मंसिर ६, २०८१ बिहीबार | १५:३६:२१
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन नेपाली फुटबल

‘इख’ले बनेका फुटबलर

नेपाली समाजमा एउटा उखान निकै लोकप्रिय छ, ‘इख नभएको मानिस र बिख नभएको सर्प काम लाग्दैन ।’

नेपाली राष्ट्रिय फुटबल टिमका स्टार अञ्जन विष्टको जीवनमा यो उखान ठ्याक्कै मिलेको छ । किशोरावस्थामा पलाएको इखकै कारण मकवानपुर हेटौंडाका यी युवा अहिले नेपाली फुटबलका ‘हट प्रोपर्टी’ भएका छन् ।

नेपाली राष्ट्रिय टोलीको आक्रमणको भरपर्दा हतियार अञ्जनलाई आफ्नै दाजुको यशले इख्याएको (लोभ्याएको) थियो । ९ कक्षामा पढ्दा नै उनका दाजु रञ्जनले सहिद स्मारक ‘सी’ डिभिजन लिग खेलिसकेका थिए । हेटौंडा बजारका गल्ली-गल्लीमा रञ्जनको चर्चा व्याप्त हुन्थ्यो । मानौं कि उनी कुनै ठूलै सेलिबे्रटी हुन् ।

अञ्जन त्यतिबेला १२ वर्षका मात्र थिए । दाजुको यश र चर्चाले मात्र उनलाई लोभ्याएको थिएन । फुटबलमा रञ्जनले पाएका उपलब्धि, पदक, ट्र्याकसुट र जर्सीले अञ्जनलाई झनै लोभ्याउँथ्यो । तर दाजुले आफ्ना कपडासमेत भाइलाई लगाउन दिँदैनथे ।

दाजुले ट्र्याकसुट र जर्सी लगाउन नदिँदा अञ्जनको बाल मनलाई थप ईर्श्यालु बनायो । त्यसले रञ्जन काठमाडौं खेल्न आएपछि अञ्जनलाई पनि लाग्यो, ‘म पनि फुटबल खेलेर कुनै दिन ट्र्याकसुट लगाउँछु ।’

ट्र्याकसुट लगाउन नपाएको ईर्श्याबाट सुरु भएको अञ्जनको फुटबल यात्रा आज देशले गौरव गर्ने अवस्थामा पुगेको छ । स्वयं अञ्जनमा पनि आफूप्रति गर्व छ, तर दाजुप्रतिको ईर्श्या भने अहिले मायामा बदलिइसकेको छ ।

‘ठूलो भएर ठूलै खेलाडी बन्छु, नाम राख्छु भन्ने इख थियो । फुटबलमा आउनुको खास कारण दाइ नै हो । दाइकै कारण अहिले यो ठाउँमा छु । मैले दाइलाई पछ्याउँदै फुटबलमा लय समाएको हो,’ जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा महारथी मनाङ मस्र्याङ्दी क्लबको कप्तानी गरिरहेका अञ्जनले सानो गौचरण मैदानमा बिहान अभ्यासपछि मुस्कुराउँदै विगत सम्झिए ।  

दाजुको इखले हेटौंडामा स्थानीय क्लबबाट फुटबल खेल्न सुरु गरेका अञ्जनको करियरले एन्फा एकेडेमीमा छनोट भएपछि भने गोरेटोबाट सिधा राजमार्गमा प्रवेश पायो । हेटौंडामा भएको जिल्ला छनोटमा स्थान बनाएपछि उनी २०७० सालमा केन्द्रीय छनोटका लागि काठमाडौं आए । एन्फाको १५ वर्षमुनिको उमेर समूहमा छनोट भए ।

एकेडेमीमा छानिएपछि फुटबल कला थप तिखार्ने मौका पाएका अञ्जनले १६ वर्षमुनिको साफ च्याम्पियनसिपबाट ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुले । २०७१ सालमा भएको त्यो प्रतियोगितामा नेपाल उपविजेता बन्दा अञ्जनको प्रदर्शन लोभलाग्दो थियो ।

लगत्तै त्यही टोली एएफसी यू-१६ च्याम्पियनसिप छनोटको दोस्रो चरणलाई छानियो । जहाँ बहराइन र इरानविरुद्ध अञ्जनले गरेका गोल नेपालको यात्रामा महत्वपूर्ण साबित भएको थियो ।

उमेर समूहको फुटबलमा लगातार प्रभाव जमाइरहेका अञ्जनलगत्तै २०७२ सालमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो यू-१९ साफ च्याम्पियनसिपको उपाधि विजेता टोलीको मुख्य हिस्सा बने । फाइनलमा भारतमाथि जित हासिल गर्दै नेपालले उपाधि घरमै राखेको प्रतियोगितामा अञ्जनले तीन गोल गरेका थिए ।

एन्फा एकेडेमीमा दुई वर्षको बसाइपछि अञ्जन २०७१ सालमा व्यावसायिक फुटबल खेल्न दाजु रञ्जनसम्मिलित विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब लागे । एन्फा एकेडेमीका अन्य खेलाडी राष्ट्रिय लिग खेल्न सुदूरपश्चिम फुटबल क्लब र बुटवलको लुम्बिनी फुटबल क्लबको बाटो तताएका थिए । तर दाजु रञ्जन एपिएफमा भएकाले अञ्जनले भने व्यावसायिक फुटबलको पहिलो खुट्किलोका रूपमा एपिएफलाई रोजे । उनीसँगै रोमन रसाइली पनि एपिएफमा आबद्ध भएका थिए । रोमन अहिलेसम्म पनि त्यही क्लबमा छन् ।

‘एपिएफ बस्दा मैले मज्जासँग आफ्नो खेल देखाउन पाएँ । मैले त्यहाँ धेरै सिक्ने मौका पनि पाएँ । त्यही कारण मलाई अरू क्लबहरूबाट धेरै अवसर आउन थाल्यो,’ उनले सुनाए ।

एकेडेमीबाट तिखारिएका अञ्जनले एपिएफबाट उच्चस्तरीय फुटबलको अनुभव संगालेपछि २०७५ सालमा नेपाली फुटबलको सबैभन्दा सफल टोली मनाङ मस्र्याङ्दी क्लबले उनलाई अनुबन्ध गर्यो‍ । त्यसयता उनले लगातार मनाङबाट खेल्दै आएका छन् ।

अञ्जनले मनाङबाट पहिलो पटक २०७५ सालमा रेलिगेसनको प्रावधान हटाएर गरिएको लिग खेलेका थिए । राष्ट्रिय टोलीका अधिकांश खेलाडीको साथ पाएको मनाङले दुई खेलअघि नै उपाधिमाथि कब्जा जमायो । त्यसक्रममा मनाङबाट अञ्जनले ५ गोल गरे ।

२०७६ सालको लिगमा थुप्रै पुराना स्टार खेलाडीले मनाङको साथ छोडे । आक्रामक रूपमा नेपाली फुटबलमा उदाउँदै गरेको मछिन्द्र क्लबको आकर्षक पारिश्रमिक धेरै खेलाडीको रोजाइ बन्यो । तर, अञ्जनको प्रतिबद्धता भने मनाङमै थियो । त्यो वर्षको लिगमा थुप्रै स्टार खेलाडीले छाड्नुका बाबजुत मनाङले तेस्रो स्थान हासिल ग¥यो । जहाँ अञ्जनको नाममा प्रभावशाली प्रदर्शन र ६ गोल थियो ।

‘त्यो बीचमा अफर नआएको हैन । मैले यहीं बस्छु पनि भनें । मलाई मनाङमा चाहेको सबै थियो । सबै कुरा पूरा भएपछि म यहीं खुसी छु । किन अन्त जाने ? अनि म मनाङलाई नै बोकेर हिँड्छु भन्ने लाग्यो । कोही होस् या नहोस्, जति रहन्छौं त्यसलाई बोकेर हामीले प्रमाणित गर्छाैं भन्ने थियो,’ अञ्जनले भने, ‘हामीले यसबीचमा टोलीलाई केही उपलब्धि पनि दिलाएका छौं ।’

जारी लिगमा अञ्जनको जिम्मेवारी थपिएको छ । ४ खेल सकिँदा मनाङले आफ्नो प्रदर्शनलाई उपाधिलक्षित बनाइरहेको छ । पाँचौं खेल खेल्न मनाङ घरेलु मैदानका रूपमा पोखरा लागेको छ ।

पुलिस र त्यसपछि मछिन्द्रसँग हुने खेल मनाङका लागि निकै अर्थपूर्ण छ । दुई खेलमा ठूलो अन्तरले जित निकाले मनाङ एएफसी कपका लागि छनोट हुने सम्भावना रहन्छ । मनाङसँग हाल एएफसीको क्लब लाइसेन्स छ । प्रतियोगिताका लागि छनोट भए क्लबले एएफसीबाट ठूलो आर्थिक प्याकेजका साथै एसियन कप खेल्ने अवसर प्राप्त गर्नेछ ।  

‘पछिल्लो लिगमा मनाङबाट दाइहरू जानुभयो । तर के हुन्छ भने फुटबल खेल ११ खेलाडीले खेल्ने हो । अन्तिम पटक सबै जनाले शतप्रतिशत दिए । जसका कारण सामान्य अवस्थामा पनि तेस्रो भयौं । यसपालि जेहोस् नाम चलेका खेलाडी छौं । तालमेल राम्रो छ । व्यवस्थापकीय पक्षदेखि सबै चिज राम्रो छ । त्यसैले हामी चरणबद्ध रूपमा अगाडि जान्छौं । हामी प्रत्येक खेल मनले खेल्छौं र आफ्नो तर्फबाट शतप्रतिशत दिन्छौं,’ पुलिसविरुद्धको खेलका लागि पोखरा जानुअघि उनले खेलाडी डटकमसँग भने ।

२३ वर्षे अञ्जन अहिले नेपाली राष्ट्रिय टोलीका ‘ट्यालिसम्यान’ (प्रभावशाली खेलाडी) हुन् । र, अञ्जन टोलीमा हुनु–नहुनुले धेरै अर्थ राख्छ । उनको प्रदर्शन तल-माथि हुँदा त्यसको प्रत्यक्ष असर टोलीमा देखिन्छ ।

२०७१, असोजमा फिलिपिन्ससँगको खेलबाट राष्ट्रिय टोलीका लागि ‘डेब्यू’ गरेका अञ्जनले ७ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । नेपालले एकै वर्ष दुई अन्तर्राष्ट्रिय उपाधि उचाल्ने क्रममा ५ वर्षअघि बंगबन्धु गोल्डकप र १२औं साग जित्दा अञ्जनको भूमिका महत्वपूर्ण थियो ।

अनुशासनको कारबाहीमा परेर केही समय अनुपस्थित हुनुबाहेक ‘डेब्यू’ गरेयता उनी राष्ट्रिय टोलीको नियमित हिस्सा बन्दै आएका छन् । भर्खरै सम्पन्न साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनल पुर्या‍उन अञ्जनको भूमिका उल्लेख्य रह्यो । तर, दुई पहँेलो कार्डका कारण फाइनलमा अञ्जन प्रतिबन्धित हुनु र नेपाल भारतसँग पराजित हुँदै उपाधिबाट विमुख हुनुले समर्थकलाई चुक्चुकाउने बहाना दियो ।