इयर इन्डर्स २०२१

खेलकुदले आर्जेका अविस्मरणीय पलहरू

अत्यन्तै व्यस्त र चर्को प्रतिस्पर्धात्मक वर्ष २०२१ मा खेलकुद क्षेत्रले समग्र विश्वलाई राहत महशुष गर्ने ठूल्ठुला अवसरहरू प्रदान गरेर बिदा भएको छ ।

पक्कै पनि कोभिड १९ महामारीबाट थलिएको विश्वमा थुप्रै उतारचढावहरू भए । थुप्रै भावुक क्षणहरूसँग विश्व खेलकुदले साक्षात्कार गर्नुपर्यो । खेलाडीहरू स्वभाविक मानवीय कमजोरीका सिकार भए भने कतिपय अवस्थमा त्यसमाथि विजय पनि प्राप्त गरे ।

फर्मुला वान

डिसेम्बरको मध्यमा फर्मुला वानमा एउटा यस्तो नाटक र विवाद मिश्रित दृष्य भयो, जसले पूरा विश्व खेलकुदको ध्यान एकत्रित गर्न सफल भयो ।

रेडबुलका म्याक्स भेर्सटापनले सात पटकका च्याम्पियन मर्सिडिजका लेविस ह्यामिल्टनलाई अन्तिम ल्यापमा उछिन्दै उपाधिमा कब्जा जमाए । जुन फर्मुला वानका समर्थकहरूका लागि एउटा सनसनीपूर्ण र अपत्यारिलो नतिजा थियो ।

इरिक्सनको स्वास्थ्य

फुटबलको युरोपियन च्याम्पियनसिपमा उदघाटन खेल नै निक्कै अप्रिय रहयो । मुटुको समस्याका कारण मैदानमै ढलेका डेनमार्कका क्रिस्टियन इरिक्सनको जीवन बचाउन चिकित्सकहरूले गरेको मेहनतमा जति प्रतिबद्धता सायद अरु कुनै कुरामा पाउन नसकिएला ।

फिनल्यान्डविरुद्धको उदघाटन खेलको पहिलो हाफमा मैदानमा इरिक्सन अचानक लडेपछि मैदानमै लामो समयसम्म उनको उपचार गरिएको थियो । मैदानमा उपचार गर्दाको प्रत्येक मिनेट घण्टौं लामो जस्तो अनुभव भएको थियो ।

कोपनहेगनको पार्केन रंगशालामा घरेलु टोली १–० को नतिजामा पराजित भयो । तर त्योभन्दा ठूलो चोट इरिक्सनको अस्वस्थताले दिएको थियो । मैदानमा चिकित्सकहरूले इरिक्सनको उपचार गरिरहँदा उनका टिम सहयात्रीहरूले वरिपरीबाट पर्खाल बनेर उनलाई छेकेका थिए । जुन विश्वभरबाट करोडौं दर्शकले टेलिभिजनमा हेरे ।

विश्व खेलकुदमै कहिलेकाँही देखिने भावुक क्षण थियो त्यो । केहीबेरको उपचारपछि मैदानबाट अस्पताल पुर्याइएका इरिक्सन प्रतियोगिता दौरान नै ठीक भएर सहयात्रीहरूलाई हौस्याउन अभ्यास स्थल पुगे । डेनमार्कले सेमिफाइनलसम्मको सनसनीपूर्ण यात्रा इरिक्सनप्रति समर्पित गर्यो ।

भावविव्हल मेसी

बार्सिलोनासँगको २१ वर्षे सम्बन्धमा पूर्णविराम लगाउँदै पेरिस सेन्ट जर्मेन (पिएसजी) सरुवा हुनुअघिको अन्तिम पत्रकार सम्मेलनमा अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसी भावविव्ह्ल भए । करियर सुरु गरेदेखि सधै समर्पित हुँदै आएको क्लबले थप समय आफ्नो सेवा लिन असमर्थता जनाएपछि मेसीका आँखा रसाउनु स्वभाविक थियो । 

मेसी दक्षिण अमेरिकी फुटबलको सबभन्दा ठूलो मानिने ब्राजिलविरुद्धको खेलमा अर्जेन्टिनाका लागि खेल्दै थिए । कोभिड १९ को कारण लागु गरिएका स्वास्थ्य मापदण्डविपरित केही खेलाडीले क्वारेन्टिन नियम मिचेको भन्दै ब्राजिली स्वास्थ्य अधिकारीहरू मैदानको बीचमै गएर खेल रोके । विश्वकप छनोटअन्तर्गतको उक्त खेलमा स्वास्थ्य मापदण्ड मिच्ने खेलाडीहरूलाई जेल सजाँय हुन सक्थ्यो । तर मेसीले आफ्नो व्यक्तित्व प्रयोग गर्दै नेतृत्व क्षमता प्रदर्शन गरे र विवाद सामसुम पारे ।

खेलाडीको मानसिक स्वास्थ्य

कोभिड १९ को विश्वव्यापी महामारीका कारण तनाव सामना गर्नुपर्दा खेलाडीहरूको मानसिक स्वास्थ्यको विषय पनि वर्ष २०२१ मा छलफल र चर्चाको मुख्य विषय बन्यो ।

टेनिसमा विश्व नम्बर एक महिला खेलाडी नाओमी ओसाकाले यो वर्ष फ्रेन्च ओपन बीचमै त्याग्नुपर्यो । आफू झण्डै तीन वर्षदेखि डिप्रेसनको सिकार भएको भन्दै पोस्ट म्याच कन्फरेन्समा उपस्थित हुन अस्विकार गरेकी थिइन् ।

फ्रेन्च ओपनको आयोजकले पत्रकार सम्मेलनमा उपस्थित हुनुपर्ने नियम बाध्यकारी भएको भन्दै दबाब दिएपछि ओसाकाले प्रतियोगिता बीचमै त्याग्ने निर्णय लिइन । त्यस दौरान उनलाई अन्य ग्राण्ड स्लाम आयोजकहरूले पनि पत्रकार सम्मेलनमा उपस्थित नहुने भए सहभागी नगराउने चेतावनी दिएका थिए ।

त्यसपछि स्वर्ण पदकको मुख्य दाबेदार मानिएकी अमेकिरी जिम्न्यास्ट सिमोन बाइल्सले टोकियो ओलम्पिकको ठूलो स्टार हुनुको दबाबका कारण प्रतिस्पर्धामा भाग नलिने निर्णय लिइन ।

पक्कै पनि वर्ष २०२१ मा भएका विभिन्न खेलहरूले दूर्लभ तथा असाधारण क्षणहरू पनि प्रस्तुत गरे ।

अनुपम खेल भावना

कतारका मुटाज इसा बार्शिम र इटालीका जियानमार्को टाम्बेरीले विश्व एथ्लेटिक्समा एउटा छुट्टै प्रेरणादायी अध्याय सिर्जना गरे । ओलम्पिक हाई जम्पको स्वर्ण पदक दुई खेलाडीलाई बाँढ्न आयोजकलाई सहमत गराएर उनीहरूले प्रेरणादायी खेलाडीको अवार्ड जिते ।

पहिलो प्रयासमा दुवैले २.३७ मिटर नाँघे । त्यसपछि २.३९ मिटरका लागि गरिएको प्रयासमा तीनै पटक दुवै खेलाडी असफल भए । त्यसपछि विश्व च्याम्पियन बार्शिमले आयोजकसँग दुवै खेलाडीलाई स्वर्ण दिन अनुरोध गरे । आयोजकले दुई खेलाडीको त्यो खेल भावनाको सम्मान गर्दै दुवैलाई स्वर्ण पदकबाट विभुषित गर्यो । त्यो विधामा रजत पदक कसैलाई पनि दिइएन ।

बार्होल्मको कीर्तिमान

नर्वेका कार्टसेन वार्होल्मले पुरुष चार सय मिटर हर्डल्समा विश्व कीर्तिमान भंग गरेर ओलम्पिक इतिहासकै सर्वोत्कृष्ट रेसमध्ये एकका रुपमा फाइनल प्रतिस्पर्धालाई स्थापित गराए ।

जोकोभिचको अपूरो वर्ष

टेनिसका विश्व नम्बर एक पुरुष खेलाडी नोभाक जोकोभिच टोकियो ओलम्पिकको सेमिफाइनलमा निराश भए । यसैगरी युएस ओपनको फाइनलमा सर्बियाली स्टार जोकोभिचको हार पनि लामो समयसम्म टेनिस समर्थकको मानसपटलमा ताजा नै रहनेछ । त्यही हारका कारण उनी एउटा क्यालेन्डर वर्षका सबै चार ग्राण्ड स्लाम (गोल्डेन स्लाम) जित्ने अवसरबाट चुकेका थिए ।

सनसनीपूर्ण किशोरी राडुकानु

इम्मा राडुकानुले १८ वर्षको उमेरमा युएस ओपनको उपाधिमा कब्जा जमाएर ग्राण्ड स्लाम जित्ने पहिलो छनोट खेलाडीका रुपमा नाम लेखाइन् । १९७७ यता ग्राण्ड स्लामको एकल उपाधि जित्ने पहिलो बेलायती खेलाडीका रुपमा पनि नाम लेखाउँदा राडुकानुको चर्चा चुलिएको थियो ।

यौन दुर्व्यवहारको आरोप र फिर्ता

युगलतर्फ पूर्व विश्व नम्बर एक पेङ शुईले पूर्व उपप्रधानमन्त्रीमाथि आफूलाई यौनदुर्व्यवहार गरेको आरोप लगाइन् । आरोप लगाएपछि लामो समय बेपत्ता भएकी उनले पछि भने आफूमाथि कसैले दुर्व्यवहार नगरेको र आफूले कसैलाई त्यस्तो आरोप पनि नलगाएको भन्दै माहोल मत्थर पार्ने प्रयास गरिन् ।

कम्युनिस्ट शासन व्यवस्था भएको चीनमा उनको आरोपपछि राजनीतिमा हलचल उत्पन्न भएको थियो । महिला टेनिस संघ (डब्लुटिए)ले पनि राजनीतिक कारण देखाउँदै लामो समय चीनमा प्रतियोगिताहरूमाथि निलम्बन लगाएको थियो ।

दुर्घटनामा उड्स

फेब्रुअरीमा टाइगर उड्स एउटा डरलाग्दो कार दुर्घटनामा परे । बाटोबाट उनको कार चिप्लिएर खस्दा उड्सको शरिरका थुप्रै हड्डी भाचिएका थिए । उनलाई तत्काल लस एन्जल्स अस्पताल पुर्याइयो । अस्पतालमा केही दिनको बसाईपछि शल्यक्रिया गराएका उड्स अहिले पनि निको हुने क्रममा छन् ।

सबै १० विकेट पटेलको नाममा

वर्ष २०२१ को अन्तिम समयतिर क्रिकेटले पनि केही सम्झन लायक स्मरणहरू दियो ।

न्युजिल्यान्डका अजाज पटेलले भारतविरुद्धको टेस्टमा १० विकेट लिए । विश्व क्रिकेटको इतिहासमा टेस्टको एकै इनिङमा सबै १० विकेट लिने उनी तेस्रो बलर हुन् ।

यसैगरी अस्ट्रेलिया र इङ्ल्यान्डबीच प्रत्येक वर्ष हुने परम्परागत एसेज शृंखलाले पनि यसपाली गतिलो सुरुआत पाइसकेको छ । शृंखलाको पहिलो बलमै अस्ट्रेलियाका मिचेल स्टार्कले इङ्ल्यान्डका रोरी बर्नसलाई क्लिन बोल्ड गरेर एसेजलाई सनसनीपूर्ण सुरुआत दिलाएका थिए ।

एसेज शृंखलाको ८५ वर्षे इतिहासमा शृंखलाको पहिलो बलमै विकेट गएको यो पहिलो अवसर थियो । अभागी बर्नसका लागि टेस्टमा डक भएको यो वर्ष २०२१ मा छैटौं पटक भएकाले स्टार्कको सफलताले धेरैलाई आश्चर्यमा भने पारेन ।