काठमाडौं । २०७९ सालमा मुख्यतः फुटबल र क्रिकेट नै सबैभन्दा बढी चलायमान रहे । अनि सबैभन्दा विवाद पनि यी दुई खेलमै भए । नेपालमा दुवै खेलका अन्तर्राष्ट्रिय प्रतियोगिता भए । सिनियर मात्र होइन, युवा टिमहरू पनि विदेशी भूमिमा खेल्न जाने सिलसिला चलिरह्यो । वर्षको सुरुमै राष्ट्रिय फुटबल टिममा विवाद छि¥यो । तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको झगडाका कारण १० खेलाडीले बन्द प्रशिक्षण छाडे । एसियन कप छनोट अन्तर्गतको तेस्रो चरणको तयारीका लागि बन्द प्रशिक्षण काठमाडौंमा राखिएको थियो । बन्द प्रशिक्षण छाड्नेमा रोहित चन्द, अन्जन विष्ट, अनन्त तामाङ, सुजल श्रेष्ठ, विशाल राई, विमल घर्ती मगर, तेज तामाङ, दिनेश राजवंशी, विशाल श्रेष्ठ र सुमन लामा थिए ।
कुवेतमा भएको तेस्रो चरणको छनोट खेल्ने नेपाली टिममा यी कुनै पनि खेलाडी परेनन् । साथै नियमित कप्तान किरण कुमार लिम्बुलाई समेत अलमुताइरीले टिममा बोलाएनन् । यसको कारण थियो, किरणले बन्द प्रशिक्षण छाडेका १० खेलाडीलाई समर्थन गर्नु । बन्द प्रशिक्षण छाड्ने ती १० खेलाडीमध्ये ६ ले आखिरमा फरक फरक समयमा देश नै छाडे ।
एसियन कपको दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा थियो । समूहमा रहेका पाँच टिममध्ये नेपाल चौथो बन्यो । तेस्रो चरणमा भने नेपाल समूहको पुछारमा रह्यो । नयाँ स्वरुपको राष्ट्रिय टिमले कुल १३ गोल खाँदा जम्मा एक गोल फर्काउन सक्यो ।अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र धारावाहिक रुपमा चलिरहने आन्तरिक कलहबाहेक नेपाली फुटबललाई चोट दिने अर्को कारण थियो, खेलाडीको पलायन । वर्षको सुरुदेखि अन्त्यसम्मै खेलाडी विदेश लागिरहे । सहिद स्मारक ए डिभिजन लिग सुरु भइसकेपछि पनि खेलाडी विदेशीन छाडेनन् । संकटा क्लबका कप्तान सुनिल बल त पहिलो खेल खेलेको भोलिपल्ट अस्ट्रेलिया उडे । उनी नभएपछि कप्तानको जिम्मेवारी पाएका सरोज दाहाल पनि त्यतै हानिए । खेलाडी पलायनको यो सिलसिला यो वर्ष पनि रोकिनेवाला छैन ।
२०७९ को भदौमा नेपालले साफ महिला च्याम्पियनसिप आयोजना गर्यो । कुमार थापाको नेतृत्वमा नेपाली टिम फाइनल पुग्यो । दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा भने नेपाल बंगलादेशसामु निरी साबित भयो । साफ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीचको भिडन्तले एउटा महत्त्वपूर्ण सन्देश दियो । जुन थियो, बंगलादेश महिला फुटबल विकासमा गम्भीर बनिसकेको छ । यो सन्देशलाई बंगलादेशी खेलाडीहरू मैदानमा प्रवाह गरिरहेका थिए ।
तीव्र गतिमा खेल्ने प्राविधिक रुपमा कुशल बंगलादेशी खेलाडीहरुलाई रोक्न न त नेपाली खेलाडीहरुको जुझारुपनले सक्यो, न त कुमार थापाकै रणनीति बाधक बन्यो । नेपाल साफ महिला च्याम्पियनसिपमा उपविजेतामा सीमित भएको यो चौथो पटक थियो । सधैँ भारत च्याम्पियन बन्दै आएको प्रतियोगितामा बंगलादेश पहिलो पटक विजेता बन्यो ।
फाइनलमा बंगलादेशसँग निराश हुनु परे पनि नेपाली टिमले सम्झनलायकको एउटा नतिजा आत्मसाथ गर्यो, भारतमाथि पहिलो पटक जित । पुराना संस्करणहरुमा भन्दा कमजोर देखिएको भारतलाई नेपालले सेमिफाइनलमा पराजित गरेको थियो ।महिला फुटबलमै नेपालले खेलेको अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता थियो, साफ यु-१७ महिला च्याम्पियनसिप । बंगलादेशमा आयोजित यो प्रतियोगितामा कुल पाँच टिम सहभागी थिए । तीमध्ये नेपाल चौथो बन्यो । यही उमेर समूहको पुरुष साफ च्याम्पियनसिप फाइनलमा नेपाल भारतसँग पराजित भयो । क्षेत्रीयबाट महादेसीयस्तरको प्रतियोगितामा पुग्दा नेपाली युवा टिमको प्रदर्शनमा व्यापक ह्रास आयो । भियतनाममा भएको एसियन कप छनोटमा नेपालले एकै खेल पनि जितेन ।
२० वर्ष मुनिको महिला टिम बंगलादेशी भूमिमै भएको साफ च्याम्पियनपसिपमा उपविजेता बन्यो । चार टिम सम्मिलित प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल बंगादेशसँग पराजित भएको थियो । यही उमेर समूहको एसियाली छनोटको पहिलो चरण नेपालले पार गरिसकेको छ ।
पुरुषतर्फको यु-२० साफ च्याम्पियनसिपमा भने नेपाल तेस्रो स्थानमा रह्यो । एसियन कप छनोटमा पनि नेपालले गतिलो प्रदर्शन गर्न सकेन । बहराइनमा भएको छनोट प्रतियोगितामा त नेपाल भुटासँग समेत हार्यो । युवा फुटबल परियोजनालाई आवश्यक नठान्ने फुटबल संघ भएको नेपालले उमेर समूहका कुनै पनि दक्षिण एसियाली प्रतियोगिता नजित्नु अस्वाभाविक थिएन ।
नेपाली पुरुष सिनियर टिमले दशरथ रंगशालामा बंगलादेश, पाकिस्तान, लाओस, भुटान लगायतका टिमसँग मैत्रीपूर्ण खेल खेल्यो । फरक फरक प्रशिक्षकको नेतृत्वमा खेलेको नेपाल यी कुनै पनि खेलमा हारेन । यद्यपि भुटानसँग भने इतिहासमा पहिलो पटक बराबरीमा रोकियो, नेपाल । दीपकराज सिंह ठकुरीले खेलको उत्तरार्धमा गोल नगरेको भए नेपालले नयाँ मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको नेतृत्वमा कहिल्यै बिर्सन नसकिने कीर्तिमान रच्थ्यो, भुटानसँगको पहिलो पराजय ।
त्यसैगरी महिला टिमले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्यो । भारतको चेन्नईमा भएका दुई खेल बराबरीमा सकिएका थिए । महिला टिमले वर्षको उत्तरार्धमा ओलिम्पिक छनोट पनि खेल्यो । भियतनामसँग खेलिएका ती दुवै खेलमा नेपाल पराजित भयो । दशरथ रंगशालामा भएका ती दुई खेलमा भियतनाम क्रमशः ५-१ र २-० ले विजयी भएको थियो । २०७९ मा क्रिकेट विवादमा पर्नुको मुख्य कारण नेपाल क्रिकेट संघ (क्यान) आफैँ थियो । पहिल्यैबाट आन्तरिक राजनीतिका कारण थलिएको क्यान नेपाल टी-२० लिग आयोजना गर्दा विवादित बन्यो । कारण थियो, लिग आयोजना अधिकार एक भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिँदा आवश्यक प्रक्रिया नपुर्याउनु । पुसमा आयोजित यो लिगले स्पट फिक्सिङका कारण सम्मान पनि गुमायो । नेपाल प्रहरीले स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहितका कयौँ व्यक्तिलाई पक्राउ गर्यो ।हुलमुलमा सक्ने प्रयास गरिएको लिगमा सहभागी क्लबहरुले खेलाडीहरुलाई समयमै तलब उपलब्ध नगराउँदा नेपाली क्रिकेट बदनाम बन्यो । ती क्लबहरुको स्वामित्वकर्ताहरुकै बारेमा आवश्यक जानकारी बाहिर ल्याइएको थिएन । यसरी आयोजना गरिएको लिगका कारण नेपाली क्रिकेट फिक्सरहरुको चंगुलमा फसेको भन्ने सन्देश गयो ।
दर्शकको ध्यान तान्न नसकेको नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको थियो । पहिलो संस्करणमा च्याम्पियन बन्न लुम्बिनीले फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरेको थियो ।
यही वर्ष नेपाली क्रिकेट गम्भीर नैतिक संकटमा पर्यो । एक १७ वर्षीया नाबालिकाले तत्कालीन कप्तान सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिइन् । प्रहरीले सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्यो । जिल्ला अदालतले उनलाई थुनामा पठाइदियो । त्यहाँ एक सय दिन बिताएका सन्दीप उच्च अदालत, पाटनको आदेशमा धरौटीमा छाडिए ।मुद्धा छिनोफानो नहुँदै क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा मात्र गरेन, राष्ट्रिय टिममै बोलायो, खेलायो । क्यानको यस्तो क्रियाकलापले नेपाली क्रिकेटको नैतिक पतन सुरु भयो । आइसिसी विश्वकप लिग-२ अन्तगर्तको शृंखला खेल्न नेपाल आएको स्कटिस टिमका कसैले पनि खेलअघि र पछि सन्दीपसँग हात मिलाएनन् । यौन दुर्व्यवहारको मामलामा शून्य शहनशीलता अपनाउनु पर्ने सामान्य चलनलाई नमानेको क्यानलाई स्कटिस खेलाडीहरुले सन्दीपसँग हात नमिलाएर दह्रो झापड हाने ।मैदानबाहिरको यो लज्जालाई मैदानभित्रको प्रदर्शनले केही हदसम्म ओझेलमा पार्ने प्रयास गर्यो। यो प्रयासको केन्द्रमा देखिए, मोन्टी देशाई । उनी माघ २३ मा नेपाली पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएसँगै प्रदर्शनमा नाटकीय सुधार भयो । एकदिवसीय मान्यता गुम्ने अवस्थामा रहेको नेपाललाई उनले विश्वकप छनोटसम्म पुर्याए । लिग-२ को शीर्ष तीनमा रहेपछि एकविदसीय मान्यता त स्वतः सुरक्षित भइहाल्यो ।
सिनियर टिम विश्वकप छनोटमा मात्र पुग्दा युवा टिमले भने विश्वकपमै स्थान पक्का गर्यो । संयोग कस्तो भने, नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) एकै दिन दुई खेलमा आमनेसामने भए । दुवै खेल यूएईकै मैदानमा भए । सिनियर टिम पराजित हुँदा युवा टिमले भने छक्क पार्नेगरी जित दर्ता गरेको थियो । जितका लागि १५ बलमा आठ रन चाहिएको यूएईलाई नपालले रोकेको थियो ।
आइसिसी यु-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालले निराशाजनक प्रदर्शन गर्यो । ६ टिम सम्मिलित एसियाली छनोटमा नेपाललाई यूएई र थाइल्यान्डले पछि पारे । अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालको खस्किँदो प्रदर्शनको कारण कमजोर घरेलु संरचना भएको कतै लुकेको छैन । सीमित प्रतियोगिता, त्यसमाथि पनि खाली २० ओभरको प्रतियोगिता आयोजना गर्ने क्यानले यो वर्ष पनि बानी फेरेन ।
इटहरीमा आयोजित प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जित्यो । फाइनलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ६ विकेटले हराएको थियो । महिला क्रिकेटरहरूले खेल्न पाएको अर्को प्रतियोगिता थियो, तेस्रो वुमेन्स ललितपुर मेयर्स कप ट्वान्टी-२० । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैैदानमा भएको प्रतियोगिता एपीएफ क्लबले जित्यो ।यही वर्ष गण्डकी प्रदेशले नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्यो । भद्रगोल पारामा आयोजना हुँदै आएको राष्ट्रिय खेलकुद कम्तीमा व्यवस्थापकीय हिसाबले आहा भन्न लायकको थिएन । राष्ट्रिय खेलकुदको उपदेयतामाथि कयौँ वर्षदेखि प्रश्न उठिरहेको छ । यस्तो प्रश्नको जवाफ राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलकुदको भव्य आयोजना गरेर दिन सक्थ्यो । तर राखेपले भव्यताको अर्थ फगत उद्घाटन र समापन समारोह तडकभडक बनाउनु पर्छ भन्नेमै सीमित भयो । त्यसमा पनि राखेप पूर्ण रुपमा फ्लप भयो ।
खैर भद्रगोलका बाबजुद सहभागी खेलाडीहरुले उत्साह नमारी खेले । सदाझैँ यसपटक पनि पदक तालिकामा विभागीय टिमहरुको वर्चस्व रह्यो । ११ टिमसम्मिलित राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मीले १७२ स्वर्णसहित ३७१ पदक जित्दा शीर्षस्थानमाथि कब्जा जमायो । त्यसैगरी दुई स्वर्ण जितेको कर्णाली अन्तिम स्थानमा रह्यो ।मुख्यगरी पोखरामा आयोजित राष्ट्रिय खेलकुद विवादमुक्त भने रहन सकेन । एनआरएनले राष्ट्रिय फुटबल स्टारहरूलाई खेलाएपछि उजुरी परेको थियो । बुद्धिचाल, एथ्लेटिक्स, बक्सिङ लगायतका खेलका स्पर्धामा पनि पटक पटक विवाद भए । यस्ता विवादले विभिन्न स्पर्धामा बनेका कीर्तिमान भने ओझेलमा परेनन् । कीर्तिमान सधैँ विशेष हुन्छन् । त्यसमाथि एथ्लेटिक्समा जयरानी थारु र भारोत्तोलनमा तारादेवी पुनले बनाएका कीर्तिमान झनै विशेष रहे ।
भलिबलले पनि यस वर्ष नेपाललाई खुसी हुने बहाना दियो । घरेलु भलिबल संरचनामा आयोजना हुँदै आएका प्रतियोगिताले निरन्तरता पाए । यस्तोमा केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमण्ड एकेडेमीले हात पार्यो ।थाइल्यान्डमा भएको एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेर बक्सर सुष्मा तामाङले सैबलाई छक्क पारिन् । ४८ केजी तौल समूहको फाइनलमा सुस्मालाई उज्वेकिस्तानकी फोजिलोभा फार्जोनाले पराजित गरेकी थिइन् । रजत पदक भित्र्याएर सुस्माले महिला बक्सिङलाई गम्भीर रुपमा लिन सन्देश दिएकी छन् ।
साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्राँपिमा नेपालकी सिर्जना घिसिङले ऐतिहासिक स्वर्ण हात पारिन् । उनले ५२ केजी मुनि के-४४ स्पर्धामा विश्व नम्बर १ खेलाडी टर्कीकी मेर्येम बेटुललाई १२-० ले हराएकी थिइन् । फाइनल पुग्नुअघि सिर्जनाले सेमिफाइनलमा ब्राजिलकी क्रिस्टियन नासिमेन्टो र क्वार्टरफाइनलमा मेक्सिकोकी जेसिका क्विजानोलाई पन्छाएकी थिइन् । विश्व पारा तेक्वान्दो ग्राँपिमा नेपालले जितेको यो पहिलो स्वर्ण थियो । यो प्रतियोगितामा पलेसा गोवर्धनसहित दुई खेलाडीको सहभागिता थियो ।
बंगबन्धु सेख मुजिब ढाका म्याराथानमा पुष्पा भण्डारीले नेपाललाई स्वर्ण पदक दिलाइन् । साफ एलिट महिलातर्फको प्रतिस्पर्धामा पुष्पाले २ घण्टा ४८.०२ मिनेटमा दौड पूरा गरेकी थिइन् । नेपालकै वृन्दा श्रेष्ठले २ घण्टा ५२.२२ मिनेटमा दौड पूरा गरेर तेस्रो स्थानमाथि कब्जा गरेकी थिइन् । पुरुषतर्फको हाफ म्याराथनमा नेपालका गोपीचन्द्र पार्कीले कांस्य जितेका थिए ।