सहिद स्मारक लिग

एन्फा र रेफ्रीबीचको विवाद मिल्यो, खेल खेलाउने सहमती

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र फिफा रेफ्रीहरुको समूहबीचको विवाद मिलेपछि संकटग्रस्त नेपाली फुटबल प्रशासनलाई राहत मिलेको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा तथा एएफसीका रेफ्री डिभेलपमेन्ट अफिसर (आरडिओ) भारतीय नागरिक गौतम कौरसँगको असहमतिका कारण बिहीबार दिउसो सात जना फिफा रेफ्रीले जारी लिगका बाँकी खेल नखेलाउने निर्णयसहित राजीनामा दिएका थिए ।

हिमालयन शेर्पा क्लबको समेत नेतृत्वमा रहेका एन्फा अध्यक्ष शेर्पाले प्रत्येक तीन महिनामा रेफ्रीको फिटनेस टेस्ट हुनुपर्ने अन्तर्राष्ट्रिय प्रावधानअनुसार डिसेम्बरमै फिटनेस टेस्ट गर्नका लागि दबाब दिएको तथा कौरले बारम्बार अपमानजनक व्यवहार गरेका कारण देखाउँदै रेफ्रीहरुले राजीनामा दिएका थिए ।

तर एन्फा अध्यक्ष शेर्पा स्वयमले साँझ रेफ्रीहरुलाई बोलाएर बैठक गरेर कुरा मिलाएको एक रेफ्रीले जानकारी गराए ।

‘हामीले फिटनेस टेस्ट नदिने भनेका थिएनौं । लिग भइरहेको बेलामा अप्ठेरो हुन्छ भनेर समय मिलाइदिन अनुरोध गरेका थियौं । अर्को कुरा भनेको भारतका आरडिओको खराव व्यवहारको समस्या थियो । अध्यक्षले कौरलाई सम्झाउछु भन्नुभएको छ र टेस्टको समय पनि मिलाउँछु भन्नुभएको छ । त्यसपछि हामीले पनि भोलीदेखिका खेल खेलाउने सहमति गरेका हौं,’ वार्तामा सहभागी एक रेफ्रीले खेलाडीसँग भने ।

एएफसीका आरडिओ कौरले नेपाली रेफ्रीलाई अपमानजनक व्यवहार गर्ने गरेको भन्ने गुनासो पत्र बुझाउन जाँदा अध्यक्ष शेर्पाले आफूहरुलाई दूव्र्यवहार गरेको कारण राजीनामा बुझाउन हतार गरेको ती रेफ्रीको भनाई थियो ।

‘कौरले हामी नेपालीलाई निक्कै अपमान गर्थे । नेपालीलाई मान्छे नै होइन जस्तो व्यवहार गरिरहेपछि हामीले पत्र बुझाउन जाँदा अध्यक्षज्युले सुरुमा इग्नोर गर्नुभयो । मिसबिहेब गर्नुभयो,’ उनले भने, ‘पछि बेलुका कुरा बुझेर होला उहाँले फोन गर्नुभयो । असमझदारीका कारण आफूले गलत व्यवहार गरेको स्वीकार्दै उहाँले टेस्टको समय सार्ने भन्नुभएको छ ।’

एन्फा नेतृत्व र रेफ्रीहरुबीचको छलफलबाट यही डिसेम्बर २३ मा गर्ने भनिएको फिटनेस टेस्ट उचित समयका लागि सार्ने सहमती गरेको छ । यसैगरी आइतबार वा सोमबार रेफ्रीहरु, रेफ्री विभाग तथा एन्फा संस्थापनबीच संयुक्त छलफल गरेर नयाँ मिति तय गर्ने तथा रेफ्रीका सबैखाले समस्याको निकास निकाल्ने सहमती भएको पनि ती रेफ्रीले बताए ।

सुरुमा १० मध्ये आठ पुरुष फिफा रेफ्रीले राजीनामा दिए पनि पछि आर्मीका दुई सहायक फिफा रेफ्री विक्रम चौधरी र माधव खत्रीले राजीनामा फिर्ता लिएका थिए ।

एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार राजीनामा दिनेमा फिफा रेफ्रीहरु प्रकाशनाथ श्रेष्ठ, नवीन्द्र महर्जन, कविन ब्यन्जनकार र प्रज्ज्वल क्षेत्री तथा फिफा सहायक रेफ्री नानीराम थापा, सहदेव श्रेष्ठ र किसन यादव थिए । अर्का एक फिफा सहायक रेफ्री युनान मल्ल काठमाडौंमा नभएकाले उनले पनि संयुक्त राजीनामामा हस्ताक्षर गरेका थिएनन् ।