आश्विन ३, २०८१ बिहीबार | २१:४४:४६
शुभाङ्ग, शौमिल, प्रसित र प्रवीर च्याम्पियन रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा दशरथ रंगशाला स्तरोन्नतीको कार्ययोजना पेश गर्न एन्फाको आलटाल नेपाल च्याम्पियन शुभाङ्ग, शौमिल, प्रसित र प्रवीर च्याम्पियन रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा दशरथ रंगशाला स्तरोन्नतीको कार्ययोजना पेश गर्न एन्फाको आलटाल नेपाल च्याम्पियन
शनिबारको दिन वर्ष २०७९

महिला फुटबलः घरेलु उदेकलाग्दो, अन्तर्राष्ट्रिय लोभलाग्दो

काठमाडौं । भियतनामजस्तो विश्वकप खेल्दै गरेको टोलीसँग सकारात्मक प्रदर्शन दिएर नेपाली राष्ट्रिय महिला टोलीले वर्ष २०७९ को अन्त्य गरेको छ ।

एसियाली वुमेन्स ओलम्पिक छनोटअन्तर्गत दुई लेगमा जसरी नेपालले उत्साहजनक प्रदर्शन गरेको छ, त्यसले महिला फुटबलको भविष्य उज्ज्वल रहेको संकेत देखाएको छ । यसले वर्ष २०८० को सुरुआत राम्रो होला भन्ने मान्न सकिन्छ ।

फिफा वरीयतामा ३३औं स्थानमा रहेको भियनतामविरुद्ध शनिबार (चैत २५) दोस्रो लेगमा नेपाली टोली २-० को साँघुरो अन्तरले पराजित भयो । पहिलो लेगमा उत्कृष्ट प्रदर्शनको बावजुद नेपालले ५-१ ले नतिजा सुम्पेको थियो । नेपालबाट सावित्रा भण्डारीले एक गोल गरिन् । उनका लागि यो राष्ट्रिय टोलीबाट ४१ औं गोल थियो ।

पहिलो खेलको तुलनामा सुधारिएको प्रदर्शन गरेको नेपाली टोली फिनिसिङ र रक्षापंक्तिमा चुक्दा दोस्रो लेगमा पनि पराजय स्वीकार्नुपरेको थियो । अन्यथा प्राप्त अवसर सदुपयोग गर्न सकेको भए नेपाली महिला टोलीले नयाँ इतिहास कोर्ने थियो ।

वर्षको अन्त्य सानदार प्रदर्शनको साथ भए पनि समग्रमा भने बितेको वर्ष नेपाली महिला फुटबलको उपलब्धि औसत रह्यो । नेपाली टोलीको अन्तर्राष्ट्रिय सहभागिता भने उत्साहजनक थियो । महिला (सिनियर/जुनियर) फुटबलमा पनि पुरुषको जस्तै अन्तर्राष्ट्रिय सहभागिता बाक्लै रह्यो । तर, घरेलु लिग भने महिला फुटबलका लागि निराशाजनक बन्न पुग्यो ।

नेपाली राष्ट्रिय महिला टोलीका पूर्वप्रशिक्षक हरि खड्का समग्रमा महिला फुटबल राम्रो भएको बताउँछन् । उनी महिला फुटबलमा लगानीअनुसार प्रतिफल आएको मान्छन् । ‘समग्रमा महिलामा सिनियर र जुनियर सबै टोलीले राम्रो प्रदर्शन गरेको छ । सिनियरमा सदाझै यसपटक पनि साफ च्याम्पियन जित्न सकेनौं । ओलम्पिक छनोटमा टोलीअनुसार प्रदर्शन राम्रो गर्न सक्यौं । पहिलो खेलमा अलि राम्रो भएन । महिलामा पर्याप्त लगानी छैन । लगानीअनुसार यत्तिको नतिजा आउनु राम्रो हो । जुनियरतर्फ पनि राम्रो भएको छ,’ एन्फाका कार्यकारी प्राविधिक निर्देशक खड्काको तर्क छ ।

एन्फाको नेतृत्व परिवर्तन भएपछि महिला खेलाडीले घरेलु लिग खेल्न पाएनन् । बल्लतल्ल हप्ते लिगबाट महिने लिगमा सरेको फुटबलको मेरुदण्ड मानिने लिग नै हुन सकेन । एन्फाले अघिल्लो सिजन एक महिनाको राष्ट्रिय महिला लिग आयोजना गरेको थियो । तर, कर्माछिरिङ शेर्पाको अघिल्लो कार्यकालले चैतमै पहिलो चरण समाप्त गर्दा वैशाखमा हुने तय भएको दोस्रो चरण आयोजना नै भएन ।  

शेर्पालाई हराउँदै एन्फाको नेतृत्वमा पुगेका पंकजविक्रम नेम्वाङको कार्यसमितिले त्यो लिगलाई निरन्तरता दिनुपर्ने जरुरी ठानेन । फागुन १७ मा बसेको एन्फा कार्यसमिति बैठकले आधा भएको लिगलाई त्यतिमै अन्त्य गर्ने अप्रिय निर्णय लिएको थियो । शीर्षस्थानमा रहेको विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई विजेता, नेपाल पुलिस क्लबलाई दोस्रो र त्रिभुवन आर्मी क्लबलाई तेस्रो भएको घोषणा गर्यो । तर, नयाँ अर्को लिग हुने टुंगो लागेको छैन ।

बितेको वर्षमा अन्तर्राष्ट्रिय फुटबलमा नेपाली महिला सिनियर टोलीले दुई प्रतियोगिता र दुई मैत्रीपूर्ण खेल खेल्यो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप, भारतसँग दुई मैत्रीपूर्ण खेल र फ्रान्समा आयोजना हुने महिला पेरिस ओलम्पिक २०२४ को एसियाली छनोट खेल्यो । यसबीचमा महिला टोलीले दुई मुख्य प्रशिक्षक पायो । कुमार थापाले साफ च्याम्पियनसिपमा टोलीको नेतृत्व लिए ।

नियमित कप्तान रेनुका नगरकोटे घाइते भएपछि गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले नेपाली टोलीको कप्तानी ‘आर्मब्यान्ड’ लगाइन् । सधैंझै यसपटक फेरि नेपाली टोली साफको फाइनलमा पुगेर चुक्यो । फाइनलमा नयाँ प्रतिद्वन्द्वी बंगलादेश हुँदा घरेलु मैदानमा उपाधि जित्ने आस गरिएको थियो । तर, दशरथ रंगशालामा नेपाल बंगलादेशसँग ३-१ ले स्तब्ध भयो । बंगलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको ट्रफी उचाल्यो । साफ भदौ २१ देखि असोज ३ सम्म आयोजना भएको थियो ।

सधैं फाइनलमा पराजित हुँदै आएको भारतलाई भने यसपालि नेपालले सेमिफाइनलबाट अगाडि बढ्न दिएन । रश्मिकुमारी घिसिङको एकमात्र गोलमा नेपालले भारतलाई १-० ले हराएको थियो । यसअघि समूह ‘बी’मा नेपालले भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले पराजित गर्दै सेमिफाइलनमा स्थान बनाएको थियो । डेंगी संक्रमण पुष्टि भएपछि भुटानविरुद्ध दुई गोल गरेकी सावित्रा भण्डारी फाइनलमा मात्रै उपलब्ध भइन् । डेंगीकै कारण मिडफिल्डर मञ्जलीकुमारी योञ्जनले साफ च्याम्पियनसिप गुमाउनुपरेको थियो ।

साफ च्याम्पियनसिप सम्पन्न भएलगत्तै रक्षक पुनम जर्घामगरसहित मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिए । प्रशिक्षक कुमार थापाले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका दीपा शाही, अमिषा कार्की, समिक्षा घिमिरे र निशा थोकरलाई राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गराए । उपाधि जिताउन असफल भएपछि थापाले पदमा रहन ‘उचित’ नभएको भन्दै प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

फागुन ३ र ६ गते नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्यो । एन्फाले पूर्व खेलाडी अनन्तराज थापालाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । नेपालले पहिलो खेलमा भारतसँग २-२ गोलको बराबरी खेल्यो । ५४औं मिनेटमा सौम्या गुगुलोथ र ६८औं मिनेटमा इन्दु मथिका थिरेसानको गोलमा भारत २-० ले जिततर्फ अग्रसर भएको थियो ।

खेलको ९० र इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै सावित्रा भण्डारीले नेपालको सम्भावित हार टारेकी थिइन् । पहिलो खेलमा घाइते भएकी रक्षक गीता राना चार महिना मैदान बाहिर भइन् । दोस्रो खेलमा नेपालले आक्रामक बनेको भारतलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोक्यो । कप्तान एन्जिला तुम्बापो सुब्बाले उत्कृष्ट प्रदर्शन गर्दै भारतका एक दर्जनभन्दा बढी प्रहार रोकेकी थिइन् ।

गीतासहित पुनमको अनुपस्थितिमा प्रशिक्षक अनन्तले भियतनामविरुद्ध युवा खेलाडीलाई रक्षापंक्तिको जिम्मेवारी दिए । नेपाल दुवै खेलमा पराजित हुँदै दोस्रो चरणमा पुग्न असफल भयो । आगामी जुलाई/अगस्टमा अस्ट्रलिया र न्युजिल्यान्डमा हुने तय भएको विश्वकपमा खेल्दै गरेको भियतनाम दोस्रो चरणमा प्रवेश गर्यो ।

जुनियर महिला टोलीको पनि यो वर्ष अन्तर्राष्ट्रिय सहभागिता सन्तोषजनक थियो । यद्यपि घरेलु फुटबलमा जुनियर महिलाका कुनै प्रतियोगिता नै हुँदैनन् । नेपाल यु-१५ साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भयो । दोहोरो लिग प्रणालीमा भएको प्रतियोगितामा बंगलादेशलाई पछि पादैै नेपाल च्याम्पियन भएको थियो ।

यसैगरी फाइनलमा बंगलादेशसँग पराजित हुँदा यु-२० साफ च्याम्पियनसिपमा भने उपविजेतामै चित्त बुझायो । यस्तै, महिला यु-२० टोली प्यालेस्टाइन र नर्दन मारियाना आइल्यान्डलाई ६-० को समान अन्तरमा हराउँदै एएफसी एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । यु-१७ मा भने नेपालको सहभागितामात्रै रह्यो ।

पुरुष फुटबलमा सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान राखेका पूर्वप्रशिक्षक हरि खड्का आगामी वर्ष महिला फुटबललाई प्राथमिकतामा राख्न सके राम्रो नतिजा आउने बताउँछन् । उनी महिला लिग निरन्तर हुनुपर्ने सुनाउँछन् ।

‘महिला लिग निरन्तर हुन सकेन । भएको भए त्यसले अझै सफलता बढाउने थियो । अब खाका कोरेर महिला लिग अगाडि बढाउनुपर्छ । लगानीअनुसार नै फल आउने त हो,’ खड्का भन्छन् ।

भियतनामसँग पहिलो लेग खेलेपछि सावित्रा भण्डारीले चरम निराशा व्यक्त गर्दै महिला फुटबलको भविष्य चिन्ताजनक रहेको बताएकी थिइन् । कुनै संरचना र बिना लगानी पनि महिला फुटबलले राम्रो नतिजा दिइरहेको र त्यसको एउटै कारण भनेको खेलाडीको लगाव भएको बताउँदै उनले पर्याप्त लगानी भए उच्च सफलता प्राप्त गर्नेमा नेपाली खेलाडी पनि कम नभएको दाबी गरेकी थिइन् ।