काठमाडौं । आसन्न नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले ‘हस्पिटालिटी’ पार्टनरका रुपमा साथ दिएको छ ।
सुदूरपश्चिम र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच शुक्रबार काठमाडौंमा सम्झौता भएको हो । सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश खड्का र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका निर्देशक दुर्गा पन्तले हस्ताक्षर गरे ।
सम्झौतापछि खड्काले हस्पिटालिटी क्षेत्रमा प्रतिष्ठित कम्पनीसँगको साझेदारीले टोलीलाई थप हौसला प्रदान गर्ने बताए ।
‘सिद्धार्थजस्तो हस्पिटालिटी क्षेत्रमा राम्रो सेवा दिँदै आइरहेको कम्पनीसँग जोडिन पाउँदा हामी खुसी छौँ,’ खड्काले भने, ‘यो सम्झौताले टोलीमा थप ऊर्जा र हौसला थपिएको छ ।’
पन्तले यो साझेदारले हस्पिटालिटी क्षेत्रलाई नै राम्रो प्रभाव पार्ने तर्क गरे । उनले भने, ‘सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी सुदूरपश्चिम रोयल्सको ‘हस्पिटालिटी’ पार्टनर बन्न पाउँदा हामीलाई खुसी लागेको छ । यो साझेदारीका कारण हस्पिटालिटी क्षेत्र थप अघि बढ्नेछ भन्ने विश्वास गरेका छौं ।’
सुदूरपश्चिमले मार्की दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापालाई अनुबन्ध गरेको थियो ।
हिक्मत महरालाई ‘आइकोनिक खेलाडी’ मा छनोट गरेको टोलीले टोलीले विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका क्रिस लिन र जोश ब्राउन, न्युजिल्यान्डका स्कट कुगेलेइन तथा अमेरिकाका हर्मित सिंहलाई भित्र्याएको छ ।
नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि सुदूरपश्चिमसहित साविक विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
