काठमाडौं । । नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सविरुद्ध विकेटकिपर ब्याटर अर्जुन साउद अर्धशतक पूरा गर्दै पवेलियन फर्किएका छन् ।
मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरिरहेको चितवनका लागि अर्जुनले ३७ बलमा चार चौका र तीन चक्कासहित ५० रन पूरा गरे । लगत्तै अर्को बलमा अर्जुनको क्याच ड्रप भएको थियो । तर, उनले आफ्नो जीवनदानको फाइदा उठाउन सकेनन् । त्यसपछिको बलमा उनी संजय कृष्णमूर्तीबाट क्याच भए । यान निकोल लोफ्टी इटनले जनकपुरका लागि ब्रेक थ्रु दिलाएका हुन् ।
एनपिएलमा अर्जुनको यो पहिलो अर्धशतक हो ।
अर्जुनले पहिलो विकेटको लागि डेविड मलानसँग ११२ रनको साझेदारी गरे । ३८ बलमा दुई चौका र चार छक्कासहित ५० रन पूरा गरेका मलान अहिले ६२ रनमा ब्याटिङ गरिरहेका छन् । उनले पनि दुईपटक जीवनदान पाएका थिए । उनलाई साथ दिन क्रिजमा सेफ जैब आएका छन् ।
