काठमाडौं । नेपाली क्यालेन्डरले आजबाट नयाँ वर्षलाई स्वागत गरेको छ । नयाँ वर्षमात्र होइन, आजको दिनबाट नयाँ दशक नै सुरु हुँदै छ । जसोतसो नेपाली खेलकुदले पनि २०७० को दशक बिदा गरेको छ, २०८० को दशक सुखद हुने आशाका साथ ।
आउँदो दशक सुखद हुनका लागि वर्ष २०८० सुखद हुनुपर्छ र त्यसको अनुमान बितेको दशक र बितेको वर्षमा तयार गरिएको आधारले तय गर्छ । यस अर्थमा नेपाली खेलकुदले बितेको वर्ष/दशकमा कस्तो आधार बनायो, दीर्घकालीन तथा अल्पकालीन यात्राका लागि कस्तो बाटो हिँड्यो भन्ने कुराको समीक्षा जरुरी हुन्छ ।
पक्कै पनि बितेको दशक नेपाली खेलकुदका लागि पनि संक्रमणको समय रह्यो । गणतान्त्रिक नयाँ संविधान जारी भएपछि त्यही अनुसारका कानुनहरू निर्माण र कार्यान्वयनको काम यही समयमा सुरु भएका छन् । नेपालले विनासकारी महाभूकम्पको ताण्डव बेहोरेकै दशकमा सम्पूर्ण मानव जातिले नै कोभिड-१९ को महामारी खेप्नुपर्यो । महामारी ओरालो लाग्दै गर्दा विश्वव्यापी आर्थिक मन्दीले फेरि जकडिरहेको छ ।
यिनै कारण पनि खेलकुदमात्र होइन, कुनै पनि क्षेत्रलाई यो कालखण्डमा अगाडि बढ्न कठिन थियो । पुरानो अवस्था जोगाइराख्ने चुनौती थियो । अझ अत्यन्तै पिछडिएको अवस्थामा रहेको नेपाली खेलकुदसामु चुनौतीहरू थप कठिन हुनु स्वभाविक हो । निरपेक्ष भएर मूल्यांकन गर्दा धेरै कुरा व्यक्ति वा कुनै संस्था विशेषको हातभन्दा बाहिर थियो । परिस्थिति प्रतिकूल हुँदा धेरै काम गर्न नसकिएको स्वभाविक हो ।
|
पूरा दशकलाई फर्केर हेर्दा चाहेर पनि गर्न नसकिने अवस्था नेपाली खेलकुदले बेहोरिइसकेको छ । जतिसुकै दयनीय तरिकाले भए पनि त्यसलाई इतिहास बनाइसकेको छ । पार लगाइसकेको छ । यस अर्थमा आगामी दशक स्वतः सुखद हुने अनुमान गर्न सकिन्छ ।
तर, त्यसका लागि कठिन परिस्थितिका बावजुद नेपाली खेलप्रशासनले गरेका प्रयास, सहज अवस्था आएपछि कसरी अगाडि बढ्ने भनेर बनाएका योजना लगायतका विषयतिर घोत्लिने हो भने चाहिँ अवस्था झनै निराशाजनक देखिन्छ । एकातिर अनुकूल बन्दै गएको समयले दिएको अपार सम्भावना छ भने अर्कोतिर आर्थिक रूपमा भ्रष्ट, नैतिक रूपमा पतित, क्षमताका हिसावमा कुनै भिजन र योजना नरहेको अनि व्यावहारिक रूपमा रामभरोसे स्वभावका स्वार्थी प्रशासकहरूका कारण चुनौतीको अजङगको पहाड देखिन्छ ।
ओलम्पियन रघुराज वन्तको भाषामा भन्ने हो भने नेपाली खेलकुद अहिले क्रसरोड (चौराहा) मा पुगेर दिशाविहीन भएको छ । चौराहामै पुग्दा हो कुन बाटो जाने भन्नेमा सुझबुझपूर्ण निर्णय गर्ने । चौराहाबाट सही बाटो समाउन सक्यो भने गन्तव्यमा पुगिन्छ । जबकि एउटा गलत निर्णयले जति हिँडे पनि कहिल्यै गन्तव्यमा नपुग्ने अवस्था सिर्जना हुन्छ ।
हो, नेपाली खेलकुदले चौराहाबाट सही बाटो लिने संकेत देखाएको छैन । पाइलाहरू गलत बाटोतिर सोझिन खोज्दैछन्, महेन्द्रनगर जानुपर्ने यात्री नारायणघाट पुगिसकेपछि पूर्व हान्निन खोजेजस्तै । अथवा बाक्लो कुहिरोमा सुन्य भिजिविलिटीको अवस्थामा उडान भरिरहेको जहाजजस्तै ।भनिन्छ, आलोचना गर्नु भनेको सबैभन्दा सजिलो काम हो । अझ खेलप्रशासनलाई त लाग्न सक्छ, ‘नेपाली मिडिया एकदमै नकारात्मक छ । आलोचना मात्र गरिरहन्छ ।’
|
नेपाली खेलकुदको हकमा भइरहेको पनि त्यस्तै हो । सञ्चारकर्मीले आफ्नो धर्मअनुसार सत्य मात्र लेख्दा धेरै कुरा नकारात्मक देखिन्छ । खासगरी मैदान वाहिरको विषयमा कलम चलाउँदा सकारात्मक कुरा निकै कम भेटिन्छन् । ‘ब्ल्याक एन्ड ह्वाइट’ हुँदा सबैतिर निराशा मात्र देखिन्छ । नेपाली खेलप्रशासन समयले दिएको अवसर उपयोग गर्नेभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थको तानाबुना बुन्नमै बढी मस्त भएपछि आशा गर्नु पनि कसरी ?
७० को दशकको अन्तिम वर्ष २०७९ लाई मात्र फर्केर हेर्ने हो भने नेपाली खेलकुद आफ्नो मूल्यमान्यताबाट कति धेरै च्युत भयो भन्ने छर्लङ देखिन्छ । खेलकुदमा लागेकाहरू कतिसम्म लाज पचाउन सक्छन्, कतिसम्म गैरजिम्मेवार बन्न सक्छन्, यो क्षेत्रमा जवाफदेहिताको कति कमी छ, सुशासन र पारदर्शिताको मान्यतामाथि नेपाली खेलकुदले कसरी ‘बलात्कार’ गरिरहेको छ, स्वार्थप्रेरित राजनीतिका षडयन्त्रहरूबाट नेपाली खेलकुद कसरी अपराधीकरणतिर जाँदै छ भन्ने बुझ्न कुनै दुर्बिन आवश्यक छैन । बितेको वर्ष नेपाली खेलकुदमा भएका गतिविधि एक ठाउँमा राखेर हेरे पुग्छ ।
बितेको वर्ष नै हो, राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नावालिग बलात्कारको मुद्दा पर्यो । एउटा अदालतको एउटा निर्णयले उनलाई स्वभाविक रूपमा पुर्पक्षका लागि थुनामा पठायो । त्यसपछि माथिल्लो अदालतको अर्को निर्णयले बलात्कारजस्तो जघन्य अपराधमा पनि धरौटीमा छुटेर अभियुक्तलाई देश विदेश सयर गर्ने र खेल्ने छुट दियो । अदालतमा मुद्दा चलिरहेको अभियुक्तलाई सम्बन्धित खेलको संघ र स्वयं सरकारको समेत संलग्नतामा राष्ट्रिय नायकका रूपमा आश्चर्यजनक भाष्य स्थापित गर्ने र उन्मुक्ति दिने जालझेल रचियो ।
यही वर्ष कार्यसमितिका सदस्यहरूले बेटिङ, फिक्सिङ र भ्रष्टाचारको सम्भावना देखाएर हुँदैन भन्दाभन्दै, विभिन्न सरोकारवालाहरूले विरोध गरिरहे पनि, अदालतमा परेको मुद्दालाई बेवास्ता गर्दै नेपाल क्रिकेट संघ (क्यान) नेतृत्वले देशको कानुन विपरीत भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नेपाल टी-२० लिग बेच्ने विवादास्पद निर्णय गर्यो ।
|
पहिल्यै सचेत गराइएजस्तै लिग बेटिङ र फिक्सिङको थलो बन्यो । पहिलो पटक नेपाली क्रिकेटको समाचार ठूला अन्तर्राष्ट्रिय समाचारमाध्यमहरूमा बेटिङ र फिक्सिङका कारण ठुल्ठूला अक्षरमा छापिए । नेपाली क्रिकेटमा कहिल्यै नपखालिने गरी दाग लाग्यो । केही खेलाडीहरू त्यसको सिकार बने । बेटिङ र फिक्सिङमा संलग्नता प्रमाणित भएपछि केही खेलाडी थुनामा छन् । बेटिङ गर्दै गरेको अवस्थामा सयभन्दा बढी सर्वसाधारण र कतिपय भारतीयहरूलाई प्रहरीले पक्राउ गर्यो ।
बेटिङ र फिक्सिङमा संलग्नता प्रमाणित भएकाहरू कानुनी कारबाहीको दायरामा आए । तर त्यसका लागि आधार बनाइदिने क्यान नेतृत्वलाई चाहिँ जवाफदेहिताको दायरामा समेत ल्याइएन । विवादास्पद भारतीय कम्पनीका मालिकहरू उल्टै क्यान र नेपाली क्रिकेटमाथि थुप्रै दोषारोपण गरेर फर्किए । उनीहरूमाथि नेपाली प्रशासनको कुनै डण्डा चलेन । उल्टै क्यान नेतृत्व त विभिन्न बहानामा पुरस्कृत भइरहेको नै छ ।
फुटबलमा यही वर्ष निर्वाचनले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्यो । तर सुशासनको नारा घन्काएर निर्वाचित संघमा चुनावको तेस्रो दिनबाटै विवाद छताछुल्ल भयो । आन्तरिक विवादकै कारण निर्वाचित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को एउटै वैठक निर्विवाद रूपमा सम्पन्न हुन सकेको छैन ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट आउने रकमसमेत आन्तरिक किचलोका कारण एन्फाले पाउन सकेको छैन । आन्तरिक रूपमा आफैंले कार्यक्रम गरेर दुई रुपैयाँ पनि आर्जन गर्न नसकेको संस्था इतिहासमै पहिलो पटक आर्थिक रूपमा टाट पल्टिएको स्वयं जिम्मेवार पदाधिकारीहरू स्वीकार्छन् । जसले गर्दा सहिद स्मारक लिग गर्न नसक्ने दुरावस्थामा एन्फा पुगेको छ ।
|
करातेमा लामो समयदेखिको विवाद मिलाउने प्रयासस्वरुप राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी)समेतको सहमतिमा एउटा प्रयास थालेको छ । धेरै पक्षलाई समेटेर तदर्थ समिति बनाएपछि करातेको चुनावले नयाँ नेतृत्व पनि पाइसक्यो । तर अन्तर्राष्ट्रिय मान्यताप्राप्त कराते महासंघले त्यसविरुद्ध मुद्दा दायर गरेको छ । यसकारण करातेको दीर्घकालीन विवाद समाधान हुनेमा पनि शंका यथावत छ ।
अन्तर्राष्ट्रियजगतमा नेपाली खेलकुदको शान राख्ने अर्को खेल तेक्वान्दोको हालत झनै डामाडोल छ । आफ्नो तरिकाले चलिरहेको संघमाथि राखेपले हस्तक्षेप गर्दा तेक्वान्दो अर्को ठूलो विवादमा जाकिएको छ । राखेपले विघटन गरेको पक्षले अदालतको ढोका ढकढक्यायो । अदालतले पनि राखेपको निर्णय खारेज गरिदिएको छ ।
फुटबल र क्रिकेट नेपालभित्र सबैभन्दा बढी लोकप्रियता भएका सामूहिक खेल हुन् । कराते र तेक्वान्दो अन्तर्राष्ट्रिय पदक जित्ने दृष्टिले हेर्दा सफल खेल । यसकारण नेपाली खेलकुदको समग्र मूल्यांकनका लागि यी खेलहरू राम्रो प्रतिनिधिपात्र बन्न सक्छन् । आफैंले बनाएका विधि र विधान कसरी नेपाली खेलकुदले मिचिरहेको छ भन्ने हेर्न यिनै चार खेलको अवस्था बुझे पुग्छ ।
पक्कै पनि कोभिड-१९ महामारीका कारण लामो समय सुस्ताएको खेलकुद यही वर्षबाट पूर्ण क्षमतामा मैदान फर्किदा धेरै सकारात्मक गतिविधि पनि भएका छन् । सुखद नतिजा आएका छन् । गण्डकी प्रदेशले नवौं बृहत राष्ट्रिय खेलकुदको आयोजना गर्यो । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनुका साथै आइसिसी विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्यो । युवा टोली २०१६ यता पहिलो पटक यु-१९ विश्वकपका लागि छनोट भयो ।
|
महिला फुटबलले साफ च्याम्पियनसिपको फाइनल पुग्नुका साथै यु-१५ साफ च्याम्पियनसिपमा उपाधि जित्यो । राष्ट्रिय महिला टिमले विश्वकपलाई छानिएको भियतनामसँग आशलाग्दो प्रदर्शन गर्यो । पुरुष टोलीले घरेलु मैदानमा भुटान र लाओससम्मिलित त्रिदेशीय कपको उपाधि जित्यो ।
बक्सिङमा सुष्मा तामाङले जुनियर एसियन च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितिन् । विश्व च्याम्पियनसिपमा नेपाली बक्सरले केही फाइट जितेर आशा जगाए । जुनियर एसियन च्याम्पियनसिपमा थप पदक प्राप्त भयो । एथलेटिक्सतर्फ एसियन क्रसकन्ट्रीमा नेपाली खेलाडीले दुई स्वर्ण, ४ रजत र २ कांस्य पदक जिते । पारा तेक्वान्दोमा जी१० स्तरको ग्राँपिमा सिर्जना घिसिङले स्वर्ण पदक जितिन्।
नेपाली खेलाडीले मैदानमा गरेका यस्ता आसलाग्दा प्रदर्शनबाट समग्र खेलकुद र समर्थकलाई उत्साहित बनाउने चाहिँ तिनलाई आगामी दिनमा पनि कुशलतापूर्वक डोर्याउने प्रशासनको प्रतिबद्धताले हो । जुन नेपाली खेल प्रशासकहरूले देखाउन सकेका छैनन् । सही तरिकाले उपयुक्त योजनासहितको नेतृत्व भए खेलाडीले बनाएको त्यो आधारमाथि टेकेर भविष्यमा थप सफलता प्राप्त हुने थियो ।
प्रशासनिक रूपमा नेतृत्व सही भए, आर्थिक रूपमा पारदर्शी तथा प्राविधिक रूपमा दूरदर्शी भए खेलकुदले ठूलो आशा राख्न सक्थ्यो । तर, नेतृत्व अकर्मण्य हुँदा वितेको वर्ष भौतिक पूर्वाधारमा वर्षौदेखि घिस्रिइरहेका केही योजनामा फोस्रा आश्वासन थपिनुबाहेक केही हुन सकेन ।
|
फेरि पनि नेपाली खेलकुद चौराहामा अलपत्र छ । यही समय हो, सही मार्ग अवलम्बन गर्ने । एउटा सही निर्णयले नेपाली खेलकुदलाई नयाँ उचाइ दिनेछ । यसैगरी एउटा गलत निर्णयले नेपाली खेलकुदलाई दुर्घटनातिर धकेल्न सक्छ ।
नेपाली खेल प्रशासकहरूलाई सही मार्ग लिने बुद्धि र विवेक प्राप्त होस् । नयाँ वर्ष २०८० सहित दशक प्रारम्भ वर्षको शुभकामना !