काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि भारतका प्रियाङ्क किरित पन्चाल नेपाल आइपुगेका छन् ।
उनी बिहिबार राति एयर इन्डियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।
कर्णालीले यो सिजन विदेशी खेलाडीका रूपमा पान्चालसँगै अस्ट्रेलियाका विलियम बोसिस्टो, मार्क वाट र म्याक्स ओ’ डाउडलाई भित्र्याएको छ ।
टोेलीले बोसिस्टोसँग सम्झौता नवीकरण गर्दा मार्क वाट र म्याक्स ओ’ डाउडलाई नयाँ खेलाडीका रूपमा अनुबन्ध गरेको हो । वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।
ओपनर प्रियाङ्कले पछिल्लो पटक भारतीय टोलीबाट हङकङ सुपर सिक्सेस खेलेका थिए । ३५ वर्षीय खेलाडीले गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन् । उनले ५९ टी(ट्वान्टी खेलमा ९ अर्धसतकसहित १ हजार ५२२ रन बनाएका छन् ।
कर्णालीले दोस्रो सिजनमा पनि ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ ।
यसैगरी गत सिजन दोस्रो क्वालिफायरसम्म पुगेको कर्णालीले मार्की सोमपाल कामीसहित गुल्शनकुमार झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम ठकुरीलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ । यसैगरी टोलीले मिनी अक्सनबाट पवर सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी कर्णालीसँगै पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि भिड्ने छन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ । कर्णालीले मंसिर २ मा चितवन राइनोजसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
