काठमाडौं । मिडफिल्डर कृष्ण बहादुर आलेको निर्णायक गोलमा संकटा एफसीले एन्फा राष्ट्रिय लिगमा श्री भगवती क्लबविरुद्ध १-० को संघर्षपूर्ण जित हासिल गरेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा कृष्णले खेलको ६९औं मिनेटमा गोल गरे । जितसँगै १० खेलमा १३ अंक जोड्दै संकटा अंकतालिकाको नवौं स्थानमा उक्लियो । समान खेलमा भगवती ८ अंक जोड्दै १३औं स्थानमा छ ।
दिनको पहिलो खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको काँक्रे बिहार क्लबलाई २-१ ले हराउँदै चर्च ब्वाइज युनाइटेड शीर्ष स्थानमा उक्लियो ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइजलाई जित दिलाउन दुबै गोल रिचर्ड विल्सनले गरे । २-० ले पछाडि परेको अवस्थामा काँक्रे बिहारका लागि सुदेन विक्रम विश्वकर्माले गोल गरेका थिए ।
जितसँगै ९ खेलमा २२ अंक जोडेको चर्च ब्वाइजले ६ स्थान सुधार गर्यो । काँक्रे बिहारको यो आठौं हार हो । समान खेलमा काँक्रे बिहारले मात्र एक अंक जोडेको छ ।
साँझ ६ बजे विभागीय डर्बीअन्तर्गत एपिएफ एफसी र त्रिभुवन आर्मी एफसी आमने–सामने हुनेछन् । यो खेल दशरथ रंगशालामा हुनेछ । जितले दुबै टोलीलाई शीर्ष स्थानमा पुर्याउनेछ ।
