दशरथ रंगशाला लामो समयपछि फुटबल भएको छ । शीर्ष डिभिजनको लिगका सबैजसो खेल यही रंगशालाले आयोजना गरिरहेको छ । त्यसोत चार वटा मैदानमा लिग गराउने घोषणा गरेको एन्फाले केही खेल पोखरा रंगशाला लगेको छ । नेपाली फुटबलको होमका रुपमा परिचित दशरथ रंगशाला लिगका कारण फुटबलमय भइरहँदा स्वयम लिगमाथि भने थुप्रै प्रश्नहरु उठेका छन् । रेफ्री र मैदानको स्तर, समग्रमा लिग गराउने शैली र नेपाली फुटबलमा यसले पुर्याएको योगदानलगायतका विषयमा नेपाली फुटबलको इन्साइक्लोपेडियाका रुपमा परिचित लिग निर्देशक सञ्जिव मिश्रसँग खेलाडीका लागि अजय फुयालले गरेको कुराकानीको सम्पादित अंश:– पाँचौं चरणका खेलहरू सकिँदासम्म लिगलाई कसरी मूल्यांकन गर्नुभएको छ ।
विगतका तुलनामा यसपालि लिग राम्रो भइरहेको छ । एक किसिमले यो वर्षको लिगले फुटबलको माहोल जस्तो अपेक्षा गरेका थियौं । त्यसको नजिक पुगेजस्तो भइरहेको छ । हामीले यो वर्ष फ्लडलाइटमा खेल गराइरहेका छौं । काठमाडौंबाहिर पनि केही खेल लगेका छौं । टिकट दर पनि पहिलाभन्दा सस्तो गरेका छौं । त्यो हुँदा दर्शकको राम्रो उपस्थिति हुन थालेको छ । लिग सफल भयो कि भएन भनेर जाँच्ने एउटा इन्डिकेटर भनेको दर्शक उपस्थिति पनि हो । विगतका तुलनामा राम्रो संख्यामा दर्शक आएका छन् । त्यो हिसाबले हामी उत्साही छौं । तथापि पूर्ण रूपमा सन्तुष्ट भने छैनौं ।
– होम एन्ड अवे लिग भन्नुभयो । तर सिंगल राउन्ड लिग गराउनुभएको छ । अनि पूरा लिगका तीन खेल पोखरा लगेर होम एन्ड अवे भन्न मिल्छ ?
होम एन्ड अवे लिग भनेका छैनौं । होम एन्ड अवे हुनका लागि डबल राउन्ड लिग हुनुपर्छ । यो बुझाइमा गल्ती भयो होला । यो पूर्ण रूपमा सेन्ट्रलाइज लिग हो । भोलिका दिनमा होम एन्ड अवे लिग गर्नुपर्दाको अभ्यासस्वरुप हामीले काठमाडौंबाहिर लिग लैजाने थालनी गरेका हौं ।
साथमा मनाङ मर्स्याङदी क्लबले पोखरा रंगशालालाई आफ्नो घरेलु मैदानका रूपमा प्रयोग गर्दा यसबाट थालनी चाहिँ भएको छ । यसलाई एउटा प्रयोगका रूपमा लिनु राम्रो हुन्छ । हामी लिगका १३ चरणमध्ये एउटा चरणका पूरा ७ खेल काठमाडौंबाहिर लाने योजनामा पनि थियौं । तर, त्यो निकै खर्चिलो हुने देखिएकाले पछि योजना स्थगित गर्यौं । होम एन्ड अवे हुन पहिला त दोहोरो लिग हुनुपर्यो । त्यसपछि सबै क्लबको घरेलु मैदान हुनुपर्छ । त्यसका लागि एउटै मैदानलाई पनि दुई वा तीन क्लबको घरेलु मैदानका रूपमा प्रयोग गर्न सकिन्छ ।
– अनि सप्ताहन्त लिगको पनि कुरा गर्नुभयो । तर हप्ताको चार दिन खेल गराइरहनुभएको छ । यो नारा पनि पब्लिक खपतका लागि मात्र हो त ?
सप्ताहन्त लिग गर्न पनि हामीलाई रंगशालाको अभाव छ । एउटा चरणमा सात खेल हुन्छ । सात खेल सप्ताहन्तमा गर्नका लागि हामीलाई कम्तीमा पनि दुई वा तीन रंगशाला चाहिन्छ । सुरुमा हामीले च्यासलको रंगशाला, एन्फा रंगशाला र पोखरा रंगशाला पनि प्रयोग गर्ने भनेका थियौं । तर, च्यासल रंगशाला अहिलेसम्म एन्फाले प्राप्त गर्न सकेको छैन । त्यो निर्माण कम्पनीले राष्ट्रिय खेलकुद परिषद् अनि परिषद्ले एन्फालाई दिन अझै समय लाग्ने देखियो । दर्शकको उल्लेख्य उपस्थितिका कारण फुटबलको जुन माहोल बन्यो, त्यसकारण एन्फा कम्प्लेक्समा गर्न पनि गाह्रो भयो । रंगशाला अभावकै कारण हामीले नवौं चरणसम्म तीन खेल पोखरा र बाँकी सबै खेल दशरथ रंगशालामा गर्ने निर्णयमा पुगेका हौं । यसरी गर्दा सप्ताहन्तमा मात्र गर्न सम्भव भएन । एउटै रंगशालामा सबै खेल गराउँदा मैदानको अवस्था नराम्ररी बिग्रिन्छ । अहिले पनि मैदानको अवस्था जटिल बनिसकेको छ । तथापि हामीले प्रत्येक हप्ता शुक्रबार साँझको एउटा र शनिबारका दुई गरी एउटा चरणमा तीनवटा खेल कार्यालय समयसँग नजुध्ने गरी गराएका छौं । यो पनि एउटा प्रयोग नै हो ।
– नेपाली फुटबलको स्तर र विदेशी खेलाडीको उपस्थिति हेर्दा विगतका तुलनामा यो लिगलाई कहाँ देख्नुहुन्छ ?
पहिलो पटक नेपालमा शीर्ष डिभिजनमा रहेको विभागीय टोली एपिएफ फुटबल क्लबले पनि विदेशी खेलाडी ल्याएको छ । फुटबलको अन्तर्राष्ट्रिय ट्रेन्डअनुसार चल्ने सवालमा यो सकारात्मक कुरा हो । अरू क्लबमा पनि विगतका तुलनामा राम्रा विदेशी खेलाडी आएका देखिन्छन् । साथै विदेशी खेलाडीसँग नेपाली खेलाडीको सहकार्य पनि राम्रो भइरहेको छ । विदेशीसँग हाम्रा खेलाडीको तालमेल सही रूपमा भइरहेको मलाई लागेको छ । जहाँसम्म नेपाली फुटबल स्तरको कुरा छ, समयअनुसार स्तर सुधारिँदै गएको छ । अहिले संख्यात्मक रूपमा खेलाडीमा सुधार आएको छ । प्रदर्शनको हकमा पनि स्टार खेलाडीमात्र नभएर सबै खेलाडीले राम्रो फुटबल खेलिरहेका छन् । त्यसैको परिणाम हुनसक्छ यसपालिको लिगमा प्रत्येक खेल प्रतिस्पर्धात्मक भइरहेको छ । ठूलो अन्तरले हारजित भएका छैनन् । जुन कुनै टिमले पनि जुनसुकै टिमलाई हराउने सामथ्र्य राखेको देखिन्छ ।
– तपाईंले भनेजस्तो नेपाली फुटबलको स्तर सुधारिएको भए अन्तर्राष्ट्रिय स्तरमा पनि देखिनुपर्ने हो । तर, नतिजाका हिसाबमा त्यस्तो देखिँदैन नि त ?
हाम्रो स्तरको वृद्धि र हाम्रो विकासको गति जस्तो छ, त्योभन्दा अरू देशको विकासको गति धेरै छ । त्यो हामीले मिट गर्न सकेका छैनौं र पछि देखिएका हौं । अन्तर्राष्ट्रिय भनेपछि तुलनाको विषय भयो । भारतसँग तुलना गर्ने हो भने विगत एक दशकमा भारतीय लिगको स्तर धेरै माथि गएको छ । हामीले त्यही गति समाउन धेरै समय लाग्छ । यो क्षेत्रमा हामी भारतसँग लगातार पराजित हुनुको कारण त्यही हो ।
– नेपालको फुटबलमा जस्तो लिग हुनुपर्थ्यो, त्यस्तो हुन सकेन भन्ने तपाईंको स्वीकारोक्ति हो यो ?
पक्कै हो । धेरै कुराहरूको अभावले गर्दा हामीले सोचेजस्तो लिग गर्न नसकेको साँचो हो । त्यो गर्ने प्रयासमा चाहिँ छौं । त्यसका लागि एन्फा एक्लैको प्रयासमात्र पर्याप्त नहुन सक्छ । सबै क्षेत्रबाट सहयोग आवश्यक हुन्छ । संघीय सरकार, प्रदेश सरकार, व्यावसायिक प्रतिष्ठानहरू सबैको उत्तिकै सहयोग भयो भने मात्र हामीले सोचेजस्तो लिग गर्न सक्छौं ।
– शीर्ष डिभिजनको लिगमा ‘बी’ र ‘सी’ डिभिजनको पनि अनुभव नभएका रेफ्रीहरू प्रयोग गर्नुभएको छ । रेफ्रीको विवाद उत्तिकै छ अनि समग्रमा विगतभन्दा लिगको स्तर उकासियो पनि भन्नुहुन्छ । कुरा मिल्यो र ?
केही समययता एन्फामा विभिन्न विभागहरू छन् । यसैगरी रेफ्रीको पनि विभाग छ । लिगमा रेफ्रीको नियुक्ति रेफ्री विभागले नै गर्छ । त्यसमा केही कमीकमजोरी भएका होलान् । त्यति ठूलो इस्यु भएजस्तो मलाई लाग्दैन । केही कमीकमजोरी भएका भए भोलिका दिनमा सच्याउँदै जानुपर्छ ।
– लिग भनेको त एउटा समग्र प्याकेज हो । लिगको प्याकेजमा ‘सी’ डिभिजन छनोटदेखि राष्ट्रिय लिगसम्म होला । तर त्यो प्याकेजमा राष्ट्रिय लिग र अरू डिभिजन पनि गर्नुभएको छैन । तर तपाईंहरू ‘ए’ डिभिजनमात्र गरेर लिग गरेको भन्दै हुनुहुन्छ । यो त अधुरो लिग प्याकेज भयो नि ?
एन्फाले वार्षिक रूपमा जुन क्यालेन्डर बनाएको छ, त्यहीअनुसार लिग भइरहेको छ । लिगको जुन पिरामिड स्ट्रक्चर छ, त्यही अनुसार हुन्छ । अहिले सबै डिभिजनमा १४–१४ क्लब छन् । शीर्ष दुई डिभिजनबाट दुई क्लब रेलिगेसन हुन्छन् । ‘बी’ डिभिजनबाट दुई क्लब बढुवा हुन्छन् । ‘सी’ डिभिजनबाट चाहिँ तीन क्लब रेलिगेसनमा पर्छन् भने दुई क्लब बढुवा हुन्छन् । ‘सी’ डिभिजन छनोटबाट तीन क्लब बढुवा हुन्छन् ।
हाम्रो कार्यक्रमअनुसार नै ‘बी’ डिभिजनको लिग फागुनमा गर्ने तय छ । त्यसपछि ‘सी’ डिभिजन हुने कार्यक्रम छ । राष्ट्रिय लिगको हकमा चाहिँ विगतमा एन्फा प्रेसिडेन्ट्स कपबाट चार टोली र ‘ए’ डिभिजन लिगका शीर्ष ६ टोली राखेर १० टोलीको राष्ट्रिय लिग गर्ने भनेको हो । तर त्यो राष्ट्रिय लिग गर्न प्राविधिक रूपले समस्या भइसकेको छ । विगतमा ‘ए’ डिभिजन लिगबाट शीर्ष ६ टोली चयन भए पनि अहिले नयाँ लिग भइसकेको अवस्था छ । यो अवस्थामा के गर्ने भन्ने हामीले गहन छलफलबाट निचोड निकाल्नुपर्छ । खासमा राष्ट्रिय लिग यो लिगभन्दा अगाडि वा सँगै गर्न सकेको भए सम्भव हुन्थ्यो । तर त्यो हुन नसक्दा अब धेरै गाह्रो भइसकेको लाग्छ ।
– त्यो नगर्नु त एन्फाकै दोष होला नि ?
यसका लागि एन्फाले एउटा अलग्गै जिम्मेवारी दिएको छ । एन्फाले यसको जिम्मेवारी लिग समितिलाई दिएको छैन । हामीले यसमा सहयोग गर्ने कुरा हो । हामीसँग समन्वय भइरहेको पनि थियो । तर कोभिड–१९ को विश्वव्यापी महामारीका कारण पनि राष्ट्रिय लिग आयोजनाको अभियान प्रभावित भयो जस्तो लाग्छ । जतिबेला राष्ट्रिय लिग गर्नुपर्ने समय थियो, त्यो बेला कोभिड संक्रमणको दर निकै तीव्र थियो । पछि सँगै गरेर पुससम्म राष्ट्रिय लिग सम्पन्न गर्ने भन्दा एन्फा प्रेसिडेन्टस कपबाट छनोट भएका मोफसलका चार क्लबले चार महिना लामो लिग खेल्न नसक्ने भनेपछि पनि गर्न सकिएन । उहाँहरूले डेढ महिनामै लिग सक्याउनुपर्छ भन्ने कुरा राख्नुभयो ।
– नेपाली फुटबलको सर्वोच्च निकायको हैसियतमा एन्फाले क्यालेन्डर बनाएर लागू गर्नुपर्ने होइन र ? अनि यस्तोमा सहभागी क्लबले भनेको आधारमा एन्फाले कार्यक्रम नै रद्द गर्न मिल्छ ?
पक्कै पनि एन्फा आफैले नीति नियम लागू गर्नुपर्ने हुन्छ । एन्फाले क्यालेन्डर बनाउने र सबै सरोकारवालाले त्यसअनुसार गतिविधि गर्ने नै हो । तर नेपालमा जुन परम्परा छ, त्यसलाई फलो गर्नुपर्छ । त्यही नेपालको परम्परा फलो गर्दा राष्ट्रिय लिग हुन नसकेको हो ।
– एन्फाले अत्यन्तै महत्वाकांक्षी र भव्य भन्दै आएको ‘ए’ डिभिजन लिगमा पनि रातारात तालिका परिवर्तन गरेर क्लबहरूको विरोधका बाबजुत कात्तिक २९ बाट मंसिर ३ लाई सार्नुभयो नि ?
सबैभन्दा पहिला ‘ए’ डिभिजन लिग असोज २ गतेदेखि सुरु हुने भन्ने थियो । तर कोभिडका कारण फिफाको पहिलो मितिमा साफ च्याम्पियनसिप हुन सकेन । साफ च्याम्पियनसिप सरेपछि हामी दसैंअगाडि लिग सुरु गर्न असमर्थ भयौं । त्यसपछि कात्तिक २९ बाट गर्ने भन्यौं । पछि फ्लडलाइटमा खेलाउने र यसरी खेलाउँदा मंसिर महिनादेखि सरकारी कार्यालयहरू ४ बजे बिदा हुने व्यवस्थाको पनि फाइदा उठाउँदै बढीभन्दा बढी दर्शक आकर्षित गरौं भन्ने भएर केही दिन सारेको हो ।
– क्लबलाई अतिरिक्त आर्थिक भार पर्ने गरी लिग सार्नुमा टेलिभिजन प्रशारण अधिकार बिक्रीको चलखेलका कारण भन्ने छ त ?
केही दिन प्राविधिक रूपमा मैदान पनि राम्रो नभइसकेको अवस्था थियो । त्यसलाई व्यवस्थित गर्न पनि केही थप दिन लाग्ने भयो । केही प्राविधिक समस्या आएर हो । अरू होइन ।
– भनेपछि एन्फाको गृहकार्यमै गम्भीर समस्या देखियो नि ?
त्यस्तो होइन । तर कोभिड महामारीले तयारीका काममा केही समस्या भने पैदा गरेकै हो ।
– लिगलगायतका गतिविधिहरू सबै एन्फाको क्यालेन्डरअनुसार भइरहेको छ भन्नुहुन्छ । अनि सात खेलमै शीर्ष टोलीले लिग च्याम्पियनको हैसियतमा एएफसी कपको छनोट खेल्ने गरी कस्तो तालिका बनाउनुभयो ? एएफसीको तालिका थाहा नभएर हो ?
एएफसीको तालिका पनि कोभिड–१९ का कारण प्रभावित भएको छ । असोज २ मा लिग सुरु गर्न पाएको भए हाम्रो च्याम्पियनले नै एएफसी कपमा सहभागिता जनाउँथ्यो । मिड च्याम्पियनलाई पठाउनु पर्दैनथ्यो । तर हाम्रो लिग उनीहरूको समयमा नसकिने अनि गत वर्षको विजेतालाई पनि एएफसीले नस्वीकार्ने भएपछि यसो गर्नुपरेको हो ।
– लिगमा दर्शकको उपस्थिति संख्यामै भनिदिनुस् न ?
अझै पनि हामीले सोचेजति त दर्शक आएका छैनन् । तर, अहिलेसम्म त्रिभुवन आर्मी र एनआरटीको खेलमा ५ हजार दर्शक उपस्थित भए । औसतमा २ हजार दर्शकको उपस्थिति छ । विगतको तुलनामा राम्रो छ । अबका चरणमा रेलिगेसन र उपाधि दुवैतिरको प्रतिस्पर्धा रोचक हुन्छ । त्यसपछि दर्शकको उपस्थिति पनि बढ्दै जान्छ । विगतको अनुभव पनि त्यही हो ।