काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालिन अध्यक्ष गणेश थापा निलम्बनमा थिए । भुइँचालोले पूरा देश नराम्ररी हल्लाइरहेको थियो । झन्डै १० हजार नेपालीको ज्यान गइसकेको थियो । लाखौं घर, मन्दिर, पाटी, पौवा भत्काएको भुईंचालोले फुटबलको रंगशाला पनि नराम्ररी चिरा पारेको थियो । समग्रमा फुटबल समस्यामा थियो । फुटबलमात्र होइन पूरा देश नै ठूलो प्राकृतिक संकटबाट पार पाउने संघर्षमा थियो ।
|
२०७२ साल वैशाख १२ गतेको भुईंचालोले देश हल्लाउनुअघि नै नेपाली फुटबलमा त्यस्तै भुईंचालो गइसकेको थियो । तत्कालीन अध्यक्ष थापा र उनको विरूद्धमा आन्दोलित कर्माछिरिङ शेर्पा समूहबीच नेपाली फुटबल पनि दुई चिरामा स्पष्ट विभाजित भइसकेको थियो । त्यही कठिन समयमा थापा निलम्बनमा परेपछि ललितकृष्ण श्रेष्ठले कार्यबाहक अध्यक्षका रूपमा एन्फाको नेतृत्व गर्नुपरेको थियो ।
त्यसोत स्वाभाविक रूपमै एन्फाको नेतृत्वमा पुग्नुपर्ने श्रेष्ठलाई परिस्थितिले अनपेक्षित रूपमा नेपाली फुटबलको सुप्रिमो बनाएको थियो । हो, त्यो परिस्थितिकै कारण थियो । शेर्पा समूहको आन्दोलन चलेको हुँदैनथ्यो भने पनि सायद श्रेष्ठ सहजै ड्राइभिङ सिटमा बस्न पाउने थिएनन् । थापा पक्षमा उनीसँगै रहेका अन्य थुप्रै पदाधिकारीहरू अध्यक्ष पदका दाबेदार हुनसक्थे । उसै पनि उनीहरू एक समय गीता राणा नेतृत्वको एन्फातिर लागेको भन्दै श्रेष्ठको कुरा काटिरहन्थे । थापाको कान भरिरहन्थे ।
तर श्रेष्ठमा जुन क्षमता थियो, त्यो अरूमा थिएन । समन्वयात्मक भूमिकामा श्रेष्ठ जति प्रभावकारी थिए, अरू थिएनन् । फुटबलप्रतिको लगाव उनमा जति थियो, अरूमा थिएन । विपक्षीसँग पनि हाँसेर बोल्न सक्ने र सहकार्य गर्न सक्ने खुबी जति श्रेष्ठमा थियो, अरू त्यसो गर्न सक्दैनथे । होल टाइमरका रूपमा व्यक्तिगत र पारिवारिक जिम्मेवारीभन्दा माथि उठेर फुटबलमा समर्पित हुनसक्ने प्रतिबद्धता जति श्रेष्ठमा थियो, अरूमा थिएन । इमान्दारी र त्यागको भावना जति श्रेष्ठमा थियो, अरूमा थिएन ।
यिनै कारणले हो, एउटा समूह बलियोसँग विरोधमा लागिरहेका बेला सर्वसम्मतिले नै नेतृत्वमा श्रेष्ठलाई सार्नुपरेको । तर, नेपाली फुटबलको भाग्यमा ललितकृष्ण श्रेष्ठको सबल नेतृत्व लामो समय पाउने लेखेकै रहेनछ । भुईंचालोबाट सिर्जित असहज अवस्थामा उद्दार र राहतमा व्यस्त भइरहेकै बेला श्रेष्ठ अकल्पनीय तरिकाले धर्तीबाट विदा भए ।
पाटनका स्थायी बासिन्दा श्रेष्ठको भैंसेपाटीमा घर बन्दै थियो । भुईंचालोका कारण निर्माण कार्यमा ढिलाइ भइरहेको थियो । निर्माणको काम पूरा भइसकेको थिएन । तर ज्योतिषीले घर सर्नका लागि तुरुन्तैको साइत निकाले । तत्कालका लागि राम्रो साइत भएको, नत्र अर्को राम्रो साइतका लागि लामो समय कुर्नुपर्ने बताए । ज्योतिषीले निकालेको त्यो अ‘शुभसाइत’ थियो, २०७२ साल जेठ २९ गतेको ।
ज्योतिषीको रायअनुसार त्यही दिन साइत छोप्नका लागि पूजा गर्ने, त्यसपछि परम्पराअनुसार एक रात त्यही निर्माणाधीन घरमा बसेपछि पुनः पाटन फर्किने श्रेष्ठको योजना थियो । आफ्नै परिवार, नजिकका आफन्त र औंलामा गन्न सकिने साथीहरूको बीचमा घरपूजा सम्पन्न भयो । पूजा गरेपछि कम्तीमा एक रात नयाँ घरमा बिताउनुपर्ने मान्यताअनुसार श्रेष्ठ परिवार त्यो रात त्यहीं बसेको थियो । अचानक राति ९ बजेतिर ज्योतिषीले भनेको शुभसाइत अशुभमा परिणत भयो । निर्माणाधीन घरमा अलपत्र परेका तारबाट चुहिएको करेन्ट लागेर श्रेष्ठको अकल्पनीय निधन भयो ।
नेपाली फुटबलमा सायद सबैभन्दा लोकप्रिय श्रेष्ठले अकल्पनीय दुर्घटनामा ज्यान गुमाएको आज सात वर्ष पूरा भएको छ । यही दुःखद दिनमा खेलाडी डटकमले दिवंगत श्रेष्ठको सम्मानमा उनीप्रति समर्पित विशेषांक प्रकाशित गरेको छ । यसक्रममाखेलाडी डटकमले श्रेष्ठलाई नजिकबाट चिन्ने केही फुटबलकर्मीका स्मरण प्रस्तुत गरेको छ ।
जयकृष्ण श्रेष्ठ, ललितकृष्णका भाइ तथा फुटबल प्रशिक्षक
सानैदेखि हामीले एकसाथ फुटबल खेलेका हौं । मेरो दाइभन्दा पनि उहाँ साथी जस्तो हुनुहुन्थ्यो । थ्री स्टारबाट पनि सँगै खेल्यौं । त्यसपछि दुई पटक थ्री स्टारको अध्यक्ष हुँदै एन्फाको कार्यबाहक अध्यक्ष हुनुभयो । सम्पूर्ण जिन्दगी नै फुटबलमा बिताउनुभयो । नेपाली फुटबलमा थ्री स्टारलाई थ्री स्टार बनाउने नै उहाँ हो । यही प्रेरणाले अरू क्लबले पनि उचाइ लिए ।
उपेन्द्रमान सिंह, राष्ट्रिय टोली, थ्री स्टार क्लबका पूर्वकप्तान एवं एन्फा उपाध्यक्ष
ललित दाइ फुटबलको एकदमै असल व्यक्ति हुनुहुन्थ्यो । मिलनसार, सबैसँग मिल्न सक्ने । मैले उहाँको (थ्री स्टार) क्लबबाट पनि खेलें । म राष्ट्रिय टिममा कप्तान हुँदा उहाँ एन्फा उपाध्याक्ष हुनुहुन्थ्यो । फुटबलमा एकदमै लगाव भएको मानिस, खेलाडीहरूलाई एकदमै माया गर्ने, सबैलाई मिलाउन सक्ने, कसैको कुभलो नचाहने उहाँजस्तो मानिस बिरलै पाइन्छ ।
वीरबहादुर खड्का, एन्फा उपाध्यक्ष
ललित दाइसँग मेरो सम्बन्ध एकदमै निकटको थियो । त्यसैले म उहाँबारे केही कुरै गर्न सक्दिनँ । अझै पनि त्यो दुर्घटना झुठो हो जस्तो लागिरहन्छ । फुटबलप्रति एकदमै लगाव राख्ने व्यक्तित्व हुनुहुन्थ्यो । सबैसँग मिल्ने स्वभाव उहाँको एकदमै राम्रो थियो । साथीभाइहरूसँग एकदमै चाँडै घुलमिल हुनुहुन्थो । नेपाली फुटबलको एक सच्चा अभिभावक, फुटबलप्रति अत्यन्तै इमानदार ललित दाइको सम्झना सधैं ताजा रहिरहने छ ।
राजेश शाही, राष्ट्रिय टोलीका पूर्वउपकप्तान तथा थ्री स्टारका पूर्वकप्तान
ललित दाइ नेपाली फुटबलले अहिलेसम्म पाएकामध्ये सबभन्दा कुशल व्यवस्थापक हो । उहाँ फुटबलमात्र नभई सबै क्षेत्रलाई उत्तिकै राम्रो र सरल तरिकाले व्यवस्थापन गर्नुहुन्थ्यो । खासगरी खेलाडी र प्रशिक्षकहरूसँग अत्यन्तै राम्रो सम्बन्ध बनाउने र उनीहरूलाई हौसला प्रदान गर्ने कुरामा ललित दाइको अहिले पनि नेपाली फुटबलमा स्मरण भइरहन्छ । ललित दाइ यस्तो मान्छे हो, जसलाई कुनै पनि संस्थाले आफ्नो गौरवको पात्रको रूपमा लिन सक्छ । पुण्यतिथिमा श्रद्धेय ललित दाइप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
प्रदीप महर्जन, राष्ट्रिय टोली तथा थ्री स्टारका पूर्वखेलाडी
ललित दाइकै कारण म थ्री स्टार क्लबसँग आबद्ध भएको थिएँ । मेरा लागि त्यो गर्वको कुरा हो । उहाँसँग हुँदा मलाई कहिल्यै अभिभावकको अभाव महसुस हुँदैनथ्यो । आफ्नै परिवारसँग छु जस्तो लाग्थ्यो । खेल विकासका लागि दिनरात नभनी मिहिनेत गर्ने मान्छे हुनुहुन्थ्यो । फुटबल र खेलाडीलाई सधंै केही गरौं भन्ने भावनाबाट प्रेरित हुनुहुन्थ्यो । फुटबलमा उहाँको प्रेम यहाँसम्म थियो कि आफ्ना बालबच्चा बिरामी पर्दा अरूलाई अस्पताल लान लगाउनुहुन्थ्यो, तर हामीलाई केही भए आफैं अघि सर्नुहुन्थ्यो ।
अरुणमान जोशी, अध्यक्ष, थ्री स्टार क्लब
ललित दाइ मेरा लागि अभिभावक जस्तो हुनुहुन्थ्यो । हामी दुईबीच निकै पुरानो सम्बन्ध थियो । ललित दाइमा सबैसँग छिटो घुलमिल हुनसक्ने विशिष्ट खुबी थियो । चाहे, खेलाडी, पदाधिकारी र पत्रकार जोसँग पनि उहाँ निकै मिलनसार हुनुहुन्थ्यो । नेपाली फुटबलको लागि आवश्यक व्यक्तित्व हुनुहुन्थ्यो । अहिले हाम्रो क्लबमात्र नभई सम्पूर्ण नेपाली फुटबलले नै उहाँको अभाव महसुस गरिरहेको छ ।
अनिल गुरुङ, राष्ट्रिय टोलीका पूर्वकप्तान एवं थ्री स्टार क्लबका पूर्वखेलाडी
म सानै उमेरदेखि ललित सरलाई चिन्थें । यु–१९ राष्ट्रिय टोलीबाट खेल्दादेखि नै उहाँसँग अझ नजिकिने मौका पाएँ । खेलाडी र खेलजगतका लागि एकदमै चाहिने मान्छे हुनुहुन्थ्यो उहाँ । अहिले उहाँ नभएर पनि नेपाली फुटबललाई केही गाह्रो भएको हो जस्तो लाग्छ मलाई । उहाँको नेपाली फुटबलकै लागि मेरूदण्ड हुनुहुन्थ्यो । ललित सर जस्तो मान्छे नेपाली फुटबलमा सधैं हुनुपर्ने जस्तो लाग्छ ।
विक्रम लामा, थ्री स्टार क्लबका कप्तान एवं फुटबल खेलाडी संघका अध्यक्ष
खेल र खेलाडीलाई निकै माया गर्ने व्यक्ति हुनुहुन्थ्यो, ललित सर । अझ योभन्दा पनि विशेष फुटबलको लागि निकै मिहिनेत गर्ने मान्छे हुनुहुन्थ्यो । म उहाँलाई फुटबलमा परिवर्तन ल्याउन सक्ने व्यक्तिका रूपमा सम्झिन्छु । एकदमै मिलनसार र हामी सबैसँग निकै आत्मीय सम्बन्ध थियो । खेलाडीलाई आफ्नै सन्तान जसरी माया गर्ने भएकाले पनि उहाँलाई बिर्सन सकिन्न ।
राकेश श्रेष्ठ, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान
ललित दाइ भन्नेबित्तिकै मैले सम्झिने कुरा हो, उहाँ फुटबललाई एकदमै माया गर्ने व्यक्तित्व । म खेलाडी हुँदा मलाई व्यक्तिगत रूपमा निकै सहयोग गर्नुभयो । फुटबल छोडिसक्दा पनि उहाँ मलाई एन्फामा आउन अनुरोध गर्नुहुन्थ्यो । खेलाडीहरूलाई एकदमै माया गर्ने । नेपाली फुटबलमा उहाँ सधंै कुशल व्यक्तित्वको रूपमा सम्झनामा रहिरहनुहुनेछ ।