मंसिर ६, २०८१ बिहीबार | १५:४५:४९
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग
शनिबारको दिन सहिद स्मारक लिग

नेपाली रेफ्रीका ‘राजा’ ज्ञानीराजा

राष्ट्रिय फुटबल टोलीबाट प्रतिनिधित्व गर्दा उनी अन्य स्टार खेलाडीहरूको छायाँमा परे । नेपाली समर्थकमाझ त्यतिबेलाका सहयात्री गणेश थापा, मणि शाह र राजुकाजी शाक्यको जस्तो उनको चर्चा भएन । जब व्यावसायिक खेलाडी जीवनबाट फरक भूमिका अर्थात रेफ्री भएर मैदान उत्रिए उनी सधैं चर्चाको शिखरमा रहिरहे । ती पात्र हुन् पूर्वफिफा रेफ्री ज्ञानीराजा श्रेष्ठ ।

१७ वर्ष फिफा रेफ्रीको भूमिकामा रहँदा सायदै त्यस्ता प्रतियोगिता र फाइनल होला जहाँ ज्ञानीराजा रेफ्रीको भूमिकामा देखिएनन् । प्रतियोगितामा सहभागी टोलीको टुंगो नलाग्दै फाइनल खेलाउने रेफ्री प्यानलको निधो भइसक्थ्यो । जसको नेतृत्व उनैले गर्दथे ।

ज्ञानीराजाको रेफ्री जीवनको सुरुआत पनि गजबसँग भएको छ । आर्मीका जागिरे उनी विभागीय क्लबबाट लिगमा कहिल्यै देखिएका थिएनन्, तर अन्य घरेलु प्रतियोगितामा भने निरन्तर सहभागी भइरहेका थिए । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सहिद स्मारक ‘ए’ डिभिजन लिग चलिरहेको थियो । एक दिन उनलाई तत्कालीन फिफा रेफ्री रूपकराज शर्माले रंगशालामा आउनुपर्यो‍ भनेर बोलाए । तर रंगशालामा बोलाइनुका कारणबारे ज्ञानीराजा बेखबर थिए । रंगशाला पुगेपछि मात्र उनले थाहा पाए । उनलाई त रूपकराजले रेफ्री बनेर लिग सञ्चालन गर्न पो बोलाएका रहेछन् ।  

थाई एयरवेजको विमान दुर्घटनामा परेर रेफ्री श्याम श्रेष्ठको निधन भएपछि रूपकराजले ज्ञानीराजालाई रेफ्री बन्न प्रस्ताव गरेका थिए । ‘राष्ट्रिय टोलीबाट खेलिसकेको थिएँ, फुटबल नियमबारे जानकार थिएँ तर कहिल्यै म रेफ्रीको भूमिकामा देखिएको थिइनँ,’ रेफ्री जीवनको सुरुआती क्षण सम्झँदै ज्ञानीराजा भन्छन्, ‘पहिलो खेलमा लाइन्सम्यानको भूमिकामा रहें । दोस्रो खेलमै म मुख्य रेफ्री भएँ ।’ 

उनले लिगमा रानीपोखरी कर्नर टिम (आरसिटी) र फ्रेन्ड्स क्लब ‘बी’ को खेल खेलाउनुपर्ने भयो । त्यो बेला अहिलेजस्तो रंगशाला व्यवस्थित थिएन । स्थानीय समर्थकको बाक्लो उपस्थिति हुन्थ्यो । 

खेलको नतिजा आफ्नो पक्षमा आए रेफ्रीको चर्चा हुने गर्थ्यो, विपक्षमा आए रेफ्रीमाथि नै हूल बाँधेर जाइलाग्ने बेला थियो त्यो ।

ज्ञानीराजाको हकमा पनि त्यही भइदियो । लिगकै दुई उत्कृष्ट टोलीबीचको भिडन्त । रेफ्री नयाँ । जसोतसो निर्धारित ९० मिनेट सकिने संघारमा थियो । खेल गोलरहित बराबरीमा जारी थियो । एक मिनेट कटाउन पाए रेफ्री जीवनको पहिलो खेल सहजै कट्ने थियो । त्यो पनि विवादरहित भएर । ज्ञानीराजा यस्तै सोच्दै थिए । 

ज्ञानीराजा सम्झन्छन्, ‘आरसिटीका कुनै खेलाडीले प्रहार गरेको बल फ्रेन्ड्सको पेनाल्टी बक्समा थियो । त्यतिबेलै समर्थकको भीडबाट सिठी बज्यो । फ्रेन्ड्सका रक्षकले खेल सकिएको ह्विसेल बज्यो भन्दै बल हातले समाए । मैले पेनाल्टीको इशारा गरें । त्यसपछि फ्रेन्ड्सका खेलाडीहरूले मलाई मैदानमै धकेल्न थाले । जबकि मैले त खेल सकिएको ह्विसेल बजाएको थिइनँ । म आफ्नो निर्णयबाट पछि हट्ने कुरै भएन । बल्लतल्ल ५-७ मिनेट घटनाबारे सम्झाएपछि फ्रेन्ड्सका खेलाडी मेरो पेनाल्टी दिने निर्णयप्रति सहमत भए । पेनाल्टीको सदुपयोग गर्दैै आरसिटीले खेल १-० ले जित्यो ।'

खेलपछिको दृश्य झन् रोचक रहेको ज्ञानीराजा स्मरण गर्छन्, ‘खेलपछि जब म रंगशालाबाट घर जाने तयारीमा थिएँ, फ्रेन्ड्सका समर्थकबाट घेरिएँ । उनीहरूले ममाथि हातपातको प्रयास गरे । धन्न ! प्रहरी समयमै आइपुग्यो र म सुरक्षित भएँ ।’

त्यही खेलले ज्ञानीराजाको रेफ्री करिअर नै उथलपुथल भयो । त्यो खेलमा उनले लिएको निर्णयका कारण फिफा ब्याचको हकदार भए । लिगको एक खेल खेलाउँदै फिफा रेफ्री ब्याच प्राप्त गर्ने उनी भाग्यमानी रेफ्री बने । दशरथ रंगशालामा उक्त खेल हेरेका एएफसीका प्रतिनिधि ज्ञानीराजाले खेलका क्रममा गरेको ‘बोल्ड निर्णय’ बाट प्रभावित भएर उनलाई फिफा ब्याच दिन तयार भएका थिए ।

सुरुदेखि नै रहेको निर्णय क्षमताप्रतिको खरो र आक्रामक प्रस्तुतिले ज्ञानीराजाको रेफ्री जीवनलाई स्वर्णिम बनाएको छ । 

प्रत्येक खेलमा एउटा टोलीले खेल जित्छ अर्कोले हार्छ वा खेल बराबरीमा रोकिँदा दुवै टोलीले अंक बाँड्छन् । तर रेफ्रीलाई खेल बराबरी गर्ने वा हार्ने छुट छैन ।

सन् १९९२ मा रेफ्री जीवन सुरु गरेका ज्ञानीराजा १७ वर्ष फिफा रेफ्रीको भूमिकामा रहे । रेफ्रीको कुनै निर्णयमा विवाद आएमा आफै स्वयं उपस्थित हुन्थे र खेलको नियमअनुसार निर्णय लिएको हो, यो कुनै व्यक्तिगत निर्णय होइन ‘ल को निर्णय हो ल’ भनेर प्रस्टीकरण दिन्थे ।

ज्ञानीराजाको धारणा छ, ‘तत्कालीन लिगमा ९१ खेलको समाप्तिपछि धेरै अंक बटुल्ने एक टोलीले उपाधि जित्थ्यो । प्रत्येक खेलमा एउटा टोलीले खेल जित्छ अर्कोले हार्छ वा खेल बराबरीमा रोकिँदा दुवै टोलीले अंक बाँड्छन् । तर रेफ्रीलाई खेल बराबरी गर्ने वा हार्ने छुट छैन । रेफ्रीले ९१ वटै खेल जित्नुपर्छ ।’

विवादरहित खेल भएमात्र रेफ्री उक्त खेलको विजेता बन्ने उनको मान्यता छ । २०६२-६३ को लिगको ९१ खेलमध्ये ६७ खेलमा उनले खेलाएका छन् । त्यसैमध्ये एउटा प्रसंग स्मरणीय छ । 

नेपाली समर्थकमाझ खेलाडी वसन्त थापा निकै चर्चित नाम थियो । उनी त्यो सिजन जापानबाट लिग खेल्न आएका थिए । मनाङ मर्स्याङ्दी क्लबका स्ट्राइकर वसन्तको उक्त लिगमा त्यो पहिलो खेल थियो । विपक्षी टोलीका खेलाडीले उनलाई बक्सबाहिर लडाइदिए । ज्ञानीराजाले मनाङलाई फ्रिकिक दिए । निकै राम्रो स्थानबाट मनाङले फ्रिकिक पाएको थियो । 

यताउता हेरें, वसन्त त छैन । उसलाई त बाहिर पठाइसकेको रहेछ । खेलाडी चेन्ज गर्ने रणनीतिमा टिम रहेछ । फोर्थ अफिसियललाई सोधें, थाहा छैन । रातो कार्ड दिन्छ भनेर वसन्तलाई लुकाइएछ ।

ज्ञानीराजाले स्मरण गरे, ‘वसन्त मसँग विवाद गर्न आए । उनले पटक-पटक विपक्षी खेलाडीलाई पहेँलो कार्ड दिन दबाब दिइरहे । मैले उनको आग्रह अस्वीकार गरिदिएँ । तर वसन्तले ममाथि अपशब्द प्रयोग गरे । मैले उनलाई सिधै रातो कार्ड दिन खोजें । म मनाङका खेलाडीबाट घेरिएँ । यताउता हेरें, वसन्त त छैन । उसलाई त बाहिर पठाइसकेको रहेछ । खेलाडी चेन्ज गर्ने रणनीतिमा टिम रहेछ । फोर्थ अफिसियललाई सोधें, थाहा छैन । रातो कार्ड दिन्छ भनेर वसन्तलाई लुकाइएछ । उसलाई कार्ड नदेखाई गेम नै नचल्ने भनेर अडान लिएँ । प्लेयर बक्समै गएर १० नम्बर खेलाडी रातो कार्ड भनेर देखाएपछि मात्र खेल सुचारु गरें ।'

खेलपछि पत्रकार सम्मेलनमा नियोजित रूपमा वसन्तलाई रातो कार्ड देखाएको आरोप आफूमाथि लगाइएको ज्ञानीराजा स्मरण गर्छन् । वसन्त इमान्दार खेलाडी हुन्, तर उनी नियमविपरीत गएकाले मात्र  रातो कार्ड देखाउनुपरेको ज्ञानीराजाको तर्क छ । यस्ता घटना बिरलै हुने उनी सुनाउँछन् ।

नियमभित्र रहेर मैदानमा कठोर रूपमा हुने प्रस्तुति नै ज्ञानीराजाको विशेषता हो । त्यही निर्णय क्षमता र अडानले उनलाई अब्बल रेफ्रीको दर्जामा उभ्यायो । उनी भन्छन्, ‘म खेलको नियम बाहिर जान्न थिएँ, मैदान छिरेपछि म कुनै पनि खेलाडी चिन्दिनँ थिएँ । त्यहाँ खेलको नियमभित्र बसेर निर्णय लिन्थें र त्यसमा कुनै प्रकारको सम्झौता गर्दिनँ थिएँ ।’

सन् २००९ मा बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलपछि ज्ञानीराजले रेफ्री जीवनबाट बिदाइ लिएका थिए ।

अहिले सहिद स्मारक ‘ए’ डिभिजन लिग जारी छ । दुई चरणका खेल समाप्तिमै रेफ्रीका कारण खेल गुमाएको भन्दै प्रशिक्षकहरूबाट गुनासो आउन थालिसकेको छ । यसै क्रममा रेफ्री विवाद पनि चरमोत्कर्षमा पुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिटनेस टेस्ट गर्न दबाब दिएपछि आधाभन्दा बढी रेफ्रीले राजीनामा दिएर सहमतिपछि फिर्ता पनि लिइसकेका छन् ।  

वैशाखमा सम्पन्न नेपाल सुपर लिग (एनएनएल) का क्रममा पनि प्रत्येक खेलमा जसो रेफ्रीका निर्णयप्रति गुनासाहरू नआएका होइनन् । 

लिग पूर्ण रूपमा व्यावसायिक भइसक्यो । रेफ्रीलाई पनि व्यावसायिक बनाउनुपर्छ भन्ने मान्यता राख्छन्, पूर्व फिफारेफ्री ज्ञानीराजा । सबैभन्दा ठूलो समस्या भनेको आजको भोलि नै खेल खेलाउनु पर्दाको स्थितिमा हो । रेफ्री संख्या थोरै छ । पुरुषतर्फ फिफाका चार रेफ्री र ६ सहायक रेफ्री छन् । राष्ट्रिय रेफ्रीको संख्या पनि सीमित छ । यसले रेफ्रीलाई व्यावसायिक बनाउन समस्या उत्पन्न गराइरहेको ठान्छन् ज्ञानीराजा ।

उनले भने, ‘रेफ्री संख्या पर्याप्त भएन र उनीहरूले पर्याप्त आराम पनि पाएनन् । रेफ्रीको मूल्यांकन गरिदिने नै कोही भएनन् । नामको मात्र रेफ्री एसेसर भइदिए । कसैको पनि गल्ती यस्तो छ भनेर भनिदिए पो उसले अर्को खेलबाट सुधार गर्छ । फटाफट लिग गरेर फटाफट सिध्याउँ भन्ने जस्तो देखियो । क्लबहरूले करोडौ खर्च गरेका छन् । रेफ्रीको एउटा सानो गल्तीले क्लबको लगानी नै डुब्छ ।’

ज्ञानीराजाले आफ्नो दायित्वप्रति सचेत रहन रेफ्रीलाई सुझाएका छन् । भन्छन्, ‘हामीले खेलको नियमसँग कुनै सम्झौता नगरौं, त्यसो गरेमा रेफ्रीले सबै खेल जित्छ । रेफ्रीले जित्नु भनेको खेल विवादरहित हुनु हो । यो सबैले मनन गर्न सक्यौं भने रेफ्री पेसा स्वच्छ हुन्छ ।’

उनले आफ्नो लामो रेफ्री अनुभवमा क्लबका प्रशिक्षकहरूमा पनि खेलका नियमबारे बुझाइ र सिकाइमा कमी भएको पाएका छन् । उनी भन्छन्, ‘एक त रेफ्री मैदानमा आत्मविश्वाससाथ प्रस्तुत हुँदैनन् । एकै प्रकारका गल्तीमा फरक-फरक निर्णय लिन्छन् । अनि प्रशिक्षकहरूको स्वभाव के भइदियो भने आफ्नो टोलीले जित्यो भने रेफ्री ठीक, विपक्षमा निर्णय आयो भने रेफ्री खराब । रेफ्रीले खेल नियममा बसेर निर्णय लिन्छ, त्यो निर्णय त स्वीकार गर्नुपर्यो‍ नि । त्यसैले म त प्रशिक्षकको बुझाइमै कमी देख्छु ।’

लिगमा उपाधि दाबेदार टोली र विभागीय टोलीको खेल खेलाउँदा सधैं दबाब हुने ज्ञानीराजाको अनुभव छ । लिगमा हरेक अंकको महत्व हुने भएकाले ठूला टिमका खेलमा त्यत्तिकै दबाब हुने उनी सुनाउँछन् । 

भन्छन्, ‘शीर्ष टोलीबीचको खेल खेलाउन रेफ्री नै मुस्किलले राजी हुन्छन् । कारण खेलपछि रेफ्रीको चिन्ता कसले लिन्छ । रेफ्रीको सुरक्षाको ग्यारेन्टी हुनुपर्यो‍ । मैदानमा खेलाडीलाई रातो वा पहेँलो कार्डको दर्शन गराएपछि खेलाडी नै त्यो निर्णय नमानेर रेफ्री कुट्ने हुन्छन् । पदाधिकारीहरु जाइलाग्छन् । । त्यो स्थितिमा सुरक्षा ग्यारेन्टी भएन भने रेफ्रीले ठूला गेम खेलाउन सक्दैनन् ।’

कुनै बेला एक खेल खेलाएवापत रेफ्रीले ७२ रुपैयाँ प्राप्त गर्थे । त्यो बेला पनि ज्ञानीराजाले खेलाए । त्यतिबेला फिफा रेफ्रीले प्रतिखेल ५ सय प्राप्त गर्दथे । उनले आफूलाई पनि ५ सय दिनुपर्ने माग राखें । तर उनले फिफा ब्याच पाएका थिएनन् । फिफा ब्याच पाएपछि मात्र ५ सय रुपैयाँ पाउन थालेको उनले स्मरण गरे । 

उनी आफ्नो पालामा भन्दा अहिले रेफ्रीले प्राप्त गर्ने रकममा धेरै सुधार आइसकेको ठान्छन् । अहिले एउटा खेल खेलाएका मुख्य रेफ्रीले ६ हजार र सहायक रेफ्रीले ३५ सय रुपैयाँसम्म प्राप्त गर्ने गरेको आफूले सुनेको बताए । तर एन्फाले गरेको लगानीअनुसार प्रतिफल प्राप्त नभए जस्तो लाग्छ उनलाई ।

रेफ्रीले गरेको गल्तीमा संघ बोल्ने होइन, त्यसको जवाफदेहिता रेफ्री एसेसरले लिनुपर्ने उनको तर्क छ । अहिले नेपाली रेफ्रीको आलोचना भयो भन्ने खबरले भने उनी दुखी छन् । भन्छन्, ‘म अहिले जहाँ पनि नेपाली रेफ्रीको आलोचना भएको सुन्छु, त्यसमा मलाई दुःख लाग्छ । म नेपाली रेफ्री भएर नै विश्वकप खेलाउनेसम्मका रेफ्रीलाई सिकाउने अवसर पाएँ । त्यो मेरा लागि गर्वको क्षण हो । तर, त्यही देशमा रेफ्रीको निर्णयप्रति आचोलना सुन्नुपर्दा अलि नमज्जा लाग्छ ।’