चालिस कटेका फुटबलक्रेजीको अभियान

चालिस कटेसी फुटबलसँग रमाइरहेका व्यवसायीहरूको एउटा जमात छ, जसलाई फुटबल भनेपछि अरू केही चाहिँदैन । मैदान वरिपरि या फुटबलरसँगको सानिध्यमा हुँदा वा फुटबलका कुरामात्र चल्दा पनि व्यवसाय, राजनीति, घरपरिवार सबथोक यही खेलले बिर्साइदिन्छ ।

पछिल्लो दुई वर्षदेखि प्रत्येक शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियमित फुटबल खेल्दै आएको यो समूहको नेतृत्व गरिरहेका छन्, कृष्ण गुरुङ । गुरुङ पेसाले व्यवसायी हुन् । रियल स्टेट, मनी ट्रान्सफर, होटल व्यवसाय तथा पर्यटनका अन्य विधामा पनि व्यवसाय सञ्चालन गरिरहेका गुरुङ मनाङ ग्रुप एयरलाइन्सका अध्यक्ष हुन् । जापान मनी ट्रान्सफर र एसियन हाउजिङका सञ्चालक उनी नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय छन् ।

गृहजिल्ला सिन्धुलीबाट भूगोलको राजनीति गर्ने उनी कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । गाउँ र जिल्लामा मानिस बिरामी पर्दा हेलिकोप्टरबाट उपचार गर्न काठमाडौं ल्याउनेदेखि कसैलाई गाह्रोसाह्रो पर्दा सहजै उपलब्ध हुनु उनको विशेषता हो । मासिनलाई पर्दा सहयोग गर्न तम्सिइहाल्ने बानीकै कारण उनी जिल्लामा पनि लोकप्रिय छन् ।

देश विदेशमा थुप्रै व्यावसायिक र राजनीतिक जिम्मेवारी रहेका उनका यी त सबै औपचारिक परिचय हुन् । खास परिचय त अर्कै छ, फुटबल क्रेजी । हो, उनी फुटबल क्रेजी हुन् । गुरुङलाई उचाइले धोका नदिएको भए सायद उनी फुटबल खेलाडी नै हुन्थे होला ।

तर फुटबल खेलाडी बन्नबाट रोके पनि उचाइले फुटबललाई माया गर्नबाट भने रोक्न सकेन । त्यसैले त ‘हाम्रो फुटबल नेपाल’को जन्म भयो ।

देश विदेशमा थुप्रै व्यावसायिक र राजनीतिक जिम्मेवारी रहेका उनका यी त सबै औपचारिक परिचय हुन् । खास परिचय त अर्कै छ, फुटबल क्रेजी । हो, उनी फुटबल क्रेजी हुन् । गुरुङलाई उचाइले धोका नदिएको भए सायद उनी फुटबल खेलाडी नै हुन्थे होला ।

के हो त ‘हाम्रो फुटबल नेपाल’ भनेको ?

यही संस्थाका अध्यक्ष गुरुङ भन्छन्, ‘नेपाली फुटबललाई माया गर्ने र माथि उठाउने यो एउटा अभियान हो । फुटबललाई सबैभन्दा बढी माया गर्ने र जसको उपस्थितीबिना फुटबलको रोमाञ्च कल्पना पनि गर्न सकिन्न, ती समर्थकहरूको संगठित रूप हो हाम्रो फुटबल नेपाल ।’

गुरुङले अथ्र्याएजस्तै ‘हाम्रो फुटबल नेपाल’ नेपाली फुटबलको एउटा फ्यान क्लब हो । उनीजस्तै आफ्नो पेसा र व्यवसायमा महारथ हासिल गरेका ९ जनाको कार्यसमिति रहेको यो संस्था नेपाली फुटबललाई सही बाटोमा डोर्याउने सारथि बन्ने अभियानमा छ ।

दुई वर्षअघि २०७६ भदौमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विधिवत रूपमा दर्ता भएको संस्थामा अहिले ६ हजार ३ सयभन्दा बढी सदस्य भइसकेका छन् ।

अनलाइनबाट एक सय रुपैयाँको फर्म भरेर सदस्यता लिन सकिने संस्थामा अहिले अस्ट्रेलिया, अमेरिका, साउदी अरब, यूएई, कतार, मलेसिया र बेलायतबाट पनि सदस्यता लिइरहेका छन् । देशभित्र १८ जिल्लामा शाखा विस्तार भइसकेको छ । प्रदेश १, २, वाग्मती र गण्डकी गरी चार प्रदेशमा शाखा छन् ।

किन खोलियो ‘हाम्रो फुटबल नेपाल’ ?

फुटबलसँग गहिरो प्रेममा परेका ४० कटेका व्यवसायीहरूको एउटा समूह पछिल्लो दुई वर्षदेखि लगातार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रत्येक शनिबार फुटबल खेल्ने गर्छ । हप्ताभर आ–आफ्नो पेसागत कामको थकान मेटाउने माध्यम थियो त्यो साप्ताहिक फुटबल । त्यसैले उनीहरू मैदानका लागि मात्र एन्फालाई एकपल्टको १० हजार रुपैयाँ तिर्न हिच्किचाउँदैनथे ।

एन्फामा फुटबल खेल्न थालेको केही सातामै उनीहरूलाई त्यहाँको अस्तव्यस्तता र फोहोरले दिक्क बनायो । पानीका बोटल जताततै फालिएका थिए । भिआइपीका लागि राखिएको सोफामा समेत मैलो जमेको थियो । नेपाली फुटबलको मुख्यालय नै यस्तो अलपत्र छ भने यो सुन्दर खेलको अवस्था पूरा देशमा कस्तो होला भनेर मन कुँडियो ।

त्यसपछि उनीहरूले एन्फा सफा गर्ने सानो पाइलाबाट नेपाली फुटबलको ‘ठूलो अभियान’ सुरु गरे । तर, दशरथ रंगशालामा केही दिनपछि देखेको अर्को एक दृश्यले ‘हाम्रो फुटबल नेपाल’को सोच पलायो । तत्कालै त्यसले औपचारिक संस्थाको रूप पनि लियो ।

‘सुरुमा हामीले एन्फाभित्रको फोहोर सफा गर्ने भनेर सुरु गरेका थियौं । आफैले एन्फा सफा गर्यौं । तर, दशरथ रंगशालामा एकदिन देखिएको दृश्यले संगठित रूपमै काम गर्नका लागि झकझक्यायो,’ खेलाडीसँगको कुराकानीमा संस्थाका अध्यक्ष कृष्ण गुरुङ सम्झन्छन्, ‘नेपालको एउटा खेल हेर्न रंगशाला पुगेको थिएँ । त्यहाँ टिकट किनेर फुटबल हेर्न आएका दर्शकलाई पुलिसले लाठी चार्ज गरिरहेको थियो । पैसा तिरेर फुटबल हेर्ने, नेपाली फुटबललाई साँचो अर्थमा जोगाउने भनेकै दर्शक हुन् । तर फुटबललाई सबैैभन्दा बढी माया गर्ने र यो खेललाई अर्थ प्रदान गर्नेमाथि नै यसरी नियमित रूपमा दुव्र्यवहार भएको घटनाले साह्रै मन दुख्यो । त्यसपछि अब केही गर्नैपर्छ भन्ने लाग्यो ।’

फुटबललाई माया गर्ने दर्शकका लागि सम्मानजनक अवस्था सिर्जना गर्नुपर्छ । त्यसका लागि समर्थकलाई नै संगठित गर्नुपर्छ भन्ने सोचका साथ तत्कालै गुरुङ र उनीसँगै नियमित एन्फा कम्प्लेक्समा फुटबल खेल्नेहरूले २०७६ साल भदौमा संस्था जन्माए । १८ जनाको केन्द्रीय समिति बनाएर ९ जना कार्यकारी समिति रहने गरी काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ‘हाम्रो फुटबल नेपाल’को विधिवत् दर्ता गराए उनीहरूले ।

फुटबल खेल्ने तीव्र इच्छा र यो खेलमा केही गर्ने सम्भावना हुनाका बाबजुद आर्थिक तथा अन्य विभिन्न कारणवश खेल्न नपाएकाहरूलाई खेलसम्म पहुँच स्थापित गर्ने अभियानमा संस्था जुटेको गुरुङ बताउँछन् ।

‘फुटबल र दर्शक एकअर्काका परिपूरक हुन् । एन्फाको काम फुटबल सञ्चालन गर्ने हो र त्यसलाई सहयोग गर्ने काम दर्शकको हो । दर्शकबिनाको फुटबल कल्पना गर्न सम्भव छैन,’ गुरुङले संस्था स्थापनाको उद्देश्य प्रस्ट्याए, ‘नेपाली फुटबलमा दर्शकको अवस्था सम्मानजनक बनाउने र समर्थकहरूबाट प्रत्यक्ष रूपमा पनि फुटबललाई सहयोग गर्ने हाम्रो उद्देश्य हो ।’

स्थापनापछि हाम्रो फुटबल नेपालले के गर्यो त ?

स्थापनाको उद्देश्यअनुरूप नै हाम्रो फुटबल नेपालले दुई वर्षको छोटो समयमा धेरै उल्लेख्य काम गरिसकेको छ । मुख्य रूपमा संस्थाले ग्रासरूट र महिला फुटबलमा केन्द्रित भएर काम गर्ने गरेको छ ।

फुटबल खेल्ने तीव्र इच्छा र यो खेलमा केही गर्ने सम्भावना हुनाका बाबजुद आर्थिक तथा अन्य विभिन्न कारणवश खेल्न नपाएकाहरूलाई खेलसम्म पहुँच स्थापित गर्ने अभियानमा संस्था जुटेको गुरुङ बताउँछन् । यसका साथै स्थापित खेलाडी र खेलकर्मीलाई पनि प्रोत्साहित गर्न समय–समयमा विभिन्न कार्यक्रमहरू ल्याएको उनले जानकारी गराए ।

अध्यक्ष गुरुङ र उनका सहकर्मीहरूलाई नेपालमा फुटबल खेल्न आउनेहरू अधिकांश कमजोर आर्थिक अवस्थाको परिवारबाट हुन्छन् भन्ने थाहा छ । उनीहरूसँग बुट किन्ने क्षमता हुँदैन तर फुटबलमा बुट नभई केही हुन्न भन्ने पनि थाहा छ । अनि फुटबलमा सबैभन्दा चाँडो फाट्ने बुट नै हो भन्ने पनि उनीहरूले बुझेका छन् । त्यसैले बुटलाई नै प्राथमिकतामा राखेर केटिएम सिटी स्पोटर््स जोनसँगको सहकार्यमा सहयोग कार्यक्रम सञ्चालन गरिरहेको गुरुङले सुनाए ।

‘हामीले आफ्ना अधिकांश गतिविधि खेलसामग्री वितरणमा केन्द्रित गरेका छौं । त्यसमा पनि बुट सबैभन्दा बढी आवश्यक चिज हो । बुट, बल र जर्सी भयो भने दुर्गमका बालबालिकाले पनि फुटबल खेल्न पाउँछन् । बढीभन्दा बढी मानिसको फुटबलमा पहुँच होस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने ।

 

 

यत्तिमै सीमित छैन, हाम्रो फुटबल नेपालको गतिविधि । गत वर्ष महिला लिगमा उत्कृष्ट घोषित खेलाडी र प्रशिक्षकलाई प्रोत्साहनस्वरूप नाइकीको ट्रयाकसुट, बल र बुट प्रदान गरिएको थियो । हाम्रो फुटबल नेपाल आफैले राखेको जुरीको निर्णयअनुसार सरु लिम्बु उत्कृष्ट खेलाडी र भगवती थापा उत्कृष्ट प्रशिक्षक भएकी थिइन् ।

गत वर्ष नै चार नेपाली खेलाडी पाकिस्तानको महिला लिग खेल्न जाँदा पनि हाम्रो फुटबल नेपालले उनीहरूलाई नाइकीको ट्रयाकसुट प्रदान गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा बिदाइ गरेको थियो । पाकिस्तानको लिगमा गत वर्ष गोलकिपर एञ्जिला तुम्बापो सुब्बासहित सरु लिम्बु, अनिता केसी र गीता रानाले त्यहाँको भाषा एकेडेमीबाट खेलेका थिए ।

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघको आयोजनामा भखैरै सम्पन्न ‘सी’ डिभिजन लिग छनोटमा ट्रफी र आवश्यक सम्पूर्ण पानीको व्यवस्था पनि हाम्रो फुटबल नेपालले नै गरिरहेकोे छ ।  

प्रतियोगिताअन्तर्गत भएका सबै एक सय एक खेलका लागि म्यान अफ द म्याचको ट्रफी हाम्रो फुटबल नेपालले उपलब्ध गरायो । यसैगरी तीन दिनमा सय कार्टुनका दरले पानी दिइयो ।

एन्फाकै पदाधिकारीका अनुसार हाम्रो फुटबल नेपालको कारण सहभागी खेलाडीहरूले पानी पिउनका लागि चिन्ता गर्नुपर्ने अवस्था छैन । यसअघि एन्फाले पानीको व्यवस्था गर्दा ‘सी’ डिभिजन छनोटमा मुस्किलले एक खेलमा एक–दुई कार्टुन पानी दिइने गरेको थियो ।

यही हिउँदमा देशव्यापी रूपमा एउटा बृहत ग्रासरूट कार्यक्रम सञ्चालन गर्ने योजनामा छौं । हाम्रो कार्यक्रममा प्रशिक्षणलगायतका गतिविधिभन्दा पनि सहयोग कार्यक्रम हुनेछन्

‘पहिला खेलाडीले पिउन पनि पर्याप्त पानी पाउँदैनथे । अहिले चाहिएजति पाउँछन् । पानीमा कुनै कन्जुस्याईँ गरिएको छैन,’ एन्फाका एक अधिकारीले स्वीकारे ।

दशरथ रंगशालामा भदौ १७ र २० मा भारतविरुद्ध पुरुष राष्ट्रिय टोलीले खेलेका दुई मैत्रीपूर्ण खेल तथा भदौ २४ र २७ गते बंगलादेशविरूद्ध महिला राष्ट्रिय टोलीले खेलेका दुई मैत्रीपूर्ण खेलमा पनि प्रोत्साहनस्वरूप हाम्रो फुटबल नेपालले खेलाडीलाई पुरस्कार व्यवस्था गरेको थियो ।

पुरुष टोलीका मैत्रीपूर्ण खेलमा नेपालका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई २५ हजार तथा खेलको समग्र म्यान अफ दी म्याचलाई २५ हजार गरी दुई खेलमा एक लाख रूपैयाँ प्रदान गरेको थियो । यसैगरी बंगलादेशविरुद्धको महिला मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई २५ हजार रुपैयाँका दरले प्रदान गरिएको थियो ।

आगामी दिनमा संस्थाले पनि ग्रासरूट कार्यक्रम र महिला फुटबललाई नै केन्द्रमा राखेर कार्यक्रमहरू गर्ने योजना बनाएको छ ।

‘हामी यही हिउँदमा देशव्यापी रूपमा एउटा बृहत ग्रासरूट कार्यक्रम सञ्चालन गर्ने योजनामा छौं । हाम्रो कार्यक्रममा प्रशिक्षणलगायतका गतिविधिभन्दा पनि सहयोग कार्यक्रम हुनेछन्,’ अध्यक्ष गुरुङले योजना सुनाए ।