काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सका खेलाडी नन्दन यादवले भारतीय टोलीका पूर्व ओपनर शिखर धवन (गब्बर)को विकेट लिन उत्साहित रहेको बताएका छन् ।
आसन्न एनपिएलका लागि शुक्रबार मुलपानी मैदानमा अभ्यासका दौरान बलर नन्दनले खेलाडी डटकमसँग बोल्दै नेटमा भए पनि गब्बरको विकेट लिने प्रतिक्रिया दिएका हुन् ।
‘शिखर धवनलाई पहिला टिभीमा हेरिन्थ्यो । अहिले सँगै खेल्दैछौं । धवन जस्तो राम्रो ब्याटरलाई बलिङ गर्न पाउँदा आफूमा पनि सुधार हुन्छ,’ नन्दनले भने, सानाे छँदा मलाई शिखर र रोहित शर्मा एकदमै मन पर्थ्याे । क्रिकेट दुनियाकै सबैभन्दा राम्रो ओपनर हुनुहुन्छ उहाँहरु । नेटमै भए पनि धवनको विकेट लिनेछु ।’
त्यस्तै नन्दनले बलिङमा गहिराइ भएकाले टोली बलियो भएको प्रतिक्रिया दिए । नन्दनले भने, ‘हामीसँग नेपालकै नम्बर वान बलर सोमपाल दाइ हुनुहुन्छ । त्यस्तै राम्रो अलराउन्डर गुल्सन (झा) पनि हामीसँग छ । यसले गर्दा पनि टोली थप बलियो देखिएको छ ।’
कर्णालीको मार्की खेलाडीमा सोमपाल कामी छन् । राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी गुल्सन झाको उपस्थितिले टोली झन् मजबुत देखिएको छ । मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् ।