षको अगस्तमा त्रिभुवन आर्मी क्लबले जमसेदपुरमा आफ्नो विभागको प्रतिनिधित्व गरेको थियो । घरेलु फुटबलका सफल प्रशिक्षक मेघराज केसीले विभिन्न क्लबबाट उदीयमान खेलाडीहरु समेट्दै बलियो टोली तयार पारेका थिए । उक्त टोलीबाट आधा दर्जन खेलाडी विदेश पलायन भए ।

गोलकिपर समित श्रेष्ठ, रक्षक आयुष तिम्सिना, मिडफिल्डरहरु रिपु भुलान, अनिल बोम्जन लामा, फत्तेमान घले, निरज चौधरीलगायतले अस्ट्रेलियालाई आफ्नो गन्तव्य बनाए । त्यस्तै राष्ट्रिय उमेर समूहमा ‘क्याप्टेन आर्मब्यान्ड’ लगाएका जय गुरुङ र जियारथ सेखसँगै अश्विन घोरासैनीले पनि अस्ट्रेलिया रोजे । यी सबै घरेलु फुटबलका नाम कहलिएका युवा खेलाडी हुन् ।

शीर्ष स्तरका एक सय माथि खेलाडीहरु यसरी विदेश पलायन भइदिँदा क्लबहरुलाई घाटा पुगेको छ । पछिल्लो वर्ष घरेलु लिगको सुनिश्चिता नहुँदा शीर्ष डिभिजन क्लबहरु मोफसलका प्रतियोगिताहरुमा व्यस्त भए । नाम चलेका खेलाडीहरुको बाहुल्यमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले धेरै जसो प्रतियोगिताहरुमा आफ्नो पकड जमायो । तर, राष्ट्रिय लिगका लागि भने टोलीले खर्च गर्न चाहेको देखिएन ।

राष्ट्रिय लिगका लागि चर्च ब्वाइजले मात्र दुई ठूला अनुहारलाई क्लबमा अनुबन्ध गरेको छ । गोलकिपर दीप कार्की र मिडफिल्डर दीपेश गुरुङबाहेक टोलीमा नाम चलेका अनुहारहरु छैनन् । बरु क्लबले यु-१८ का खेलाडीलाई प्राथमिकता दिएको छ । जसले गर्दा टोली ‘औसत’ मात्र देखिएको छ । क्लब उपाधि उचाल्ने मुडमा देखिँदैन । यद्यपि अध्यक्ष टंकलाल राई जित्नैका लागि खेल्ने प्रतिक्रिया दिन्छन् ।

‘उमेर समूहका भाइहरुलाई यसपाली प्राथमिकता दिएका छौं । सहभागी १७ वटै टिममा खेलाडीको समस्या छ । नेपालमा अहिले मात्र १५ जना राष्ट्रिय खेलाडी छन् । सबै टोलीमा एक–एक जना भाग लगायो भने पनि पुग्दैन,’ राई भन्छन्, ‘हाम्रो टोली ‘एभरेज’ छ । तर, मैदानमा गएपछि जसरी पनि जित्ने मनस्थिति हुन्छ ।’

राष्ट्रिय टोलीका सदस्यहरु अञ्जन विष्ट, एरिक विष्ट, सनीस श्रेष्ठ, योगेश गुरुङ, किरण चेम्जोङलगायत खेलाडी विदेशी लिग खेलिरहेका छन् । यस्तोमा लिगको रौनकतामा असर पर्ने पक्का छ । उनीहरु राष्ट्रिय लिग खेल्ने या नखेल्ने पक्का छैन । यद्यपि, मछिन्द्र उनीहरुको पर्खाइमा छ ।

एन्फाले १८ गतेका लागि खेलाडी दर्ता समय तोकेको थियो । तर, विदेशी खेलाडी अनुबन्धमा समस्या उत्पन्न हुँदा एन्फाले चार दिनका लागि म्याद थप गरेको छ ।

‘राष्ट्रिय खेलकुद परिषद्बाट सिफारिस नै निस्केको छैन । त्यसैले विदेशी खेलाडीहरु आउन पाएका छैनन् । एन्फाले चाँडै यो कुराको हल गर्नेछ भन्ने आशामा छौं,’ चित्लाङ एफसीका अध्यक्ष सगुन कुमार तण्डुकारले भने, ‘चित्लाङको तयारी अन्तिम चरणमा छ ।’

प्रतियोगिता सुरु हुनुभन्दा तीन दिनअघि मात्र खेलाडी दर्ताको कार्य पूरा हुने भएकाले तोकिएकै मितिमा लिग हुनेमा शंका बढेको छ । यद्यपि एन्फा स्रोतका अनुसार संघ पुस २५ मै लिग गर्नेगरि अन्तिम तयारी गरिरहेको छ ।

एन्फा स्रोतका अनुसार आइतबार खेलतालिका सार्वजनिक हुनेछ । खेल मैदानको भने टुंगो लाग्नै बाँकी छ ।