काठमाडौं । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आइसिसी ट्वान्टी-२० विश्वकपमा अब एउटा खेल मात्र बाँकी छ, फाइनल । अहमदाबादमा आगामी दुई वर्षका लागि विश्व च्याम्पियन चुन्ने त्यो फाइनलका प्रतिस्पर्धी छन्, आयोजक भारत र न्युजिल्यान्ड ।
उसै क्रिकेट अनिश्चयको खेल । त्यसमाथि २० ओभरको छोटो स्वरुप । सँगै आइतबारको फाइनलका लागि तम्तयार दुवै टोलीको वर्तमान फर्म नियाल्ने हो भने नतिजा कसको पक्षमा जान्छ भन्ने अनुमान असम्भवप्राय छ । फाइनलसम्मको यात्रा तय गर्दा दुवै टिमका प्रदर्शन र उनीहरुले प्राप्त गरेका नतिजा त्यस्तै छन् ।
फाइनल प्रवेशका लागि अन्तिम चारमा न्युजिल्यान्डले दक्षिण अफ्रिकामाथि नसोचेको प्रभावशाली जित हासिल गरेको थियो । भारतले पनि इङ्ल्यान्डविरुद्धको खेलमा कीर्तिमानी २५३/७ को स्कोरलाई उत्तिकै सनसनीपूर्ण तवरबाट रक्षा गर्यो ।

भारत समूह चरणमा अपराजित रहँदै सुपर ८ मा पुगेको थियो । सुपर ८ मा भने दक्षिण अफ्रिकासँग पराजित हुनु बाहेकका खेलमा भारतले निराशा देख्नुपरेन । समूह चरणमा दक्षिण अफ्रिका तथा सुपर ८ मा इङ्ल्यान्डसँग पराजित भए पनि न्युजिल्यान्डले सेमिफाइनलमा त्यसको गज्जब जवाफ दियो । अन्तिम चारको खेलमा दक्षिण अफ्रिकासँगै फेरि आमने–सामने हुँदा न्युजिल्यान्डले १७० रनको लक्ष्य १२.५ ओभरमै १७३ रन बनाएर हासिल गर्यो । जसबाट भारत पक्कै सचेत भएको हुनुपर्छ ।
न्युजिल्यान्डका लागि यस विश्वकपमा सबभन्दा धेरै रन बनाउने खेलाडी ओपनर फिन एलेन हुन् । उनले ८ खेल खेल्दै २८९ रन बनाएका छन् । दोस्रोमा टिम साइफर्ट, तेस्रोमा ग्लेन फिलिप्स र चौथोमा रचिन रविन्द्र छन् । धेरै लिकेट लिनेमा चाँही ११ विकेटका साथ रचिन शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा म्याट हेनरी, तेस्रोमा लकी फर्गुसन तथा चौथोमा ग्लेन फिलिप्स छन् ।
भारतका लागि उच्च रनकर्ता ८ खेलमा २६३ रनका बनाएका इशान किशन हुन् । कप्तान सूर्यकुमार यादव दोस्रो, सञ्जु स्यामसन तेस्रो तथा शिभम दुवे धेरै रन बनाउनेको चौथो स्थानमा छन् । बलिङतर्फ वरुण चक्रवर्तीले सबभन्दा धेरै १३ विकेट लिएका छन् । भारतीय टिममा त्यसपछि जसप्रित बुमराह, अर्शदिप सिंह र अक्षर पटेलको योगदान बलबाट बढि छ ।

प्लेयर टु वाच
भारतजारी विश्वकपको सुरुवाती खेलमा मौका नपाएका स्यामसनले पछिल्ला केही खेलमा मैदान उत्रिँदा प्रभावशाली प्रदर्शन गरेका छन् । भारतको फाइनलयात्रामा नकआउटझै बनेको सुपर ८ मा वेस्ट इन्डिजविरुद्ध तथा सेमिफाइनलमा उनकै ब्याटिङ प्रदर्शन निर्णायक बनेको थियो ।
सुपर ८ बाट सेमिफाइनल पुग्न भारतलाई वेस्ट इन्डिजविरुद्ध जित्नैपर्ने समीकरण थियो । यसअर्थमा त्यो खेलको हैसियत क्वार्टरफाइनल बराबर थियो । आफैमा उच्च फर्ममा रहेको वेस्ट इन्डिजविरुद्ध स्यामसनले अविजित ९७ रन बनाए । ५० बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै उनले भारतलाई सेमिफाइनलको बाटोतिर डोर्याए । अन्तिम चारमा इङ्ल्यान्डविरुद्ध पनि स्यामसनको त्यही लय निरन्तर थियो । विकेटकिपिङ ब्याटरले ४२ बलमा ८९ रनको योगदान गरेपछि सेमिफाइनलमा भारत २५३/७ को कीर्तिमानी योगफल बनाउन सफल भएको थियो ।
फाइनलमा पनि स्यामसनको ब्याट त्यही लयमा घुम्ने भारतीय समर्थकले अपेक्षा राखेका छन् । ब्याटिङमा भारतका लागि अभिषेक शर्मा, इशान किशन, तिलक बर्मा, कप्तान सूर्यकुमार यादवहरु महत्वपूर्ण योगदान गर्न सक्ने थप नाम हुन् ।

जसप्रित बुमराह भारतीय बलिङका प्रमूख हतियार हुन् । क्रिकेटका हरेक स्वरुपमा बुमराहको बलिङ विपक्षीका ब्याटरका लागि मुख्य समस्या रहने गरेको छ । सुरुवाती, मध्यक्रम तथा डेथ ओभरमा जता पनि उपयुक्त रहने खेलाडी बुमराहले भारतलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान गरेका छन् ।
बुमराहले सेमिफाइनलमा इङ्ल्यान्डलाई जितबाट टाढा पुर्याउने क्रममा १९ औं ओभरमा १ विकेट लिएर मात्र ९ रन खर्चिएका थिए । उनी सोही लयमा निरन्तर रहने र फाइनलमा बुमराहबाट टिमले ठूलै आशा राख्नेछ । भारतीय बलिङमा वरुण चक्रवर्ती, अर्शदिप सिंह, हार्दिक पण्ड्या तथा अक्षर पटेलको योगदान पनि महत्वपूर्ण रहने अपेक्षा गरिएको छ ।
न्युजिल्यान्ड
ओपनिङ ब्याटर फिन एलेनबाट फाइनलमा न्युजिल्यान्डले सबभन्दा धेरै आशा गर्नेछ । एलेनले यस विश्वकपमा ८ खेल खेल्दै २८९ रन बनाएका छन् । यसमा १ शतक पनि सामेल छ । एलेनले दक्षिण अफ्रिकालाई ९ विकेटले हराएको सेमिफाइनलमा महत्वपूर्ण शतक प्रहार गरेका थिए । एलेनले अन्तिम चारको खेलमा ३३ बलमा अविजित १०० रन बनाएका थिए ।

न्युजिल्यान्डले फाइनलमा सफलता हासिल गर्ने हो भने उनको विस्फोटक सुरुआतले निरन्तरता पाउनुपर्नेछ । उनीसँगै टिम साइफर्ट, ड्यारियल मिचेल, मार्क च्याम्पम्यान तथा रचिन रविन्द्र न्युजिल्यान्डका महत्वपूर्ण ब्याटर हुन् ।
यसैगरी बलिङमा रचिन र माट हेनरीबाट किविज समर्थकले निर्णायक प्रदर्शनको अपेक्षा राख्नेछन् ।
उपाधि दाबेदारको फाइनलयात्रा

भारतले फाइनलसम्म पुग्ने क्रममा समूह चरणमा अमेरिकालाई २९ रनले हराएको थियो भने नामिबियामाथि ९३ रनको फराकिलो जित हासिल गरेको थियो । यसैगरी छिमेकी चिर प्रतिद्धन्द्धी पाकिस्तानलाई ६१ रनले मात दिएको टोलीले नेदरल्यान्ड्समाथि १७ रनको विजयी नतिजा निकालेको थियो ।
सुपर ८ मा दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएपछि जिम्बाब्वेलाई ७२ रन तथा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारतले अन्तिम चारको यात्रा तय गरेको थियो । जहाँ इङ्ल्यान्डमाथि ७ रनको जित हासिल गर्दै भारतले घरमै हुने उपाधि भिडन्तका लागि आफ्नो स्थान पक्का गरेको थियो ।
यसैगरी न्युजिल्यान्डले समूह चरणमा अफगानिस्तानमाथि ५ विकेट तथा युएईमाथि १० विकेटको जित हासिल गरेको थियो भने टोली दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भएको थियो । क्यानाडालाई अन्तिम खेलमा ८ विकेटले हराउँदै सुपर ८ पुगेको टोलीका लागि दोस्रो चरण भने त्यति सहज रहेन ।
सुपर ८ मा पाकिस्तानविरुद्धको पहिलो खेल वर्षाका कारण रद्ध हुँदा अंक बाँढेको टोलीले अन्त्यमा पाकिस्तानलाई नेट रनरेटमा पछि पार्दै अन्तिम चारको यात्रा गर्नुपरेको थियो । सुपर ८ का बाँकी दुई खेलमध्ये श्रीलंकालाई ६१ रनको फराकिलो अन्तरमा हराएको न्युजिल्यान्ड सनसनीपूर्ण खेलमा इङ्ल्यान्डसँग ४ विकेटको हार स्वीकार्न बाध्य भएको थियो ।
निक्कै रोमाञ्चक सेमिफाइनलमा भने दक्षिण अफ्रिकाको चुनौती ९ विकेटले पन्छाउँदै न्युजिल्यान्ड जारी विश्वकपको फाइनल पुग्ने पहिलो टिम बन्न सफल भएको थियो ।
भारत ट्वान्टी-२० विश्वकपको इतिहासमा सर्वाधिक चौथो पटक उपाधीका लागि खेल्दैछ । सन् २००७ तथा सन् २०२४ को च्याम्पियन भारत सन् २०१४ मा भने उपबिजेता बनेको थियो । साविक विजेताको रुपमा घरेलु मैदानमा फाइनल खेल्न लागेको भारतले धेरै फाइनल खेल्ने कीर्तिमान पनि बनाउँदैछ ।
न्युजिल्यान्डले ट्वान्टी-२० विश्वकपको हालसम्म उपाधी जित्न नसक्दा दोस्रो फाइनल खेल्दैछ । सन् २०२१ को विश्वकपमा अस्ट्रेलियासँग पराजित हुदै न्युजिल्यान्ड उपविजेतामा सीमित भएको थियो ।
विश्वकपमा हालसम्म भारत र न्युजिल्यान्ड ३ पटक आमने सामने भएका छन् । जसमा भारत तीनै खेलमा पराजित भएको इतिहास छ । विश्वकपको नकआउट खेलमा भने दुईबीच यो पहिलो भेट हुनेछ ।