काठमाडौं । अभाव र विविध समस्याबीच सकारात्मक बाटोमा घिस्रिइरहेको नेपाली पारा खेलकुदका लागि २०७९ साल अर्को अविस्मरणीय वर्षमा दरिँदै विदा भएको छ । अघिल्लो वर्ष पनि पारा खेलकुदमा पारा तेक्वान्दोले एकपछि अर्को सफलता पाएको थियो ।
गत वर्ष पलेशा गोवर्धन र सिर्जना घिसिङले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका थिए । त्यसो त २०२१ को टोकियो ओलम्पिकमा पलेशा दुई फाइट जित्ने पहिलो खेलाडी बनेसँगै पारा तेक्वान्दोको चर्चा चुलिन थालेको हो ।
पारा खेलकुदका अन्य गतिविधि करिब शून्य अवस्थामा रहँदा पारा तेक्वान्दोले वर्ष २०७९ मा एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितामात्र जनाएन, पदकका साथ नेपाली खेलकुदमा आफ्नो दरिलो उपस्थिति जनायो ।
जेठ १० देखि १३ सम्म हाङझाउमा हुने २०२२ को एसियन पारा तेक्वान्दोको छनोटका रूपमा रहेको शारजहाँ छनोटमा नेपालकी रञ्जना धामीले कांस्य जितेकी थिइन् ।
त्यस्तै सिर्जना घिसिङले मंसिर २२ देखि २४ सम्म साउदी अरेबियाको रियादमा सम्पन्न विश्व पारा तेक्वान्दो ग्राँपि (जी-१०) मा स्वर्ण पदक जितिन् । खासमा नेपाली पारा खेलकुदका लागि यो एउटा सुखद क्लाइमेक्स थियो । विश्व तेक्वान्दोमा जी-१० स्तरको प्रतियोगितामा कुनै पनि खेलाडीले स्वर्ण पदक जितेको यो पहिलो अवसर थियो ।
स्वर्ण पदक जित्नेक्रममा सिर्जनाले शीर्ष तीन वरीयतामा रहेका मेक्सिकन, ब्राजिली र टर्किस खेलाडीलाई हराएकी थिइन् ।
ह्विलचेयर क्रिकेट
नेपालको राष्ट्रिय ह्विलचेयर क्रिकेट टोलीले चैतमा भारतमा चारदेशीय क्रिकेट प्रतियोगितामा सहभागिता जनायो । प्रतियोगितमा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका टोलीको सहभागिता थियो । चैत ९ देखि १५ सम्म भारतको गुजरातमा सम्पन्न चारदेशीय ट्वान्टी-२० शृंखलामा नेपालको यात्रा सेमिफाइनलमा अन्त्य भयो । पहिलो खेलमा श्रीलंकालाई २७ रनको नतिजा सुम्पिएको नेपाल दोस्रो खेलमा भारतलाई ७ र समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा भने नेपाल भारतसँग ८ विकेटले पराजित भयो ।
त्यस्तै चैत तेस्रो साता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा उपत्यकाव्यापी ह्विलचेयर बास्केटबल प्रतियोगिता भयो ।
ह्विलचेयर बास्केटबल
नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस एसोसिएसनको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ वुमेन ह्विलचेयर बास्केटबल एसोसिएसन (डब्लुडब्लुबिए) च्याम्पियन बन्यो ।
प्रतियोगितामा पुरुषतर्फ नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस एसोसिएसन, स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल, त्रिभुवन आर्मी क्लब, बुद्धिसरा इन एक्सन र जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लब गरी ५ टिम तथा महिलातर्फ आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस एसोसिएसन, बुद्धिसरा इन एक्सन, वुमेन ह्विलचियर बास्केटबल एसोसिएसन र ह्विलचियर स्पोर्टस एसोसिएसन नेपाल गरी ४ टोलीको सहभागिता थियो ।