- कर्माछिरिङ शेर्पा
नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)मा मैले नेतृत्व गरेको चार वर्ष भइसकेको छ । अर्को चार वर्षे कार्यकालको नेतृत्व गर्दै बिट मार्ने योजनासहित अगाडि बढिरहेको छु । चुनाव आउन एक हप्तामात्र बाँकी छ । उसै फुटबल संघको नेतृत्वमा रहेपछि निकै व्यस्त हुनुपर्छ । दिनमा १८ घण्टा काम नगरी नतिजा आउँदैन । त्यसमाथि चुनाव मुखैमा आइसकेकाले व्यस्तता झनै बढेको छ ।
|
आज नेपाली फुटबलका लागि निकै दुःखको दिन । नेपाली फुटबलले एउटा कुशल व्यवस्थापक र सफल नेतालाई गुमाएको दिन । मैले पनि एउटा इमान्दार मित्र ललितकृष्ण श्रेष्ठलाई गुमाएको दिन । त्यसैले चुनावी रस्साकस्सीका बीच ललितजीलाई सम्झिँदा भावनाहरू उर्लिएर सतहमा आए । पुराना दिनहरू मानसपटलमा ताजा भएर आउन थाले अनि सम्झनाका पत्रहरू खुल्न थाले ।
के ललितजी भएको भए म आज एन्फा अध्यक्षका रूपमा नेपाली फुटबलको नेतृत्व गरिरहेको हुन्थें त ? मैले आफैंलाई प्रश्न गरें । एक सेकेन्डमै मेरो मनले उत्तर दियो, ‘पक्कै पनि हुन्नथें । उहाँजस्तो मान्छे भएपछि मेरो आवश्यकता पर्ने थिएन । त्यो दुर्घटनाले ललितजीलाई हामीबाट खोसेर लगेपछि मात्र मैले नेतृत्वमा आउनुपरेको हो ।’
मेरो मनले दिएको जवाफ फगत भावनामात्र थिएन । मैले त त्यही बेला पनि अध्यक्षमा नउठ्ने, फुटबल छोड्ने निर्णय गरिसकेको थिएँ । उहाँले कार्यबाहक अध्यक्ष भएर राम्ररी एन्फा चलाइरहनुभएको थियो । मलाई त्यो बेला आउने चुनावमा ललितजी नै लड्नुहोला र जित्नुहोला भन्ने लागेको थियो । म मानसिक रूपमा चुनाव लड्नका लागि तयार थिइनँ । किनभने मसँग जम्मा चारवटा क्लब थियो । तर मलाई गणेश दाइ (एन्फाका पूर्वअध्यक्ष गणेश थापा)ले गरेको एउटा व्यवहारले गर्दा लागिरहनुपर्ने बाध्यता भयो । नत्र म फुटबल संघमा आएर विदेश घुमौंला भन्ने, फुटबल संघमा आएर केही गरौंला भन्ने मानिस थिइनँ । तर मान्छेलाई जिन्दगीमा एउटा घटनाले गर्दा लागिरहनुपर्ने बाध्यता हुँदोरहेछ । त्यही भएपछि यो अभियानमा लागको हुँ ।
ललितजी एन्फामा कार्यबाहक अध्यक्ष भइरहँदा एउटा अत्यन्तै दुःखद दुर्घटना भयो । त्यो दुर्घटना मलाई अत्यन्तै सम्झना किन लाग्छ भने उहाँजस्तो मान्छेको जीवनमा केही पनि भएन । न आर्थिक रूपमा उहाँले आफ्नो घर राम्ररी बनाउन सक्नुभयो, न त परिवारलाई व्यवस्थापन गर्न सक्नुभयो । आफ्नै घर बिगारेर पनि उहाँ फुटबलमा लागिरहनुभयो । त्यसले गर्दा एकदमै दुःख लाग्छ, सँगै उहाँप्रति सम्मान पनि जागेर आउँछ ।
वास्तवमा ललितजीका जीवनमा धेरै समस्या थिए । तर अहिले सम्झँदा उहाँ जहिल्यै भेट्दा पनि समस्या नै नभएको मानिस जस्तो देखिनुहुन्थ्यो । उहाँले क्लब चलाएको सम्झनुस् त ! त्यति धेरै समस्याका बीच पनि उहाँले थ्री स्टार क्लबलाई देशकै ठूलो र अब्बल क्लबका रूपमा स्थापित गर्नुभएको थियो ।
नेपाली फुटबलमै क्लबलाई मुख्य प्रायोजक खोजेर ल्याउने उहाँ पहिलो पदाधिकारी हो । उहाँले नबिल बैंकलाई मुख्य प्रायोजकभन्दा पनि बढी पार्टनरकै रूपमा थ्री स्टार क्लबमा भित्र्याउनुभयो । उहाँले सुरु गर्नुभएको यो परम्परा अहिले नेपाली फुटबलमा सबैजसो क्लबले पछ्याइरहेका छन् ।
सम्झनुपर्दा ललितजी एउटा कुशल व्यवस्थापक हुनुहुन्थ्यो । ‘डिल’ गर्दा उहाँले जे कुरामा पनि कूटनीतिक रूपमा गर्न सक्नुहुन्थ्यो । कतिपय चिज बिग्रिएको अवस्थामा पनि उहाँले मिलाउनुहुन्थ्यो । चाहे पत्रकार र फुटबल संघ होस्, चाहे पदाधिकारीबीचको समस्या होस् या त खेलाडी र एन्फाबीचको समस्या होस् उहाँले सधंै बीचमा बसेर मिलाइरहनुभयो ।
खासमा २०५५ सालतिर फुटबलकै कुराकानीका लागि उहाँसँग मेरो पहिलो पटक भेट भएको थियो । त्यतिबेला म तरुण दलको केन्द्रीय कार्यालय सचिव थिएँ । बालकृष्ण खाँड तरुण दलको अध्यक्ष अनि शरदसिंह भण्डारी युवा तथा खेलकुदमन्त्री हुनुहुन्थ्यो । एकदिन ललितजी हामीकहाँ आएर ‘फुटबल संघमा राम्रो भइरहेको छैन, यसलाई करेक्सन गर्ने गरी परिवर्तन गर्नुपर्यो’ भन्ने प्रस्ताव लिएर आउनुभयो ।
नेपाली फुटबललाई पुनर्संरचना गर्नुपर्छ भन्ने उहाँको कुरा थियो । खेलकुद मन्त्रालयले पनि अध्ययन गरिरहेको थियो । खेलकुदमन्त्रीज्यूले ‘फुटबलमात्र होइन, १६ वटा संघ पुनर्संरचना गर्नुपर्छ’ भन्नुभयो ।
यसरी १६ वटा संघको पुनर्संरचना गर्दा शंकर भण्डारी दाइ बक्सिङ संघमा जानुभयो । अरू पनि धेरैजना धेरै संघमा गए । मलाई ‘तिमी कुन संघमा बस्छौ’ भनेर सोधियो । फुटबल संघ अरूभन्दा अलि पेचिलो कुरा थियो । मैले क्रिकेट संघ रोजें । मलाई क्रिकेटमा काम गर्ने योजना थियो । तर मन्त्रीज्यूले ‘विवाद भएको ठाउँमा तिमी बस्नुपर्छ, फुटबल संघमा विवाद छ, त्यहाँ तिमी बसेर चाँडै मिलाउ’ भन्नुभयो ।
त्यसपछि ललितजी, हामी सबै बसेर फुटबल संघमा बस्ने निर्णय गरियो । गीता राणाको नेतृत्वमा समानान्तर कमिटी गठन भयो । त्यसपछि हामीले सँगै धेरै संघर्ष गर्यौं । समानान्तर कमिटी बनाएपछि चुनाव भयो, चुनावमा ललितजी हार्नुभयो । फेरि हामीले उहाँलाई सँगसँगै लिएर हिँड्यौं । फेरि दुई संघ ‘मर्ज’ गर्दा पनि उहाँलाई व्यवस्थापन गर्यौं । जेहोस् उहाँको आवश्यकता हामीलाई महसुस थियो । हामी त्यो बेला फुलटाइमर होइन । तर, उहाँ जति पनि खट्न सक्ने, जे पनि गर्नसक्ने मान्छे हुनुहुन्थ्यो ।
|
फुटबलमा अगाडि बढ्दै जाने क्रममा विभिन्न घटनाक्रमहरू विकास हुँदै गए । उहाँ गणेश दाइको टिममा बस्नुभयो । हामी विपक्षी नै भयौं । गणेश दाइको टिममा बस्दा पनि उहाँप्रति गरेको व्यवहार हामी विपक्षी भए पनि दुःख लाग्थ्यो । ललितजी कार्यबाहक अध्यक्ष हुनुहुन्थ्यो, तर उहाँ फिफा कंग्रेसमा जान पाउनुभएन । उहाँलाई कठपुतलीजस्तो बनाइयो । त्यसबाट एकदमै दुःख लाग्यो । मैले उहाँलाई त्यसरी नबस्नुस्, अध्यक्षको हैसियतमा काम गर्नुस् भनेर उत्साह दिइरहन्थें ।
नेपाली फुटबललाई नभई नहुने मानिस हो उहाँ । तर, नियतिले उहाँलाई हामीबाट अल्पायुमै खोस्यो । अहिले अध्यक्ष भइरहँदा ललितजी जस्तो मानिसको अभाव सधैं खट्किइरहन्छ । ललितजीलाई मैले मात्र होइन, सम्पूर्ण नेपाली फुटबलले धेरै मिस गरिरहेको छ ।
हार्दिक श्रद्धाञ्जली ललितजी !
(कुराकानीमा आधारित)