को ठूलो ? खेल, खेलाडी की प्रशासन ?

काठमाडौं । दुई महिनाअघि कीर्तिपुरमा सम्पन्न एभरेस्ट प्रिमियर लिग (इपिएल) मा वर्षाले प्रभावित एउटा खेल नियमअनुसार अम्पायरले गराउन खोज्दा पनि हुन सकेन ।

भैरहवा र काठमाडौंबीचको खेल वर्षाले मैदान भिजेका कारण समयमा सुरु हुन सकेन । अम्पायरहरूले हिसाबकिताब गरेर खेल ८ ओभरमा छोट्याए । तर, दुवै टोलीका कप्तानले त्यो खेलमा टिम मैदान उतार्न नचाहँदा खेल ‘वासआउट’ भनियो । दुवै टोलीले अंक बाँडे ।

ललितपुरले अर्कै खेलमा नियमविपरीत एक खेलाडी समावेश गरेको आरोपमा दुवै टिमले त्यो खेल खेल्न अस्वीकार गरेका थिए । जबकि त्यो उनीहरू मैदान उत्रनु नपर्ने खास कारण थिएन । उसै छोटो स्वरुपको क्रिकेट अझ घटाएर ८ ओभरमा झारिँदाको अनिश्चिततामा दुवै टोलीले जोखिम उठाउन नचाहनु खेल नहुनुको मुख्य कारण थियो ।

भलादमीको खेल भनिने क्रिकेटमा यतिसम्मको घटना भयो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट आएका प्रतिनिधिले अत्यन्तै निराशासाथ त्यतिबेला भनेका थिए, ‘यो दिन नेपाली क्रिकेटका लागि कालो दिन हो ।’

यति भइसक्दा पनि त्यहाँ उपस्थित नेपाल क्रिकेट संघ (क्यान) प्रतिनिधिहरूले त्यो थाहा पाएनन् । क्यानको ‘नोटिस’मा त्यो घटना आएन । नेपाली क्रिकेटका अन्य सरोकारवालालाई पनि त्यो घटनाले दुखाएन । मिडियाको शीर्षकमा त्यो घटना कतै देखिएन । समर्थकले त भेउ पाउने पनि कुरा भएन ।

नेपाली क्रिकेटमा यस्ता घटना अरू पनि छन् । नेपाली खेलकुद त यस्तै विवादास्पद घटनाहरूको एउटा लामो शृंखला हो भन्न रत्तिभर पनि सोच्नुपर्दैन ।

खेल ठूलो कि खेलाडी ? अनि खेल, खेलाडी र प्रशासनमा चाहिँ को ठूलो ?

यो प्रश्नको सान्दर्भिकता अहिले नेपाली खेलकुदमा फेरि एकपटक बढेको छ । प्रसङ्ग हो, राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार खेलाडीमाथि क्यानले गरेको अनुशासन कारबाही ।

कारबाहीस्वरुप बुधबार क्यानले ज्ञानेन्द्रलाई कप्तान तथा दीपेन्द्रसिंहलाई उपकप्तानको जिम्मेवारी खोसियो । अनि उनीहरूसहित थप दुई खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा पहिलो ६ महिना समावेश नगर्ने निर्णय गर्यो । सँगै युवा स्टार सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिने निर्णय गर्यो ।

क्यानको कारबाहीपछि राष्ट्रिय टोलीका खेलाडीहरूले सामाजिक सञ्जालमार्फत त्यसविरुद्ध आन्दोलन सुरु गरिसकेका छन् । राष्ट्रिय टोलीका अधिकांश खेलाडीले सामाजिक सञ्जालमा ‘आई एम डन टू’ लेख्दै क्यानको कारबाही फिर्ता नभए नखेल्ने चेतावनीसमेत दिइरहेका छन् । यद्धपि ज्ञानेन्द्रसहितका चार खेलाडीले शुक्रबार पत्रकार सम्मेलन गर्दै क्यानसमक्ष आफूहरुमाथिको कारबाही फिर्ता लिन आह्वान गरेका छन् । त्यसो नगरिए ब्याट र बल बिसाउन बाध्य हुने चेतावनी पनि उनीहरुले दिएका छन् ।

क्रिकेटको पछिल्लो विवाद यत्तिमै सीमित छैन । सधैं एकढिक्का रहँदै आएका खेलाडी पनि सार्वजनिक रूपमै विभाजित भएका छन् । खेलाडीहरूबीच सामाजिक सञ्जालमा ‘फलो-अनफलो’को शीतयुद्ध सुरु भएको छ ।

खेलाडीमाथि आरोप थियो, ‘आचारसंहिता मिचेको र स्पष्टीकरण माग्दा चित्तबुझ्दो जवाफ नदिएको ।’

खेलाडीहरूले क्यानबाट ९ महिना ढिलो गरी सार्वजनिक भएको वर्गीकरणप्रति असहमति जनाउँदै प्रतिक्रिया दिएका कारण क्यानले आकस्मिक भर्चुअल बैठक बसेरै कप्तान र उपकप्तानसहित राष्ट्रिय टोलीका चार मुख्य सदस्यमाथि अनुशासनको डन्डा चलाएको थियो ।

क्यानले ज्ञानेन्द्र, दीपेन्द्रसिंह, सोमपाल र कमलसिंहलाई सञ्चारमाध्यममा क्यानविरुद्ध प्रतिक्रिया दिएको भन्दै कात्तिक २५ गते स्पष्टीकरण सोधेको थियो ।

खेलाडीहरूले कात्तिक ३० गते दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै क्यानले कारबाहीको बाटो खोजिरहेको थियो । जहाँ स्पष्टीकरण सोधिएका चारसहित १९ खेलाडीले मंसिर ५ गते क्यानसमक्ष वर्गीकरणको आधारबारे स्पष्ट गर्न माग राख्दै पत्र बुझाएका थिए ।

त्यो पत्रपछि क्यानले फेरि मंसिर ८ गते दोस्रोपल्ट स्पष्टीकरण मागेपछि खेलाडी र नेपाली क्रिकेटको सर्वोच्च निकायबीचको विवाद अझै जटिल बनेको थियो । यही जटिलता अहिले कारबाही र नखेल्ने चेतावनीसम्मको उत्कर्षमा पुगेको छ ।

के साँच्चै यी खेलकुदीय दृश्य हुन त ?

‘पक्कै पनि होइनन् । कुनै पनि पक्षले आफ्नो जिम्मेवारी पूरा नगर्दाको परिणाम हो यो,’ राष्ट्रिय टोलीका पूर्वकप्तान एलबी क्षेत्री भन्छन्, ‘क्यान भनेको नेपाली क्रिकेटको सर्वोच्च निकाय हो । तर, यसको मतलब उसले जे पनि गर्न पाउने भन्ने होइन । सर्वोच्च निकायले त सबैको अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ । खेलाडीसँग इबी साँधेर मौका कुरेर डन्डा चलाउन खोज्नु गलत हो ।’

अर्का एक पूर्वराष्ट्रिय खेलाडी भने नेपाली क्रिकेटमा खेलाडीको ‘दादागिरी’ उत्कर्षमा पुग्दाको परिणाम देख्छन्, यो प्रकरणलाई । भन्छन्, ‘क्यानले जे गर्नु परे पनि चार/पाँच जना खेलाडीको समूहसँग सोध्नुपर्ने ? यी खेलाडीसँग सहमति नलिइकन केही गर्न नसक्ने गरी क्यानको हात-खुट्टा बाँधिएको अवस्था छ । चार÷पाँच खेलाडीको सिन्डिकेटले देशको क्रिकेट चल्दैन र चल्न पनि सक्दैन । समर्थक र सञ्चारमाध्यम सधैं खेलाडीको पक्षमा रहने गर्छन् । अनि राखेप र मन्त्रालयको नेतृत्वमा आउनेहरू सतही ज्ञानका भरमा निर्णय गर्छन् । यो अवस्थामा क्यानले सर्वोच्च निकायको हैसियतमा काम गर्न पाएको छैन ।’

क्षेत्री नेपाली क्रिकेटमा स्वार्थ समूह धेरै भएको सुनाउँछन् । उनको विचारमा क्रिकेटमा लाग्ने सबैका थुप्रै स्वार्थ छन् । तर, सबैभन्दा बढी स्वार्थ हुनुपर्ने क्यान स्वयं भने सबै पक्षमा टीठलाग्दो पारामा उदासीन छ ।

खेलाडीमा अहम बढेको स्वीकार्दै पूर्व कप्तान क्षेत्रीले थपे, ‘हामीले भारत, अस्ट्रेलिया वा अरु देशको उदाहरण यहाँ दिएर हुँदैन । कारबाही गर्दा पनि आफ्नो देशको अवस्था, भौतिक पूर्वाधारको उपलब्धता, खेलाडीको ब्याकअपलगायतका विषयमा ध्यान दिनुपर्छ ।’

‘हामीसँग खेलाडीको ब्याकअप नै छैन । क्यानसँग खेल गराउने आफ्नो एउटा मैदानसम्म छैन । यस्तो अवस्थामा खेलाडीमाथि गरिएको यो कारबाही अत्यन्तै अपरिपक्व निर्णय हो । अहिले त खेलाडीको स्पष्टीकरण चित्त नबुझेपछि क्यानले देशभरका सबै खेलाडीलाई अर्को चोटीदेखि यस्तो अनुशासनहिन काम नगर्न चेतावनी दिनुपथ्र्यो । त्यसो भएको भए विनविन सिचुएसन हुन्थ्यो,’ क्षेत्री भन्छन्, ‘तर यहाँ दुवै पक्षमा अहम एकदम धेरै
देखिन्छ । दुवै पक्षले अर्कोको अस्तित्व स्वीकार नगरेको प्रष्ट हुन्छ ।’

क्यानको वर्तमान नेतृत्व ‘हेर्दा परिपक्व देखिए पनि व्यवहारमा अत्यन्तै काँचो’ भएकाले यस्ता दृष्य बारम्बार दोहोरिइरहेको क्षेत्रीको बुझाई छ । केही समयअघि नेतृत्वसँग असहमति जनाउँदै क्यानका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्यालले राजीनामा दिएका थिए ।

अनुशासनको डन्डा खेलाडीलाई चलाउनै पर्ने बताउँदै उनले त्यस्तै गल्ती गर्दा पदाधिकारी पनि कारबाहीको दायरामा आउनुपर्नेमा जोड दिए । विदेश जाँदा पिसिआर नगरेको कारण टिम विमानस्थलबाट फर्किनुपर्ने अवस्थामा कसैमाथि कुनै कारबाही नभएको प्रशंग कोट्याउँदै क्षेत्रीले पछिल्लो प्रकरणमा पनि अनुशासन समितिको संयोजकले सुरुमै निर्णय सार्वजनिक गरेर आचार संहिता मिच्दा केही नगरेको आरोप लगाए ।

‘नेतृत्वलाई क्रिकेटसँग कुनै लेनादेना छैन । नेतृत्व खालि राजनीति गर्नमा केन्द्रित छ । पक्कै पनि खेलाडीले आचारसंहिताको पालना गर्नुपर्छ । अनुशासन मिचिँदा कारबाही सामान्य प्रक्रिया हो । विश्वभर यस्तो हुन्छ । भारतमा भर्खरै विराट कोहलीलाई कप्तानबाट हटाइयो । आर्सनलले अनुशासनकै कारण कप्तानबाट पिएरे एमेरिक औबामेयाङलाई हटायो । अर्जेन्टिनाले विश्वकप जिताएका विश्व फुटबलकै महान हस्ती डिएगो म्याराडोनालाई पनि अनुशासनको कारबाही गरेको थियो,’ क्यानका एक सदस्यले खेलाडीसँग भने, ‘नेपालकै फुटबलमा पनि २०१९ मा अञ्जन विष्ट, विमल घर्तीमगर, सन्तोष तामाङ र दिनेश राजवंशीजस्ता स्टार खेलाडीहरूमाथि कारबाही भएको थियो । तर कहींकतै पनि अरू खेलाडीले त्यसविरुद्ध विद्रोह गरेनन् । असहमति भए राख्ने ठाउँ हुन्छ । अपिल गर्न पाइन्छ । तर यहाँ खेलाडीमा हामी सबैभन्दा ठूलो हौं भन्ने भावना बढी हाबी छ । राजनीतिक स्पिरिट बोकेर क्रिकेट नेतृत्व हत्याएको क्यान पदाधिकारीमा पनि त्यो भावना छ ।’

क्यान भर्सेज खेलाडीबीचको युद्धबाट नेपाली क्रिकेटलाई कसरी सेफल्यान्ड गराउँदै अगाडि बढाउने भन्ने अहिलेको मुख्य विषय हुनुपर्ने पूर्वकप्तान क्षेत्री बताउँछन् ।

अर्का एक पूर्व राष्ट्रिय खेलाडी राष्ट्रिय खेलकुद परिषद वा युवा तथा खेलकुद मन्त्रालयले एउटा उच्चस्तरीय समिति बनाएर सबैभन्दा पहिला विवाद मिलाउनुपर्छ । त्यसपछि छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्छ ।

‘हामीले अहिले तत्कालै विश्वकप छनोटका लागि तयारी थाल्नुपर्नेछ । त्यसपछि विश्वकप क्रिकेट लिग-२ मा सहभागिता जनाउनुपर्छ । यस्तो अवस्थामा पूरा राष्ट्रिय टिम विद्रोहमा उत्रिँदा नतिजामा असर गर्छ । साथमा राष्ट्रिय टिममा दुई पक्षजस्तो अवस्था सिर्जना हुन दिनुहुन्न । त्यसैले माथिल्ला निकायले तत्काल सकारात्मक हस्तक्षेप गर्नुपर्छ,’ उनले सुझाए ।

तर ती खेलाडीले भने जस्तो राखेप र मन्त्रालय पनि हस्तक्षेप गर्ने अवस्थामा छैनन् । राखेप स्वयं नेतृत्वको विवादमा अल्झिइरहेको छ । दुई महिनाअघि बर्खास्तगीमा परेका सदस्यसचिव रमेशकुमार सिलवालले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले बुधबारै अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङ बिहीबारबाट कार्यालय जान छोडिसकेका छन् ।

राखेप र मन्त्रालय आफै सकसमा हुँदा क्रिकेटको विवाद थप जटिल नबनाउने हो भने क्यान नेतृत्व नै सबैभन्दा बढी जिम्मेवार बन्नुपर्छ । जसको अपेक्षा गर्नु अहिले विवादभन्दा पनि जटिल कुरा हो ।

तर राष्ट्रिय टोलीका पूर्व कप्तान एवं क्रिकेट निर्देशक विनोद दास समस्याको सकारात्मक समाधान निस्कनेमा विश्वस्त छन् । भन्छन्, ‘क्यानले यो अवस्था रोक्न पहिला पनि थुप्रै प्रयास गरेको हो । अझै पनि हामी यसको सकारात्मक समाधानको लागि लागिरहेका छौं । खेलाडीसँग सहमतिमै समाधान निस्किन्छ ।’

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar