काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइन र अस्ट्रेलियन ब्याटर जोश ब्राउन नेपाल आइपुगेका छन् ।
दुवैले सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्दैछन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरूलाई सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले स्वागत गरेका थिए ।
कुगेलेइन लागातार दोस्रो पटक सुदूरपश्चिमबाट एनपिएल खेल्दैछन् । कुगेलेइनले पहिलो सिजनमा टोलीलाई फाइनलसम्म पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका थिए । १७ विकेटका साथ उनी संयुक्त रूपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए ।
इन्डियन प्रिमियर लिगको अनुभव लिइसकेका कुगेलेइनले १८ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा १६ विकेट लिएका छन् ।
यता पहिलो पटक नेपाल आएका ब्राउनसँग ग्लोबल टी-ट्वान्टी लिग, बिग बास लिग (बिबीएल) र बंगलादेश प्रिमियर लिग खेलेको अनुभव छ । उनले ४० टी-ट्वान्टी खेलमा ९४५ रन बनाएका छन् ।
सुदूरपश्चिमले मार्की दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापालाई अनुबन्ध गरेको थियो ।
हिक्मत महरालाई ‘आइकोनिक खेलाडी’ मा छनोट गरेको टोलीले टोलीले विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका क्रिस लिन र जोश ब्राउन, न्युजिल्यान्डका स्कट कुगेलेइन तथा अमेरिकाका हर्मित सिंहलाई भित्र्याएको छ ।
नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि सुदूरपश्चिमसहित साविक विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ । सुदूरपश्चिमले मंसिर ३ मा काठमाडौं गोर्खाजसँग खेल्दै लिगको सुरुआत गर्नेछ ।
