फाल्गुन २, २०८२ शनिबार | २१:०७:०५
आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा
शनिबारको दिन

एजी शेर्पा र फुटबल प्रेम

कोही कसैको जात नै यस्तो हुँदोरहेछ, खेलाडी भनेपछि माया गर्नुपर्ने । नेपाली खेलकुदमा यस्ता पात्र पनि छन्, जसले खेलाडीलाई गुपचुप पैसा दिइरहेका हुन्छन्, आफ्नै छोराछोरी वा भाइबहिनीलाई दिए जसरी । खेलाडीको पकेट खर्च भनौं न यसलाई । सुटुक्क घरमा खाना पकाएर खेलाडीको अभ्यास स्थानसम्म पुग्छन् र खान दिन्छन् । खेलाडीका लागि डाइट हुने गर्छ, यी खाना । खेलाडीलाई गाह्रो-साह्रो परेको हुन्छ, चिन्ता धेरै उनैलाई हुन्छ ।

एजी शेर्पा यस्तैमा एक हुन् । को हुन् त यी एजी शेर्पा ? यो त प्रश्नै बेठिक भयो । हद हुन्छ, पछिल्लो समय उनको नाम कसैले सुनेको छैन भन्यो भने । बुद्ध एयरका अनुभवी क्याप्टेन हुन् उनी । 

सोमबारमात्र काठमाडौंबाट विराटनगर उडेको विमानमा प्राविधिक गडबडी भएपछि फेरि काठमाडौं फर्कनुपरेको थियो । पछि शेर्पाले त्यसलाई सकुशल अवतरण गराए । एउटा ठूलो सम्भावित विमान दुर्घटना टरेको थियो । सबै यसको श्रेय तिनै शेर्पालाई दिइरहेका छन् । उनको पूरा नाम हो, आङगेलु शेर्पा ।

त्यो दिन के कस्तो भयो । हामी त्यसको बेली विस्तार गर्ने पक्षमा छैनौं । यसमा धेरै प्राविधिक पक्ष छन् । हामीलाई के पक्का थाहा छ भने यी शेर्पा निकै अनुभवी पाइलट हुन् । उनी पाइलटका इन्स्ट्रक्टरका साथै सेफ्टी इन्स्ट्रक्टर पनि रहिसकेका थिए । अनि विमान उडाउँदा यस्तै–यस्तै समस्या आउन सक्छ ? त्यतिबेला के गर्ने भनेर सिकाउने पनि उनै हुन् । पाइलटकै ठूलो जमातले के मानेका छन् भने त्यो दिनको त्यो उडानमा एजी शेर्पा थिएनन् त जे जस्तो पनि हुनसक्थ्यो ।

भन्न कर लाग्छ, स्याबास !! एजी शेर्पा दाइ । नेपाली फुटबलका धेरैका लागि उनी एजी शेर्पा दाइ नै हुन् । जो जसले दशरथ रंगशालामा नियमित फुटबल हेरेका छन्, उनीहरू सबैले धेरैपल्ट यी शेर्पा दाइलाई भेटेको हुनुपर्छ । कम्तीमा देखेको हुनुपर्छ । अझ नेपाली राष्ट्रिय टोलीको खेल हुनुपर्छ, उनी सबथोक छाडेर रंगशाला पुगिहाल्छन् । उनी यस्तै खेल हेर्न सातदोबाटो पुगेका छन् । हलचोक पनि पुगेका छन् । नेपाली फुटबल भनेपछि हुरुक्क हुनेमा पर्छन् उनी ।

उनको व्यक्तिगत जात जस्तोसुकै होस्, उनी खेलाडी माया गर्ने अर्कै जातका मान्छे हुन् । एजी शेर्पाको अहिले तत्काल एउटा परिचय दिँदा सहिद स्मारक लिग ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाका उपाध्यक्ष हुन् । केही समयअगाडि उनी यही क्लबका महासचिव थिए । बुद्ध एयरको स्थापनाकालदेखिका यी पाइलटले सन् ९० तिर अमेरिकामा अध्ययन गरेका थिए । अमेरिका गएर उनले पाइलट कोर्समात्र पढेनन्, सँगै फुटबलसँगको माया पनि गाँसेर आएका थिए ।

सन् १९९४ मा अमेरिकामा फुटबलको विश्वकप भएको थियो । उनी त्यतिबेला अमेरिकामै थिए । पछि उनी नेपाल फर्के र उनको फुटबलप्रतिको माया उत्तिकै रह्यो । जे जतिले हिमालयन शेर्पाबाट खेलेका छन्, ती सबै खेलाडीप्रति गर्ने उनको मायाको प्रशंसा गर्छन् । आफ्ना खेलाडीलाई गाह्रो-साह्रो पर्दा सबैभन्दा बढी चिन्ता उनलाई नै हुने गर्छ । के कसरी सहयोग गर्ने हो, त्यसका लागि अगाडि बढिहाल्छन् । हिमालयन शेर्पामा राम्रै समय बिताएका नवीन न्यौपाने (हाल, आर्मी प्रशिक्षक) ले अनौपचारिक कुराकानीमा भन्ने गर्छन्, एजी शेर्पा दाइको कुरै बेग्लै ।

नेपाली फुटबलमा हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी क्लबबीच एउटा गज्जबको प्रतिद्वन्द्विता छ । पोखरामा सम्पन्न ०६७ सालको राष्ट्रिय लिग फुटबलमा हिमालयन शेर्पाले मनाङ मर्स्याङदीलाई पराजित गर्दा यिनै एजी दाइको हर्षको सीमा थिएन । यही खेलमात्र हेर्न उनी पोखरा पुगेका थिए । त्यस दिन उनी साँच्चै खुसीमा थिए । सायद यति खुसी उनी अरू बेला देखिएकै थिएनन् । यिनै एजी शेर्पाले विमान दुर्घटना टारेको समाचार सुनेर कर्माछिरिङ शेर्पा पनि उत्तिकै खुसी थिए ।

अचेल कर्माछिरिङ अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष हुन् । तर उनको सुरुआती परिचयमध्ये एक त हिमालयन शेर्पाको अध्यक्ष हुनु पनि थियो । एन्फामा सबैका अगाडि त्यस दिन उनी एजी शेर्पाको गुनगान गाइरहेका थिए । अनि छिनछिनमा भनिरहेका थिए, ‘हाम्रा एजी शेर्पा... हाम्रा एजी शेर्पा ।’

हुन पनि, नेपाली फुटबललाई यति माया गर्ने यिनै एजी शेर्पाले विमान दुर्घटना टारेको समाचारले नेपाली फुटबल आफैं कसरी खुसी नभएर बस्न सक्छ र ?