काठमाडौं । स्ट्राइकर पूर्णिमा राईको ह्याट्रिकप्रेरित दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालले पहिलो हाफमा ६ गोलको अग्रता लिएको छ ।
शनिबार बंगलादेशको राजधानी ढाकास्थित ‘बसुन्धरा स्पोर्टस ग्राउन्ड’ मा जारी भुटानविरुद्धको दोस्रो खेलमा नेपालका लागि पूर्णिमासँगै मीना देउवा र समीक्षा मगरले ‘स्कोरसीट’मा नाम लेखाउन सफल भएका छन् । मीना ह्याट्रिकबाट एक गोल टाढा छिन् ।
फराकिलो जितको लक्ष्यसहित मैदान उत्रिएको नेपालले उपाधि समीकरणबाट बाहिरिसकेको भुटानविरुद्ध ४४ सेकेन्ड्समै गोल गरेको थियो ।
रक्षक सरीता नाथले बक्सभित्र ‘डिलिभर’ गरेको बललाई भुटानी सेन्टर ब्याक सोनेम छोडेनले क्लियर गर्न खोजेकी थिइन् । तर, उनको क्लियरेन्स फितलो रहन पुग्यो । जसको फाइदा मीनाले लिइन् । मीनाले भलिमार्फत गोलकिपर पेमा याङजोमलाई बिट गरिन् । यो गोल जारी प्रतियोगिताकै सबैभन्दा छिटो गोल हो । यसअघि बंगलादेशी मिडफिल्डर सपना रानी र भुटानी मिडफिल्डर केल्देन याङ्मोले दुई मिनेटभित्र गोल गरेका थिए । दुबै गोल श्रीलंकाविरुद्ध सम्भव भएका थिए ।
नेपालले नवौं मिनेटमा अग्रतालाई दोब्बर बनायो । श्रीलंकाविरुद्धको पछिल्लो खेलमा दुई गोल गरेकी सेन्ट्रल मिडफिल्डर समीक्षा मगरले २० यार्ड परबाट बललाई जाली चुमाईन् । अट्याकिङ मिडफिल्डर सुक्रिया मियाको पासमा समीक्षाले गरेको सुन्दर प्रहार सुरुमा क्रसबारमा लागेर फर्किएको थियो । फर्किएको बल गोलकिपर पेमालाई लागेर पोस्ट भित्र छिरेको थियो ।
तीन मिनेटपछि नेपालले तेस्रो गोल गर्यो । यो गोलमा पनि सुक्रियाको प्रमुख संलग्नता रह्यो । लेफ्ट साइडबाट सुन्दर रन बनाएकी सुक्रियाले बक्स भित्र मीनालाई पास दिएकी थिइन् । मीनासम्म बल पुग्नुअघि पेमाले बललाई नियन्त्रण गर्न खोजिन् । तर, सकिनन् । प्राप्त ‘रिबाउन्ड’ बलमा मीनाले ‘ट्याप इन’ गोल गरिन् ।
खेलको २३औं मिनेटमा सेन्ट्रल मिडफिल्डर सुशिला केसीको सुन्दर ‘थ्रु पास’लाई मीनाले गज्जबले सदुपयोग गरिन् । ‘राइट साइड’बाट एकल रन बनाएकी मीनाको पासमा लेफ्ट साइडमा रहेकी पूर्णिमाले वान टचमा आफ्नो व्यक्तिगत गोलको खाता खोलिन् ।
चार मिनेटपछि सुनौलो अवसरमा चुक्दा मीना प्रतियोगिताको व्यक्तिगत दोस्रो ह्याट्रिक गर्नबाट चुकिन् । ‘वान भर्सेस वान’मा अन्तिम प्रहार गर्दा मीना चिप्लिन पुगिन् । ३५औं मिनेटमा पूर्णिमाले अर्को सुन्दर अवसर खेर फालिन् । अट्याकिङ मिडफिल्डर सेनु परियारले लेफ्ट साइडबाट दिएको लोफ्टेड क्रसमा गोलकिपर बिट भइसकेकी थिइन् । तर, खाली पोस्टमा पूर्णिमाले बललाई पोस्टको दिशा दिन सकिनन् ।
इन्जुरी समयमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरिन् । सरीता नाथको फ्रिकिक वैकल्पिक गोलकिपरका रुपमा मैदान प्रवेश गरेकी दिक्सा राईले नियन्त्रणमा लिन नसक्दा पूर्णिमाले हेडरमार्फत बललाई पोस्टको दिशा दिइन् । अन्तिम सेकेन्ड्समा पूर्णिमाले दोस्रो बारमा सुन्दर गोल गर्दै प्रतियोगिताको व्यक्तिगत दोस्रो ह्याट्रिक पूरा गरिन् । यसअघि पूर्णिमाले पहिलो खेलमा भुटानविरुद्ध नै ह्याट्रिक गरेकी थिइन् । त्यतिबेला पूर्णिमाले चार गोल आफ्नो नाममा लेखाएकी थिइन् ।
उच्च गोलकर्ताको दौडमा शीर्ष स्थानमा रहेकी पूर्णिमाको प्रतियोगितामा यो १०औं गोल हो ।