कार्तिक २३, २०८१ शुक्रबार | १५:५९:१४
दोस्रो एकदिवसीयमा पाकिस्तान विजयी टिआइए कप बास्केटबल अर्को सातादेखि हुने लाजियोको लगातार चौथो जित आयाक्सको अपराजित यात्रा जारी पोखराको जर्सी सार्वजनिक चेल्सीको आठ गोल युरोपा लिगमा युनाइटेडको पहिलो जित एमबाप्पे फ्रेन्च टोली बाहिर स्वर्ण विजेता सुनमाया नेपाल फर्किइन् रिचार्लिसनले गालातासारेविरुद्धको खेल गुमाउने दोस्रो एकदिवसीयमा पाकिस्तान विजयी टिआइए कप बास्केटबल अर्को सातादेखि हुने लाजियोको लगातार चौथो जित आयाक्सको अपराजित यात्रा जारी पोखराको जर्सी सार्वजनिक चेल्सीको आठ गोल युरोपा लिगमा युनाइटेडको पहिलो जित एमबाप्पे फ्रेन्च टोली बाहिर स्वर्ण विजेता सुनमाया नेपाल फर्किइन् रिचार्लिसनले गालातासारेविरुद्धको खेल गुमाउने
शनिबारको दिन जुमानु राई

जोसिला जुमानुको गुमनाम बिदाइ

काठमाडौं । राष्ट्रिय फुटबल टोली र विभागीय क्लब नेपाल पुलिस क्लबबाट नेपाली फुटबलमा २०७३ सालसम्म विशेष प्रभाव जमाएका एक स्ट्राइकर एकाएक गुमनाम भए । न राष्ट्रिय टोलीमा कौशल देख्न पाइयो न त पुलिस क्लबमा नै उनको प्रभाव देखियो ।

उनी थिए राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर जुमानु राई । गत साता उनी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा झुल्किए, त्यो पनि संन्यास घोषणा गर्न मात्र । अब कहिल्यै खेलाडीका रूपमा मैदान फर्किन्न भन्ने सन्देश दिन ।

झापा एफसी हुँदै ‘ए’ डिभिजन क्लब ब्वाइज युनियनमा ट्रायलका लागि आएका जुमानु पहिलोपल्ट ट्रायलमा असफल भएसँगै सर्लाही फर्किएका थिए । २०५९ सालमा नेपाल पुलिस क्लबमा प्रवेश गरेका जुमानुले त्यतिबेला हरि खड्का, रमेश बुढाथोकी, देवनारायण चौधरी र अनन्त थापाजस्ता चर्चित खेलाडी रहेको टोलीमा स्थान बनाउँछु भनेर सायदै सोचेका थिए होलान् ।

तर, यु-२३ टोली हुँदै २०६० सालमा सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउन यी साँढे जस्ता फरवार्डलाई कसैले रोक्न सकेन । जुमानुले बंगलादेशमा ब्रुनाइविरुद्धको मैत्रीपूर्ण खेलसँगै राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए ।

नेपाली राष्ट्रिय फुटबल टोलीबाट एक दशकमा ५२ खेल खेलेका जुमानुको नाममा ११ अन्तर्राष्ट्रिय गोल छ । सेन्ट्रल फरवार्ड भए पनि साइडबाट बल पेनिट्रेट गर्न रुचाउने जुमानुको तीव्र गति र पावरले धेरै वर्ष नेपाली फुटबलप्रेमीलाई मन्त्रमुग्ध बनायो । तर, सन् २०१५ मा भारतविरुद्ध पुनेमा सम्पन्न मैत्रीपूर्ण खेलपछि उनी राष्ट्रिय टोलीमा देखिन छोडे ।

‘म आज जे छु फुटबलमा लागेकै कारण छु । आजसम्म पाएको उपलब्धि र सफलताबाट खुसी छु । मलाई फुटबलले नै विशेष चिनारी दियो । फुटबल खेलाडी बन्ने सपना बोकेर नेपाल पुलिसमा भर्ती भएको थिएँ,’ फुटबल मैदानबाट बिदाइ हुँदै गर्दा जुमानुले सम्झिए, ‘त्यही क्लबमा गरेको मिहिनेतले राष्ट्रिय टोलीमा नियमित १० वर्ष खेल्न पाएँ । पुलिस क्लबमा म आउँदा हरि दाइ, देव दाइ, रमेश दाइ र अनन्त दाइ हुनुहुन्थ्यो । टोलीमा पर्न नै कडा प्रतिस्पर्धा गर्नुपथ्र्यो । तर म आफ्नो क्षमता प्रमाणित गर्न सफल भएँ ।’

२०७२ सालदेखि राष्ट्रिय टोलीमा पर्न छोडे पनि जुमानु आफ्नो योगदानको कदर नेपाली फुटबलको सर्वोच्च निकायबाट होला भनेर प्रतीक्षा बसे । उनलाई आशा थियो, ‘दशरथ रंगशालाको घरेलु भूमिमा भरिभराउ दर्शकमाझ नेपालको जर्सी लगाएर खेल्दै खेलजीवनको अन्त्य गर्न पाउँछु ।’

यही रंगशालामा त हो जुमानुका खेलाडी जीवनका अनेकौ तीतामीठा पलहरू कोरिएको । उनका लागि त यो रंगशाला र नेपालको जर्सीसँग घरपरिवार र अरू सबथोकभन्दा धेरै आत्मीयता र प्रेम थियो ।

‘राष्ट्रिय टोलीमा गरेको योगदानको एन्फाले सम्मान गर्ला । देशकै लागि खेलेर रंगशालाबाटै बिदा हुने मौका देला भन्ने आशा गरेको थिएँ,’ जुमानु अलि भावुक भए, ‘तर, एन्फाबाट यसमा कुनै चासो दिइएन । त्यसमा मन खिन्न भएको छ । यसभन्दा अघिको नेतृत्वले खेलाडीको बिदाइलाई प्राथमिकतामा राख्ने गर्दथ्यो । तर, अहिले खेलाडीले अपमान सहनुपरेको छ । मैले धेरै कुरें तर बिदाइको उचित अवसर पाइनँ । त्यसैले लिगअन्तर्गत च्यासल रंगशालामा सातदोबाटो युथ क्लबविरुद्धको खेलसँगै सक्रिय खेलजीवनमा पूर्णविराम लगाउने निर्णय लिएँ । मेरा लागि यी सबै पलहरू यादगार रहने छन् ।’

सक्रिय खेलजीवनबाट बिदा लिए पनि जुमानु फुटबलबाट भने कहिल्यै अलग हुने छैनन् । पूरा जीवन नै यही खेलमा बिताएका उनी यसबाट अलग्गिन सक्छन् कसरी ?

‘मैले जीवन नै यसमा बिताएको छु । नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगमा प्राप्त गरेको गर्विलो सफलताको म पनि एक हिस्सेदार हुँ । त्यसैले अहिलेसम्म खेलाडीको रूपमा जे जति योगदान गरें अब प्रशिक्षक भएर क्लबले मलाई लगाएको गुन तिर्न चाहन्छु,’ प्रशिक्षकका लागि सी लाइसेन्स कोर्स गरेका जुमानु भन्छन्, ‘नेपाल पुलिस क्लब पछिल्लो केही सिजनयता स्वाभाविक लयमा छैन । यस सिजन पनि पहिलो चरणमा हामी खराब लयमा थियौं । अन्ततः तेस्रो स्थानमा बस्दै सिजन अन्त्य गर्न सफल भयौं । अब म क्लबको गुमेको उपाधि दाबेदार छवि फर्काउनेमा लाग्नेछु ।’