मंसिर २५, २०८१ मंगलबार | ०७:३१:३२
चितवनलाई शीर्ष स्थानमा उक्लने अवसर, लुम्बिनीलाई भाग्यको डर सेक्रेड हार्ट र हिमरश्मी च्याम्पियन पूजाको कप्तानीमा एसिसी यु-१९ एसिया कप खेल्ने टोली घोषणा अन्तर्राष्ट्रिय पदक विजेता धावक सम्मानित भियतनाममा नेपाललाई आठ पदक गण्डकीको लगातार तेस्रो हार आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा मनाङविरुद्ध खुमलटारको रोमाञ्चक जित भारतीय टोली क्यालिकट हिरोजको पहिलो जित सूर्य नेपाल काठमाडौं ओपन सोमबारबाट हुने चितवनलाई शीर्ष स्थानमा उक्लने अवसर, लुम्बिनीलाई भाग्यको डर सेक्रेड हार्ट र हिमरश्मी च्याम्पियन पूजाको कप्तानीमा एसिसी यु-१९ एसिया कप खेल्ने टोली घोषणा अन्तर्राष्ट्रिय पदक विजेता धावक सम्मानित भियतनाममा नेपाललाई आठ पदक गण्डकीको लगातार तेस्रो हार आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा मनाङविरुद्ध खुमलटारको रोमाञ्चक जित भारतीय टोली क्यालिकट हिरोजको पहिलो जित सूर्य नेपाल काठमाडौं ओपन सोमबारबाट हुने
शनिबारको दिन नेपाली क्रिकेट

सञ्चार उद्यमीदेखि सद्भावना दूतसम्म एनपिएल मालिक, कस्को कति लगानी ?

काठमाडौं । कुनै पनि खेलको केन्द्रमा खेलाडी हुन्छ । प्रशिक्षक, प्रशिक्षण टिम, निर्णायक, स्वास्थ्यकर्मी, व्यवस्थापन र प्रायोजकहरूले पहिलो घेरामा रहेर खेलाडीलाई साथ दिन्छन् । त्योभन्दा बाहिर एउटा ठूलो घेरा हुन्छ, जसले पूरा खेलकुदलाई उर्जा दिन्छ । संरक्षण प्रदान गर्छ । रोमाञ्चक बनाउँछ । खेल हुनु र खेल्नु-खेलाउनुको महत्व स्थापित गर्छ । त्यो घेरा भनेको दर्शकको हो । यसकारण खेलकुदमा दर्शकको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने गर्छ ।

सामान्यतया परम्परागत खेलकुदको यो मान्यता कहिलेकाहीँ अक्षरशः लागू भएको देखिन्न । हो, फ्रेन्चाइज खेलकुदमा सबैभन्दा महत्त्वपूर्ण र निर्णायक भूमिकामा दर्शक देखिँदैनन् । खेलाडी, प्रशिक्षक र अन्य प्राविधिकको चयन पनि परम्परागत सोचभन्दा फरक तरिकाले गरिन्छ । अर्थात फ्रेन्चाइज खेलकुदमा मालिक सबैभन्दा माथि हुन्छन । फ्रेन्चाइज खेलकुद भनेकै मालिक प्रधान हुने विधा हो । आधुनिक खेलकुदमा भनिने गरेजस्तो यो व्यवसायीकरणको उत्कर्ष हो । जहाँ खेलभावना सँगै नाफा र घाटालाई केन्द्रमा राखेर योजना तर्जुमा गरिन्छ । टिम तयार गरिन्छ । समर्थक लोभ्याउने रणनीतिहरू बनाइन्छ ।

नेपाली खेलकुद अहिले यस्तै एउटा मालिक प्रधान प्रतियोगिताको माहोलमा रमिरहेको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आज शनिबार कीर्तिपुरको त्रिवि मैदानमा हुने नेपाल प्रिमियर लिग (एनपिएल) ले क्रिकेट र खेलकुदमात्र नभई समग्र देशको ध्यान आफूतिर केन्द्रित गरिरहेको छ ।

क्यानले स्टार स्पोर्टसबाट १९० देशमा प्रत्यक्ष प्रसारण हुनेगरी सम्झौता गरेर पूरा विश्वको ध्यान नेपाली क्रिकेटतिर तान्ने काम गर्यो ।

नेपालमा फ्रेन्चाइज क्रिकेट हुन लागेको यसपालि पहिलो पटक होइन । क्यानले नै दुई वर्षअघि नेपाल टी-२० का नाममा विवादास्पद प्रतियोगिता गरेको थियो । त्यसअघि पनि डिपिएल, पिपिएल र इपिएलजस्ता आकर्षक प्रतियोगिता भएकै थिए । तर यसपालि क्यानले गर्न लागेको एनपिएलको माहोल फरक छ । यसले नेपाली खेलकुदसँगै समाजमा सञ्चार गरेको उर्जा विशेष छ ।

अघिल्लो पटक क्यान आफैंले आयोजना गरे पनि नेपाल टी–२० ले यत्तिको उर्जा सिर्जना गर्न सकेको थिएन । बरू विवादास्पद रूपमा प्रतियोगिता नै विदेशी कम्पनीलाई बेचेर बेटिङ, फिक्सिङ र अन्य अवैधानिक क्रियाकलापलाई माहोल बनाएको भनेर प्रतियोगिता विवादित भयो ।

यसपालि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का क्यानको सचिवमा आएसँगै नेपाली क्रिकेटको मुहार फेरिन थाल्यो । क्यानमाथिको विश्वास बढ्न थाल्यो । फलस्वरूप प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान स्वयं फ्रेन्चाइज मालिकको रूपमा नेपाली क्रिकेटमा योगदान गर्न अघि सरेका छन । जसले प्रतियोगिताको तत्कालीन भव्यतासँगै दीर्घकालीन भविष्यसमेत सुनिश्चित रहेको सन्देश दियो ।

नेपाली राष्ट्रिय टिमले यसै वर्ष दोस्रो पटक ट्वान्टी-२० विश्वकपमा सहभागिता जनाउँदै सनसनीपूर्ण प्रदर्शन गरेपछि नेपाली क्रिकेटको ब्रान्डिङ त्यसै उचालिएको थियो । क्रिकेट प्रशासनमा पारस आगमनको उत्साह अर्कै थियो । त्यसमाथि देशका प्रतिष्ठित व्यवसायीहरूको साथ सँगै एनपिएल हुन लागेपछि नेपाली क्रिकेटको उचाइ अझै माथि पुग्यो । जसलाई क्यानले स्टार स्पोर्टसबाट १९० देशमा प्रत्यक्ष प्रसारण हुनेगरी सम्झौता गरेर पूरा विश्वको ध्यान नेपाली क्रिकेटतिर तान्ने काम गर्यो ।

विश्वकै अग्रणी प्रसारण कम्पनी स्टार स्पोर्टसलाई आफूसँग जोड्न सफल एनपिएलमा आठ फ्रेन्चाइज टिमबाट मात्र १ अर्बको हाराहारीमा लगानी हुने अनुमान छ । यस अर्थमा पनि नेपाली क्रिकेटको मुहार फेर्ने अपेक्षा गरिएको एनपिएल अभियानको सबैभन्दा महत्त्वपूर्ण सरोकारवाला भनेको फ्रेन्चाइज मालिक हुन् ।

आखिर को हुन् त सय करोडको हाराहारीमा खर्च गरेर नेपाली क्रिकेटमा योगदान गर्न अघि सर्ने फ्रेन्चाइज मालिकहरु ?

खेलाडी डटकमले आसन्न एनपिएलका आठ फ्रेन्चाइज टिम खरिद गर्ने मालिकहरुको संक्षिप्त परिचय दिने प्रयास गरेको छ :

विराटनगर किंग्स :

विराटनगरका मालिक पारस लुनियाबीच ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी पारस लुनियाको स्वामित्वमा रहेको एमएडी ड्रिम्स स्पोर्टसले एनपिएलमा विराटनगर किंग्सको स्वामित्व खरिद गरेको छ ।

विराटनगरका स्थानीय बासिन्दा लुनियाले फ्रेन्चाइज खरिदका लागि नेपाल क्रिकेट संघलाई १ करोड ५१ लाख रुपैयाँ बुझाएका थिए । एनपिएलको पहिलो संस्करणमा फ्रेन्चाइज फीसँगै टोलीको कुल बजेट १० करोडभन्दा माथि हुने अनुमान छ ।

राष्ट्रिय टोलीका पूर्वअलराउन्डर लुनिया चेम्बर अफ कर्मस मोरङका बोर्ड सदस्य हुन् । युवा व्यवसायी लुनिया महालक्ष्मी वायर एन्ड केबल्सका मालिक हुन् ।

जनकपुर बोल्ट्स :

जनकपुरका मालिकमध्ये एक अमित श्रेष्ठ ।

जनकपुर बोल्ट्सको स्वामित्व ड्रिम्स स्पोर्टसको नाममा छ । एनपिएलमा फ्रेन्चाइजकोतर्फबाट टिमको नेतृत्व अमित श्रेष्ठले गर्नेछन् । उनीसँगै अमेरिकामा व्यवसाय गर्ने मालिकहरूको संयुक्त स्वामित्वमा बोल्ट्स नामको अन्तर्राष्ट्रिय फ्रेन्चाइज छ ।

जारी एनपिएलमा क्यानले दुई वर्षअघि गरेको नेपाल टी-२० लिगबाट निरन्तर रहेका दुई मालिकमध्ये ड्रिम्स स्पोर्टस एक हो । क्यानले एक संस्करण गरेर बन्द गरेको नेपाल टी-२० को विजेता लुम्बिनी अल स्टार्सको स्वामित्व दुई वर्षअघि यही फ्रेन्चाइजसँग थियो । विवादित नेपाल टी-२० बाट एनपिएलमा पनि टिम लिने अर्को टोली पोखरा एभेन्जर्स हो । पोखराले पुरानै फ्रेन्चाइज पाए पनि ड्रिम्स स्पोर्टसले भने टिम जनकपुर लिनुपर्यो ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज बोल्ट्सको नामबाट युएई, श्रीलंका, जिम्बावे र अमेरिकामा पनि यो टिमले विभिन्न प्रतियोगिता खेल्छ । त्यही बोल्ट्स फ्रेन्चाइजको प्रभावकै कारण न्युजिल्यान्डका स्टार क्रिकेटर जिम्मी निसम जनकपुर बोल्टससँग अनुबन्धित भएका हुन् । जनकपुरको नामपछि बोल्ट्स पनि त्यही कारण राखिएको हो ।

जनकपुर बोल्ट्सको फ्रेन्चाइज खरिदका लागि टोलीले क्यानलाई २ करोड ५ लाख रुपैयाँ बुझाएको थियो । एनपिएलको पहिलो सिजनमा अन्य टोलीजस्तै जनकपुरको बजेट पनि १० करोडभन्दा माथि पुग्ने अनुमान छ ।

चितवन राइनोज :

आयुश न्यौपाने (बीच) ।

क्रिकेटप्रति गहिरो लगाब राख्ने चितवन मेडिकल कलेज (सिएमसी)ले खरिद गरेको फ्रेन्चाइज हो चितवन राइनोज । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चितवन राइनोज होइन, चितवन गैंडाज’ भन्नुस भनेर आह्वान गरेपछि टोलीको ब्रान्डिङ माथिल्लो चरणमा उक्लिएको थियो ।

एनपिएलमा सिएमसीकोतर्फबाट आयुश न्यौपानेले चितवन राइनोजको नेतृत्व गर्नेछन् । मालिकको नाममा क्यानले आयुशसँगै हरिशचन्द्र न्यौपानेको नाम सार्वजनिक गरेको छ ।

चितवन राइनोजले फ्रेन्चाइज खरिदका लागि क्यानलाई १ करोड ७६ लाख १ हजार रुपैयाँ बुझाएको थियो । पहिलो सिजन समग्रमा १० करोडभन्दा माथिको बजेट बनाएको टोलीले नेपाली क्रिकेटको विकासमा सहकार्य गर्न लगानी गरेको बताउने गरेको छ ।

निर्माणाधीण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका कारण चितवनमा क्रिकेटको क्रेज ह्वात्तै बढेसँगै त्यही जिल्लाबाट आएको सिएमसीले एनपिएलमा गरेको लगानीलाई रणनीतिक रूपमा लिइएको छ ।

काठमाडौं गुर्खाज :

काठमाडौंका मालिकहरु । 

एनपिएलका आठ फ्रेन्चाइजमध्ये मालिकको नामका आधारमा सबैभन्दा ठूलो टिम काठमाडौं गुर्खाज हो । सञ्चार व्यवसायी कैलाश सिरोहिया, गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतो र होटल व्यवसायी अरुण सर्राफजस्ता नेपाली कर्पोरेट क्षेत्रका तीन महारथीको साझा टिम भएकाले काठमाडौं गुर्खाजबाट अपेक्षा पनि ठूलै छ ।

सिरोहिया देशकै नम्बर एक सञ्चारगृह कान्तिपुरका मालिक हुन् । उनको अन्य थुप्रै क्षेत्रमा पनि ठूल्ठुला लगानी छ । यसैगरी एनआरएनका पूर्वअध्यक्ष महतो मेडिसिटी अस्पतालका सञ्चालक हुन् । यसबाहेक पनि महतोको अरू थुप्रै क्षेत्रमा लगानी छ । होटल व्यवसायी सर्राफ काठमाडौं दरबारमार्गको याक एन्ड यति होटलका मालिक हुन् । हस्पिटालिटी व्यवसायमा निकै ठूलो प्रभाव राख्ने उनको लगानीमा अरू पनि थुप्रै होटल रहेको बताइन्छ ।

सिरोहिया, महतो र सर्राफजस्ता ठूला व्यापारीको स्वामित्व रहेको काठमाडौं गुर्खाजले फ्रेन्चाइजकै लागि मात्र ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँ क्यानलाई तिरेको थियो । यसबाहेक टिम निर्माणदेखि प्रतियोगिता नसकिएसम्म टोलीले १२ करोड रुपैयाँको हाराहारीमा खर्च गर्ने योजना बनाएको बताइन्छ ।

पोखरा एभेन्जर्स :

पोखरका मालिक सुवोद त्रिपाठी (बायाँ) । 

पोखरा एभेन्जर्सको स्वामित्व नेपाल टी-२० प्रालिको नाममा छ । यसको मालिकचाहिँ आइटी व्यवसायी सुबोध त्रिपाठी र मनोवल श्रेष्ठ हुन् । खासमा नेपाल क्रिकेट संघले दुई वर्षअघि आयोजना गरेको नेपाल टी-२० मा पनि पोखराको मालिक त्रिपाठी नै थिए ।

दुई वर्षअघि नै पोखरा एभेन्जर्सको नाममा ठूलो लगानी गरिसकेका त्रिपाठीले यसपालि पनि त्यही फ्रेन्चाइज पाउनका लागि मालिक घोषणा हुनुपूर्व नै पत्रकार सम्मेलन गरेर यो नाममाथि दाबी प्रस्तुत गरेका थिए । पोखरा एभेन्जर्स नामकै लागि त्रिपाठीले सबैभन्दा बढी फ्रेन्चाइज फी तिरेका थिए । उनले यो फ्रेन्चाइज पाउनका लागि ३ करोड ५७ लाख रुपैयाँ तिरेका थिए ।

आइटी र टेलिभिजिनसँगै आल्मुनियम तथा युपिभिसी निर्माण सामग्री उत्पादनमा समेत सक्रिय त्रिपाठीले पहिलो सिजनको एनपिएलका लागि १० देखि १२ करोड रुपैयाँ लगानी गर्ने योजना बनाएका छन् ।

एनपिएलमा हुने खर्चलाई भविष्यको लगानी मान्ने त्रिपाठीको क्रिकेटसँग गहिरो लगाव छ । नेपालको क्रिकेटलाई एउटा आकर्षक उद्योगको रूपमा अगाडि बढाएर यही खेलमार्फत देशको खेल पर्यटनसँगै समग्र आर्थिक विकासमा योगदान गर्न सकिने विश्वासमा लगानी गरेको उनी बताउँछन् ।

लुम्बिनी लायन्स :

लुम्बिनीका मालिक इश्वर जिसी (बीच) । 

लुम्बिनी प्रदेशलाई प्रतिनिधित्व गर्दै एनपिएलमा बनाइएको फ्रेन्चाइज लुम्बिनी लायन्सको स्वामित्व फर्चुना हेल्थ केयरसँग छ । कम्पनीले फ्रेन्चाइजका लागि मात्र १ करोड ८६ हजार ४ रुपैयाँ खर्च गरेको थियो ।

एनपिएलका लागि १० करोडभन्दा माथिको बजेट बनाएको टोलीको नेतृत्व फर्चुनाको तर्फबाट ईश्वर जिसीले लिएका छन् । स्वास्थ्य व्यवसायी उनी जिसी ग्रुपका मालिक हुन् । अस्ट्रेलियाका बेन कटिङलाई एनपिएलका लागि अनुबन्ध गरेको टोलीले पहिलो सिजन १२ करोड रुपैयाँ खर्च गर्ने योजना बनाएको बताइएको छ ।

कर्णाली याक्स :

कर्णालीका सह -मालिक गृहेन्द्र घिमिरे । 

हिमालयन बिल्डर्सको नाममा रहेको कर्णाली याक्सले फ्रेन्चाइज किन्नका लागि नेपाल क्रिकेट संघलाई १ करोड ११ लाख ७० हजार रुपैयाँ बुझाएको थियो ।

हिमालयन बिल्डर्सका मालिक झनकदत्त खनाल र निर्माण व्यवसायसँगै फिल्म उद्योगमा पनि संलग्न गृहेन्द्र घिमिरेको स्वामित्वमा रहेको क्लब आसन्न एनपिएलको सबैभन्दा चलायमान टिम हो । भारतीय राष्ट्रिय टिमका पूर्वओपनर शिखर धवनलाई अनुबन्ध गरेको कर्णाली याक्सले पहिलो सिजनमै १२ करोड हाराहारीमा लगानी गर्ने अनुमान छ ।

मुख्य मालिक खनाल निर्माण व्यवसायी हुन् । सहमालिक घिमिरे भने मनोरञ्जनको दुनियाँका चल्तापूर्जा उद्यमी हुन् । यही कारण सामाजिक सञ्जालमा कर्णालीको रवाफ अन्य टोलीको तुलनामा बढी देखिन्छ ।

सुदूरपश्चिम रोयल्स :

सुदूरपश्चिमका मालिक स्वतन्त्रप्रताप शाह (बीच) । 

अम्पायर स्पोर्ट्स कम्पनीको नाममा सुदूरपश्चिम रोयल्सको स्वामित्व छ । फ्रेन्चाइज फीस्वरूप नेपाल क्रिकेट संघलाई १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँ तिरेको टोलीका मालिक स्वतन्त्रप्रताप शाह हुन् ।

अस्ट्रेलियामा बसोबास गर्ने शाह एनआरएन अस्ट्रेलियाका सचिव हुन् । साथै उनी अन्तर्राष्ट्रिय युवा व्यवसायी महासंघको संस्थापक अध्यक्ष पनि हुन् । सन २०२१ मा स्थापित यो महासंघमा १२ देशका युवा व्यवसायी आबद्ध छन् । तिनै व्यवसायीहरूको लगानीमा शाहको नेतृत्वमा सुदूरपश्चिमको राजधानी धनगढीमा पाँचतारे होटल निर्माणको योजनामा काम भइरहेको बताइएको छ ।

शाहले अस्ट्रेलियाका लागि नेपालको पर्यटन सद्भावना दूतको भूमिकामा काम गरिसकेका छन् । दुई दशकभन्दा लामो समयदेखि अस्ट्रेलिया बस्दै आएका शाहले ब्रिसबेनमा अम्पायर लायन्स क्रिकेट क्लब सञ्चालन गरिरहेका छन् । जसले क्विन्सल्यान्ड राज्यस्तरमा हुने विभिन्न क्रिकेट गतिविधिमा भाग लिने गर्छ ।

स्वामित्व अम्पायर स्पोर्ट्ससँग रहेको सुदूरपश्चिम रोयल्सको मालिक शाह भए पनि उनले यसलाई समग्र प्रदेशको स्वामित्वमा रहेको टिम भन्ने गरेका छन् ।