चोटबीच फक्रिएका सुजल

सन् १९९८ को फिफा विश्वकप । जहाँ आयोजक राष्ट्र फ्रान्सले विश्वका प्रतिभाशाली खेलाडीले भरिएको ब्राजिललाई ३-० ले स्तब्ध बनाउँदै पहिलो पटक विश्वकप ट्रफी उचालेको थियो । रोबर्टो कार्लोस, रोनाल्डो, रिभाल्डो र डुंगाजस्ता विश्व चर्चित खेलाडीका बाबजुद ब्राजिलले त्यो विश्वकपको उपाधि आयोजक राष्ट्रलाई नै सुम्पेको थियो ।

त्यो हारमा विश्वभरका ब्राजिली समर्थक पनि निराश नहुने कुरै भएन । तिनैमध्ये एक थिए, धनकुटाका राजु श्रेष्ठ । विश्वकपका खेल राति हुने भएकाले उनी बेलुका चाँडै सुत्थे । सँगै आफ्ना छोरालाई पनि सुताउँथे । मध्यरातमा छोरालाई उठाएर उनी आफ्नो टोली ब्राजिलको खेल हेर्न तम्तयार हुन्थे ।

तर, त्यो विश्वकपमा राजुको मनपर्ने टोली ब्राजिलले सफलता पाउन सकेन । उनी निकै निराश थिए । फुटबलप्रतिको मोह र ब्राजिली टोलीको समर्थन राजुको छोरामा पनि सर्लक्क सर्‍यो । राजुको छोरामा फुटबलप्रतिको मोह असाध्यै जाग्यो । त्यसलाई उनले छुटाउनै सकेनन् । त्यही मोहबाट फुटबलप्रेम विकसित भएका छोराको यात्रा अहिले नेपाली राष्ट्रिय फुटबल टोलीसम्म पुगेको छ ।

राजुका तिनै छोरा हुन्, सुजल श्रेष्ठ । उनी नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर छन् । धनकुटामा जिल्ला प्रतियोगिता खेल्दै गर्दा सुजलले एन्फा एकेडेमीमा प्रवेश पाएका थिए । जहाँबाट उनलाई राष्ट्रिय टोलीको ढोका खोल्न केही सहज भयो । सुजलले राष्ट्रिय टोलीको यात्रा गर्न थालेको पनि दशक बितिसक्यो । जहाँ उनले केही यादगार सफलता पनि पाइसके ।

साफ च्याम्पियनसिप फुटबलको २८ वर्षे इतिहासमा नेपालले अघिल्लो महिनामात्र ऐतिहासिक सफलता प्राप्त गर्‍यो । नेपाललाई त्यो सफलता दिलाउने खेलाडीमध्ये एक सुजल पनि हुन् । पहिलोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुगे पनि नेपाल उपाधि भिडन्तमा भारतसँग पराजित भयो ।

पछिल्लो समय नेपाली राष्ट्रिय टोलीमा धेरै परिवर्तन आउँदा अधिकांश युवा खेलाडीले स्थान बनाएका छन् । कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले लामो समयदेखि साफलक्षित गरेर नेपाली टोलीको पुनर्संरचनामा काम गरिरहेका थिए । जहाँ उनको नजर सुरुदेखि नै युवा खेलाडीमा पर्‍यो ।

प्रशिक्षकलाई केही अनुभवी खेलाडी पनि आवश्यक थियो । तिनै अनुभवी खेलाडीमध्ये किरण चेम्जोङ र रोहित चन्द नेपाली टोलीका खम्बा नहुने कुरै भएन । अर्का अनुभवी खेलाडी थिए त सुजल । उनी सन् २०११ देखि नेपाली टोलीका सदस्य थिए । प्रशिक्षक पनि त्यसबारे जानकार नहुने कुरै भएन ।

तर, सुजलको राष्ट्रिय टोलीको यात्रामा चोट निकै बाधक भयो । बेला–बेलामा खराब लयले सुजललाई राष्ट्रिय टोलीबाहिर पनि धकेल्थ्यो । साफ च्याम्पियनसिपअगाडि घरेलु मैदानमा सम्पन्न थ्री नेसन्स कपमा पनि सुजलले फेरि चोट बोकेका थिए ।

‘थ्री नेसन्समा घाइते भएको थिएँ । मलाई चोटले धेरै सताइरह्यो,’ सुजलले भने, ‘हरेक खेलाडीको चाहना देशबाट खेल्ने हुन्छ । त्यसैले जसरी पनि कमब्याक गर्नुपर्छ भन्ने थियो । सोहीअनुसार अभ्यासमा पनि मिहिनत गरेँ । जसले गर्दा साफ च्याम्पियनसिपजस्तो महत्वपूर्ण प्रतियोगितामा खेल्न पाएँ ।’

उनको राष्ट्रिय टोलीको यात्रामा चोट बाधक बनिरहे पनि यसपालिको साफ सुजलका लागि सुखद नै रह्यो ।

साफमा पनि प्रशिक्षक अल्मुताइरीले उनीमाथि विश्वास गरे । प्रशिक्षकको आफूमाथिको विश्वास बचाउँदै उनले पनि केही हदसम्म मिडफिल्डमा राम्रो भूमिका निर्वाह गरे ।

‘मैले सोचेअनुरूप प्रदर्शन गर्न सकिनँ । तर, टोलीको नतिजा नै सबैभन्दा ठूलो पक्ष हो । नतिजा राम्रै रहयो,’ सुजलले सुनाए, ‘प्रशिक्षकले सबै खेलाडीलाई अवसर दिनुभयो । त्यसमध्ये एक म पनि हुँ ।’

सन् २०११ मा नै नेपाली टोलीका तत्कालीन प्रशिक्षक ग्राहम रोबर्ट्सले सुजलमाथि विश्वास गरेका थिए । त्यसैले त उनले पोखरामा भुटानविरुद्धको खेलमा नेपाली टोलीबाट डेब्यु गर्ने अवसर पाए । त्यसयता उनको करियरमा निकै उतारचढाव आयो । कारण थियो, बेला–बेलामा राष्ट्रिय टोलीबाट बहिर्गमन । कहिले चोट त, कहिले खराब लय उनको बहिर्गमनको मुख्य कारण रहन्थ्यो ।

तथापि, सुजलले मिहिनेत गर्न छाडेनन् । डेब्युको दुई वर्ष भने उनी राष्ट्रिय टोलीमा रहे । सन् २०१३ पछि भने उनका लागि कठिन नै रह्यो । ‘२०१३, ०१४ र ०१५ को सुरुआत मेरा लागि निकै कठिन रह्यो । चोटभन्दा खराब प्रदर्शनका कारण म बाहिर रहनुपर्‍यो । त्यही समयमा नै मैले धेरै कुरा सिक्ने अवसर पाएँ,’ सुजलले स्मरण गरे, ‘त्यही समयका कारण म अहिले यहाँसम्म आइपुगें जस्तो लाग्छ । साथै मैले कहिल्यै पनि मिहिनेत गर्न भने छोडिनँ ।’

नेपाली टोलीमा पर्न कडा प्रतिस्पर्धा हुनेमा दुईमत छैन । घरेलु प्रतियोगितामा पनि उनी प्रभाव जमाउँथे । साथै उनले धेरै मिहिनेत पनि गरेका छन् । जसका कारण उनले केही खेलपछि राष्ट्रिय टोलीमा पुनरागमन पाएका हुन् । सन् २०११ देखिको राष्ट्रिय टोलीको यात्रामा उनले ४१ क्याप जितेका छन् ।

उनले राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेको दशक पूरा भइसकेको छ । तर समकालीनको तुलनामा उनले नेपालको जर्सीमा त्यति धेरै खेल्न भने पाएनन् । राष्ट्रिय टोलीमा पर्दा पनि उनी बेन्चमा सीमिति भए । त्यस कारण पनि राष्ट्रिय टोलीको दशक यात्रामा उनले थोरै क्यापमात्र खेल्ने अवसर पाए । यद्यपि जति खेलेका छन्, त्यसमध्ये केही यादगार छन् ।

त्यसैमध्ये एक हो १३औं दक्षिण एसियाली खेलकुद (साग) को प्रदर्शन । घरेलु मैदानमा २० वर्षपछि सम्पन्न त्यो सागमा नेपालले स्वर्ण जित्यो । जसको कप्तानी सुजलले नै गरेका थिए । भुटानविरुद्धको फाइनल खेलमा भने चोटका कारण उनी केही समय खेलेर बाहिरिनुपर्‍यो । तर, प्रतियोगिता अवधिभर उनको प्रदर्शन अविस्मरणीय रह्यो ।

उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता (संयुक्त रूपमा) पनि रहे । उनको करियरमा सबैभन्दा ठूलो सफलता सन् २०१६ मा मिलेको थियो । जहाँ उनले नेपालका लागि ठूलो प्रतियोगिता रहेको एएफसी सोलिडारिटी कपमा गोल गरेका थिए । फाइनलमा मकाउविरुद्ध गरेको उनको गोल नै निर्णायक बन्दा नेपालले उपाधि नै उचाल्यो । त्यो सिनियर राष्ट्रिय टोलीबाट उनले गरेको दोस्रो गोल हो ।

अर्को गोल सुजलले सन् २०११ मा नै दशरथ रंगशालामा पूर्वी टिमोरविरुद्ध गरेका थिए । सन् २०१४ को विश्वकप छनोट चरणमा नेपालले घरेलु भूमिमा पूर्वी टिमोरविरुद्ध ५-० को फराकिलो जित निकाल्दा सुजलको एक गोल पनि समावेश छ । सन् २०१६ यता भने उनले राष्ट्रिय टोलीबाट गोल गर्न सकेका छैनन् ।

सुजलको मुख्य जिम्मेवारी नै स्ट्राइकरलाई बल उपलब्ध गराउनु या स्पेस बनाइदिनु हो । आफ्नो जिम्मेवारीअनुरूप नै उनले मिडफिल्डमा राम्रो भूूमिका निर्वाह गर्दै आइरहेका छन् । २९ वर्षे मिडफिल्डर सुजल सम्भवतः राष्ट्रिय टोलीको उत्तरार्धमा छन् । राष्ट्रिय टोलीमा युवा खेलाडीले राम्रो पकड जमाइरहँदा उनीमाथि केही दबाब पर्नेमा दुईमत छैन ।

राष्ट्रिय टोलीमा युवा खेलाडीले निकै प्रभाव जमाएको उनी पनि स्विकार्छन् । ‘राष्ट्रिय टोलीमा धेरै परिवर्तन आइसकेको छ । नयाँ अनुहार हामी सबैले देखिइसकेका छौं । पुरानो नामले केही हुनेवाला छैन । वर्तमान प्रदर्शन र मिहिनेतले मात्र राष्ट्रिय टोलीमा अटाउन सकिन्छ । त्यसैले मिहिनेत गर्न छोडदिनँ,’ सुजलले आफ्नो लक्ष्यबारे सुनाए । आफ्नो शरीरले साथ दिएसम्म राष्ट्रिय टोलीबाट योगदान गर्न पछि नहट्ने उनको प्रतिज्ञा छ ।

तर तत्कालका लागि भने सुजलको प्राथमिकता राष्ट्रिय टोलीबाट क्लबमा सरेको छ । आसन्न सहिद स्मारक लिगमा क्लबप्रतिको जिम्मेवारी पूरा गर्न उनी साविक विजेता मछिन्द्रको क्याम्पमा पसिना बगाइरहेका छन् ।

‘क्लबको उपाधि रक्षा अभियान अहिले हाम्रो पहिलो प्राथमिकता हो । त्यसैको लागि मिहिनेत गरिरहेका छौं,’ उनी भन्छन् ।