काठमाडौं । लिभरपुलले इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा एस्टन भिल्लाविरुद्ध २-० को सहज जित दर्ता गरेको ।
प्रिमियर लिगमा लगातार चौथो हारपछि जित निकालेको हो । टोलीले पछिल्लो पटक सेप्टेम्बरमा एभरटनविरुद्ध २-१ को जित निकालेको थियो ।
जितसँगै १० खेलमा १८ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ । पराजित एस्टन भिल्ला समान खेलबाट १५ अंकका साथ ११औं स्थानमा छ ।
एनपिल्डमा घरेलु टोली लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र रायन ग्रेभेनबर्चले गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा सलाहको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । उनले एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए ।
ग्रेभनबर्चले ५८औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले एलेक्सिस म्याक एलिस्टरले उपलब्ध गराएको बललाई अगाडि बढाउँदै पोस्टको दिशा दिए ।
