आश्विन २३, २०८१ बुधबार | १८:५४:२१
दीपक बिष्ट स्विट्जरल्यान्ड जाने एलिसन कम्तिमा पनि ६ साता मैदान बाहिर रहने क्लोप रेडबुलको फुटबल ग्लोबल हेडमा नियुक्त वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक पहिलो साता रुट बने इङ्ल्यान्डका लागि टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी विलियमसनले भारतविरुद्धको पहिलो टेस्ट गुमाउने प्रगतिकला च्याम्पियन चौथो अभ्यास खेलमा नेपाल विजयी अस्ट्रेलियाको विजयी यात्रा जारी रियाल मड्रिडविरुद्ध चेल्सीको रोमाञ्चक जित दीपक बिष्ट स्विट्जरल्यान्ड जाने एलिसन कम्तिमा पनि ६ साता मैदान बाहिर रहने क्लोप रेडबुलको फुटबल ग्लोबल हेडमा नियुक्त वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक पहिलो साता रुट बने इङ्ल्यान्डका लागि टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी विलियमसनले भारतविरुद्धको पहिलो टेस्ट गुमाउने प्रगतिकला च्याम्पियन चौथो अभ्यास खेलमा नेपाल विजयी अस्ट्रेलियाको विजयी यात्रा जारी रियाल मड्रिडविरुद्ध चेल्सीको रोमाञ्चक जित
शनिबारको दिन

विश्व फ्रेन्चाइज लिगको गोरेटोमा इपिएल

चुनौती, चर्चा र रोमाञ्चबीच एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण आज शनिबार सकिँदै छ । चितवन टाइगर्स र पोखरा राइनोजबीचको फाइनल प्रतिस्पर्धाबाट इपिएलले नयाँ विजेता पाउने पक्का छ । यी दुवै पहिलो पटक फाइनल पुगेका टोली हुन् । 

लामो समयको प्रतीक्षापछि नै यो संस्करण सकिने छ । फाइनलमा एउटा हारे पनि समग्रमा भने आयोजकले भनेजस्तै नेपाली क्रिकेटले जित्नेछ । किनकि यो संस्करणका लागि आयोजकले बेहोर्नुपरेको कष्टको सीमा नै छैन । 

कोभिड १९ महामारीका कारण नै आयोजकले पटक पटक प्रतियोगिता सार्नु परिरह्यो । समयमा नै हुन्थ्यो भने सन् २०१९ मा नै सकिन्थ्यो होला । त्यसैले गर्दा क्रिस गेल जस्ता लेजेन्डलाई पनि इपिएलले छुटाउनुपर्‍यो । नत्र, गेलका चौका र छक्का कीर्तिपुरको मैदानमा बर्सिएको हेर्न पाइन्थ्यो ।

यही समयमा इन्डियन प्रिमियर लिग भएका कारण उनी सहभागी हुन पाएनन् । तथापि यसपालि पाकिस्तानी पूर्वस्टार साहिद अफ्रिदी, बंगलादेशका कप्तान तमिम इकवालसहित धम्मिका प्रसाद, उपुल थारंगा र मोहम्मद साहजादलगायत टेस्ट क्रिकेटरको सहभागिताले भने नयाँ आशाको किरण जगाएको छ । 

यसबीच आयोजक एभरेस्ट प्रिमियर लिग प्रालिले प्रतियोगिताका क्रममा धेरै घाटा पनि बेहोर्नुपर्‍यो । नेपाल एसोसिएट राष्ट्रमध्ये सबैभन्दा धेरै फ्यान फलोइङ भएको देश हो । यहाँ ठूलो प्रतियोगिता र विश्वस्तरीय खेलाडीको उपस्थिति हुनेबित्तिकै ठूलो मात्रामा समर्थक जम्मा हुने गर्दछन् । विश्वकै जुनै कुनामा आयोजना हुँदा पनि तुलनात्मक रूपमा नेपाली समर्थकको बाक्लै उपस्थिति रहन्छ । स्वाभाविक रूपमा यस संस्करणमा त्यो दृश्य भने देख्न पाइएन । 

सुरुआतका केही दिन लगातार वर्षा भएका कारण पनि समर्थकमा निराशा छायो । विश्वका ती स्टारहरूले पनि सोचेअनुरूप नेपाली समर्थकको लगाव र मोह देख्न पाएनन् । आयोजकले पनि केही घाटा पक्का बेहोर्‍यो । उद्घाटन खेलमा करिब पाँच हजार दर्शक मैदानमा देखिए पनि त्यसयता भने मुस्किलले ५/६ सय दर्शक मैदान पुगेका छन् । 

आयोजक प्रमुख तथा पूर्व क्रिकेटर आमिर अख्तरकै भनाइ सापटी लिने हो भने समर्थकले इपिएललाई ब्रान्डिङ गरिरहेका छन् । स्वाभाविक रूपमा यसपालि आशातीत समर्थक उपस्थित हुन सकेनन् । त्यो सबै प्राकृतिक प्रतिकूलताका कारण नै थियो । खेलअगाडि आमिरले खेलाडी डटकमसँग भनेका थिए, ‘यस पटक पछिल्ला संस्करणको तुलनामा केही सुधार गर्छौं ।’ आफ्नो वाचाअनुरूप उनले केही हदसम्म राम्रो नै गरेको मान्नुपर्छ । 

इपिएलले सुधारको कुरा गर्ने हो भने टेलिभिजन प्रोडक्सन स्तर र स्तरीय खेलाडीका कारण समग्र प्रतियोगिताको स्तर नयाँ उचाइमा पुर्‍याएको छ । हरेक वर्ष अघिल्लो वर्षभन्दा राम्रो गर्ने प्रयासमा हुन्छौं भन्ने उनको भनाइ थियो, जहाँ उनी सफल पनि भए । 

विश्वस्तरीय खेलाडी सिकन्दर राजा, धम्मिका प्रसाद, तमिम इकवालको प्रदर्शन औसत रह्यो । दुई खेलका लागि आएका अफ्रिदीले पनि वर्षाकै कारण एक खेल मात्र खेल्न पाए । यी पक्षले पनि इपिएलको ब्रान्डिङमा पूर्ण रूपले सफलता पाउन सकेन । 

नाम चलेका विदेशी खेलाडीको तुलनामा नेपाली युवा खेलाडीले पनि राम्रो प्रदर्शन दिएका छन् । सहन अराचिगे, करिम जन्नत, सन्दुन विराकोडी र रहमानउल्लाह गुरबाज जस्ता खेलाडीले भने आफ्नो छाप छोडे ।

नेपाली राष्ट्रिय टोलीका खेलाडी शरद् भेषावकारबाहेक अन्य सदस्यको ब्याट चल्नै सकेन । रोहित पौडेल, कुशल भुर्तेल, करण केसी र विनोद भण्डारीलगायतको ब्याट शान्त नै रह्यो ।

फ्रेन्चाइज टोलीको ब्याटिङ त पूर्ण रूपमा विदेशी खेलाडीकै भरमा रह्यो । तर, राष्ट्रिय टोलीबाहिर रहेकाले भने केही आशा जगाए । बलिङमा युवा खेलाडीको प्रदर्शनले सबैको ध्यान तान्यो । अझ भनौं अनुभवी अन्तर्राष्ट्रिय क्रिकेटरसामु उनीहरूको प्रदर्शन तारिफयोग्य नै रह्यो । सागर ढकाल, प्रतिश जिसी र दुर्गेश गुप्ताको प्रदर्शनले सबैको ध्यान तान्यो । अनुभवी बलर जितेन्द्र मुखियाले लयमा फर्केको संकेत गर्दा अर्का तीव्र गतिका बलर सोमपाल कामीको प्रदर्शन यादगार बन्न सकेन ।

महामारीको अन्योलबीच भएको इपिएललाई नेपाली खेलाडीले पूर्ण रूपमा सदुपयोग गर्न सकेनन् । प्रतियोगिता सुरु हुनुभन्दा केही दिनअगाडि नेपालका कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने घोषणा गर्दा समग्र नेपाली क्रिकेट नै तरंगित भयो । 

धेरैले पूर्वकप्तान पारस खड्का र आयोजक प्रमुख आमिरबीचको खराब सम्बन्धलाई कप्तान ज्ञानेन्द्रको नखेल्ने निर्णयमा जोडे । उनको यो निर्णयबाट सबैजसो अचम्मित भएका थिए, स्वयं उनीसम्मिलित फ्रेन्चाइज टोली पनि । अन्तिम समयमा उनको त्यो निर्णयले केही हदसम्म आयोजकले पनि क्षति बेहोर्नुपर्‍यो । उनी साविक विजेता ललितपुर प्याट्रियट्सका कप्तान थिए । संयोगवश ललितपुरको प्रदर्शन राम्रो हुन सकेन र लिग चरणबाटै बाहिरियो । 

उनको त्यो निर्णयबाट फ्रेन्चाइज टोलीमा पनि असर परेको पक्कै थियो । तथापि, कुनै पनि खेलाडीले म खेल्दिनँ भन्न पाउने पूर्ण अधिकार रहन्छ, जुन ज्ञानेन्द्रले पनि प्रयोग गरे । नेपालका कप्तान भएकाले नै होला, उनले त्यो छुट भने पाएनन् । केही आलोचना खेपे । यसबीच उनी भने मैदानबाहिर शान्त नै रहे । तर, एक हिसाबले ज्ञानेन्द्रले अवसर गुमाएको भने पक्कै हो । 

राष्ट्रिय टोलीका एक पूर्व क्रिकेटरको भनाई मान्ने हो भने ज्ञानेन्द्र प्रकरणले नेपाली क्रिकेटलाई पनि ठूलो घाटा पुगेको छ । करोडौं रुपैयाँ लगानी गरेर क्रिकेटमा आएका व्यावसायीलाई खेलाडीको यस्तो व्यवहारले निरुत्साहित गर्ने उनको बुझाई छ । 

भन्छन्, ‘नेपाली क्रिकेटको बारेमा भ्रष्टाचार, कुशासन, अक्षमता, अव्यवस्थाजस्ता नकारात्मक कुरामात्र व्यावसायीहरुले सुनेका थिए । उनीहरूमा खेलाडीप्रति चाँही सम्मानभाव थियो । जति बेथिति भए पनि खेलाडीले राम्रो गरिरहेका छन् । खेलाडीकै लागि भए पनि क्रिकेटमा लगानी गर्नुपर्छ भन्ने थियो । तर खेलाडीले पनि यस्तो गरेपछि व्यावसायिक प्रतिष्ठानहरूमा खेलाडी पनि उही ड्याङका मुला रहेछन् भन्ने सन्देश जान सक्छ । जुन समग्रमा नेपाली क्रिकेटका लागि घातक हुन सक्छ ।’

अनेक चर्चा, रोमाञ्च र चुनौतीबीच इपिएलको चौथो संस्करणले बिट मार्दै छ । जहाँ आयोजकले जीउज्यान लगाएर प्रतियोगितालाई प्रभावित हुन दिएन । हरतरहले प्रयास गर्‍यो र सफलता पायो । किनकि आर्थिक रूपले घाटा बेहारे पनि नेपाली क्रिकेटले जितेको छ । 

मैदानमा क्रिकेट फर्किएको छ । नेपाल क्रिकेटमय बनेको छ । नेपाली खेलाडीको प्रदर्शन औसत रहे पनि संकटको बेलामा आयोजकको प्रदर्शन भने तारिफयोग्य रह्यो । आयोजकले आगामी सिजन विश्वस्तरीय फ्रेन्चाइज क्रिकेट लिग बनाउने गोरेटो कोरेको छ । त्यो नै नेपाली क्रिकेटका लागि उल्लेख्य सफलता हो ।