झापा । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित आयोजक काँकरभिट्टा ट्रेनिङ सेन्टर र चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा आज (शनिबार) प्रतिस्पर्धा गर्दैछन् ।
दुवै टोलीले प्रतियोगिताको पाँचौ संस्करण आइपुग्दा पहिलो पटक फाइनलमा स्थान बनाएका हुन् । यस अर्थमा प्रतियोगिताले नयाँ च्याम्पियन पाउने निश्चित छ ।
२०७१ सालबाट सुरु भएको प्रतियोगितामा यसअघि विर्तामोड युनाइटेड, झापा ११, विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब च्याम्पियन बनेका थिए । पुलिसले पछिल्लो पटक आर्मीलाई हराउँदै उपाधि जितेको थियो । पूर्व च्याम्पियनरू यस पटक सहभागी नै भएनन् । लगातार चार संस्करण प्रतियोगिता आयोजना भएपछि कोरोना महामारीका कारण रोकिएको प्रतियोगिताको पाँचौं संस्करण हुन पाँच वर्ष नै कुर्नु पर्यो ।
चर्च ब्वाइज झापा गोल्डकप, बागमती गोल्डकप र फाल्गुनन्द गोल्डकपको च्याम्पियन हाे ।
सहिद स्मारक स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज यो प्रतियोगिता पनि जित्न तयार छ । फाइनल अघिविश्राम पाउँदा टिमलाई सहज हुने प्रशिक्षक सुमन श्रेष्ठ बताउँछन् । ‘लगातार मोफसल प्रतियोगिता खेल्दा खेलाडीलाई पनि निकै गाह्रो भएको छ । फाइनल अघि एक दिन विश्राम पाएका छौं । फाइनल जित्ने लक्ष्यमा हुँदा यसले धेरै सहज हुने गर्दछ,’ यस पटक टिमलाई तीन प्रतियोगिताको उपाधि जिताइसकेका श्रेष्ठले भने, ‘मेरो लक्ष्य यो प्रतियोगिताको उपाधि जित्दै यस पटक मोसफल टुंगाउने छ । त्यसमै केन्द्रित छौं ।’

प्रशिक्षक श्रेष्ठ यो प्रतियोगिता लगत्तै नेपाल सुपर लिग (एनएसएल)मा केन्द्रित हुने बताउँछन् । उनी पोखरा थन्डर्सको मुख्य प्रशिक्षक हुन् । यस पटक श्रेष्ठले आफ्नो प्रशिक्षणमा चर्च ब्वाइजलाई झापा गोल्डकप, बागमती गोल्डकप र फाल्गुनन्द गोल्डकपको उपाधि दिलाइसकेका छन् । यसपटक पटक चर्च ब्वाइजले खेलेको १० मध्ये आठ प्रतियोगितामा फाइनलमा स्थान बनाएको छ । चर्च ब्वाइज इलाम गाेल्डकप, विराट गोल्डकप र भारतको सिक्किमा भएको चिफ मिनिस्टर कपमा भने उपविजेता बनेकाे थियाे ।
टिमलाई आफ्नो कप्तानीमा तीनै उपाधि जिताएका एकराज बुढाथोकी लगातार मोफसल प्रतियोगिता खेल्दा थकित भए पनि यो प्रतियोगिता जित्नेरै छाड्ने बताउँछन् । सेमिफाइनल सोचेको भन्दा राम्रो हुँदा उनी हौसिएका छन् । ‘सेमिफाइनल सोचेको भन्दा निकै राम्रो भयो । लगातार खेल्दा थकित छौं । तर पनि उपाधि जितेर यो पटक मोफसलको यात्रा टुंगाउन चाहन्छौं,’ उनले भने ।
काँकरभिट्टा पनि घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै उपाधि घरमै राख्न चाहन्छ ।
चर्च ब्वाइजले प्रतियोगिताको पहिलो खेलमा एनएसएलको टोली झापा एफसलाई सेडन डेथमा हराएको थियो । सेमिफाइनलमा भने ‘ए’ डिभिजन लिग पूर्व विजेता मछिन्द्र एफसीविरुद्ध अप्रत्यासित कमब्याक गर्न सफल भयो । पहिलो हाफमै ३-० ले पछि परेको चर्च ब्वाइजले दोस्रो हाफमा चार गोल गरेको थियो ।

सेमिफाइनलमा विदेशी खेलाडी अबायोमी फकुन्लेले ह्याट्रिक गरेको थिए । फाइनलमा समेत उनी नै टोलीको मुख्य हतियार हुनेछन् । राष्ट्रिय टिमबाट खेलिसकेका सुरज जिउठकुरीसँगै उमेर समूहमा नेपालको प्रतिनित्व गरिसकेका समीर तामाङ, राजेश परियार, जया गुरुङ, गौरव श्रेष्ठ जस्ता खेलाडी चर्च ब्वाइजमा छन् ।
यता, आयोजक टोली पनि घरेलु समर्थकको साथ घरमै उपाधि राख्ने योजनामा छ । टोलीले सुधारिएको प्रदर्शन गरिरहेको छ । प्रशिक्षक मुन्ना सुब्बाले घरमै उपाधि राख्न तयार रहेको बताए । ‘हामी फाइनलका लागि तयार छौं । टोलीमा रहेका खेलाडी क्षमतावान छन् । त्यसैले हामी हामी उपाधिको हकदार छौं ।’
आयोजक काँकरभिट्टाले पहिलो खेलमा भारतको जर्जियन एफसीलाई ४-२ ले पराजित गरेको थियो । सेमिफाइनलमा धरान एफसीविरुद्ध पछि परेको स्थितिमा खेल उल्टाउँदै सेडनडेथमा जित निकाल्न सफल भएको थियो । खामिर गिल्सानको कप्तानीमा रहेको टिममा विश्वास चौधरी, दिवस उराउ, पासाङ लामा, विवेक गुरुङ, निशान लिम्बू जस्ता खेलाडी छन् । विदेशी खेलाडी रोबार्ट, इब्राहिम र फ्राङ्कुलिन कुइटे टालाले पनि सानदार प्रदर्शन गरिरहेका छन् ।
‘चर्च ब्वाइज राम्रो टिम हो । उनीहरु औसतममा बलियो छन् । तर, हामी उपाधि जित्न खेल्छौं,’ खेलअघिको पत्रकार सम्मेलनमा उपस्थित उपकप्तान दिवसले भने ।
