बंगलादेशविरुद्ध अभ्यास, उज्वेकिस्तानमाथि आँखा

काठमाडौं, (खेलाडी)- नेपाली राष्ट्रिय महिला फुटबल टोली घरेलु मैदानमा बंगलादेशविरुद्ध दुई अभ्यास खेलको शृंखलालाई व्यस्त छ । 

बिहीबार पहिलो खेलमा २-१ को जित हासिल गरेको नेपाली महिला टोलीले बंगाली टोलीसँग शृंखलाको दोस्रो खेल आइतबार दशरथ रंगशालामा खेल्नेछ । 

बंगलादेशमाथि नेपाली महिला टोली सधै हावी हुँदै आएको थियो । काठमाडौंमा दुई खेलको शृंखला सुरु हुनुअघि भएका ६ खेलमा नेपालले पाँच पटक जित हासिल गरेको थियो । एउटा खेल बराबरीमा सकिएको थियो । 

त्यसैले बिहीबारको जितले सफलताको यात्रामा एउटा तथ्यांक थप्यो । आइतबार पनि जितको शृंखलाले निरन्तरता पाउने अपेक्षा गर्न सकिन्छ । 

तर नेपालको मुख्य लक्ष्य यो शृंखला होइन । नेपाल त असोज पहिलो साता उज्वेकिस्तानमा हुने एएफसी महिला च्याम्पियनसिपको छनोटका लागि तयारी गरिरहेको छ । त्यही प्रतियोगिताको तयारीका लागि बंगलादेशलाई काठमाडौं निम्त्याइएको हो । 

एसियाली स्तरमा नेपाली महिला फुटबलको इतिहास सम्झनुपर्ने खालको छैन । १९८६ मा एएफसी महिला च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ गर्दा नेपाल हङकङसँग १-० को नतिजामा पराजित भएको थियो । 

त्यसपछि नेपाली महिला टोलीले १९८६, १९८९ र १९९९ मा गरी तीन पटक एसियन कप खेल्यो । कुनै पनि अवसरमा टोली समूह चरण पार गर्न सफल भएको थिएन । 

पहिलो दुई संस्करणमा नेपाल थाइल्यान्ड, इन्डोनेसिया र हङकङ रहेको समूहमा परेको थियो । तेस्रो पटकको सहभागितामा नेपालले समूह चरणमा इन्डोनेसिया र हङकङसँगै जापानलाई प्रतिद्वन्द्वीका रुपमा पाएको थियो । 

पछिल्लो समय भने नेपाली महिला फुटबल टोलीको उपस्थिति दक्षिण एसियामा खुम्चँदै गएको छ । दक्षिण एसियामा भारतवाहेक सबै टिममाथि सधै हावी हुँदै आएको नेपाल फेरी एक पटक दक्षिण एसियाको सिमाना काट्ने प्रयासमा छ । 

नेपालको त्यो प्रयास अर्को महिना उज्वेकिस्तानमा हुने छनोट चरणबाटै सुरु हुनेछ । जहाँ सफलता प्राप्त गर्दै नेपाली महिला टोली पुनः एसिया कपको समूह चरणमा स्थान सुरक्षित गर्न चाहन्छ । छनोट प्रतियोगिताको समूह ‘एफ’ मा नेपालले तुलनात्मक रुपमा बलियो मानिएका फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

तर नेपाल अहिले अत्यन्तै कठिन अवस्थामा छ । दक्षिण एसियाकै महिला फुटबलकी सबभन्दा स्टार खेलाडी सावित्रा भण्डारीको साथ अहिले नेपालसँग हुने छैन । 

३८ अन्तर्राष्ट्रिय गोल गरेकी सावित्रा लामो समयदेखि नेपाली राष्ट्रिय टोलीको मुख्य हतियारको रुपमा रहँदै आएकी थिइन । २०१४ मा भुटानसँग खेल्दै राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी सावित्राले ३४ अन्तर्राष्ट्रिय खेल खेलेकी छिन् ।

महिला राष्ट्रिय लिग खेल्ने क्रममा गत फागुनमा गम्भीर रुपमा घाइते भएकी थिइन । सशस्त्र प्रहरी बलको एपिएफका लागि नेपाल पुलिसविरुद्ध खेल्ने क्रममा घुँडामा गम्भीर चोट लागेयता सावित्रा मैदान उत्रिन सकेकी छैनन् । कतारमा घुँडाको शल्यक्रिया गराएकी उनी आराममा छिन् ।

सावित्राको अनुपस्थितीले नेपाली टोलीमा ठूलो रिक्तता सिर्जना गरेको छ । पक्कै पनि नेपाली टोलीका लागि यो चुनौतीपूर्ण कुरा हो । 

सावित्राविनाको नेपाली टोलीले एएफसी महिला च्याम्पियनसिप छनोटमा कस्तो प्रदर्शन गर्छ भन्ने प्रश्नको केही सातापछि उत्तर पाइनेछ । तर सावित्राको अनुपस्थितिमा अन्य नयाँ खेलाडीसामू नेपाली समर्र्थकमाझ आफ्नो छुट्टै पहिचान बनाउने सुनौलो अवसर हुनेछ । 

बंगलादेशविरुद्धको खेलमा ‘डेब्यु’ गरेका चार खेलाडीमध्ये प्रिती राईले अन्तर्राष्ट्रिय गोलको खाता खोलेर राम्रो संकेत गरेकी छिन् । बिहीबार प्रितीसँगै सविता राई, रेश्मी घिसिङ र सिर्जना सिंहले पनि राष्ट्रिय टोलीको जर्सीमा पहिलो खेल खेलेका थिए । 

सधै आफू हावी हुँदै आएको बंगलादेशमाथिको जित र त्यसमा गरेको गोलकै आधारमा धेरै हौसिनु उचित नहुन सक्छ । तर बंगलादेशविरुद्धको शृंखला एसियन कपका लागि आफूलाई तयार पार्न चाँही उपयोगि हुनेमा शंका छैन । 

मैत्रीपूर्ण शृंखलाबाट नेपालले आफूमा भएका कमीकमजोरी सुधार गर्दै एसियन कपका लागि निखारिने मौका पाउनेछ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले यस पटक राष्ट्रिय टोलीमा सात नयाँ अनुहारलाई स्थान दिएका छन् । त्यसैले पनि यो मैत्रीपूर्ण शृंखला अझ आवश्यक थियो ।

सावित्राले नेपाली फुटबलमा विशेष छाप छोडिसकेकाले अहिले अन्य खेलाडीलाई सावित्राको उत्तराधिकारी बन्ने सुनौलो अवसर भएको बताए ।

‘सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर हुन् । उनको अनुपस्थितीले टोली केही दबाबमा पर्न सक्छ । तर यो नयाँ खेलाडीका लागि आफ्नो क्षमता प्रमााणित गर्ने सुनौलो अवसर पनि हो,’ फिलिप्स भन्छन् ।

बिहिबार बंगलादेशविरुद्ध प्रीती, सविता र सरुले अग्रपंक्तिको मोर्चा सम्हालेका थिए । जुन आइतबार हुने दोस्रो खेलमा पनि कायम रहने अपेक्षा गर्न सकिन्छ ।

‘डेब्यु’ खेलमै आफ्नो प्रभाव छोड्न सफल प्रीती र सविताले नै एएफसी एसियन कप छनोटमा पनि नेपाली टोलीको अप्रपंक्ति सम्हाल्ने सम्भावना समेत बढेको छ ।

प्रशिक्षक फिलिप्सले बंगलादेशविरुद्धको खेलपछिको पत्रकार सम्मेलनमा प्रीति र सविताले आफ्नो क्षमता प्रमाणित गरेको बताएका थिए ।

उमेर समूहमा राष्ट्रिय टोलीको कप्तानी गरिसकेकी प्रीती भने राष्ट्रिय टोलीबाट पहिलो रोजाईमा खेल्ने अवसर पाए पनि आफूलाई थप प्रमाणित गर्दै लैजाने बताउछिन् ।

‘मैले यसअघि उमेर समूहमा स्थान बनाए पनि सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउनु आफैमा विशेष अवसर थियो,’ प्रीतीले भनिन्, ‘मलाई पहिलो खेलमै पहिलो रोजाईमा स्थान दिएकोमा प्रशिक्षक ग्यारी फिलिप्सलाई विशेष धन्यवाद दिन चाहन्छु । मलाई विश्वास गर्नु भएको छ । मैले अझ धेरै मेहनत गर्न बाँकी छ र आफूलाई थप प्रमाणित गर्न पनि ।’

प्रितीले भनेजस्तै उनले पक्कै पनि आफूलाई प्रमाणित गर्नुपर्नेछ । साथमा नेपाली राष्ट्रिय महिला टोलीले पनि दक्षिण एसियाभन्दा बाहिर निस्कनका लागि आफू तयार रहेको सन्देश दिन आवश्यक छ ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar